मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १४ शनिबार o९:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वविजेता थ्री स्टार हारबाट जोगियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार o९:४४:oo

पूर्वविजेता थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको १३औँ खेलमा हारबाट जोगिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार खेलकै अन्तिम इन्जुरी समयमा मिडफिल्डर डोना थापाको गोल मद्दतमा थ्री स्टारले रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लबलाई १–१ को बराबरीमा रोकेको हो । एन्फा कम्प्लेक्स खेल मैदानमा ब्रिगेडका प्रशान्त तामाङले खेलको ५६औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । अन्तिम इन्जुरी समयमा अन्सुमाना क्रोमाहको पासमा डोनाले बराबरी गोल फर्काउन सफल भए ।

प्रशान्तले थ्री स्टारका गोलरक्षक एन्जल श्रेष्ठ र कप्तान अशोक खवासबीचको आपसी तालेमल नमिलेको फाइदामा गोल गरेका थिए । बराबरीसँगै थ्री स्टारले लिगमा १३ खेलबाट १९ अंक जोडेर छैटौँ स्थानमा लिगको अन्त्य गरेको छ । थ्री स्टार लिग इतिहासमा पहिलोपटक शीर्ष चारभित्र पर्न नसकेको हो । ब्रिगेडले १३ खेलबाट सात अंक बनाएको छ । ब्रिगेड लिगको १३औँ स्थानमा छ । लिग इतिहासमा ब्रिगेडले सबैभन्दा कम अंक यस सिजनमा बटुलेको हो । 

यसैगरी, जावलाखेल युथ र संकटा क्लबबीच १–१ को बराबरी भएको छ । जावलाखेलका सुनील खड्काले अग्रता गोल गरेका थिए । संकटाका उत्तम राईले बराबरी गोल फर्काए । 
खेलको १४औँ मिनेटमा सुनीलले जावलाखेललाई १–० को अग्रता दिलाए । ६१औँ मिनेटमा उत्तमले संकटालाई १–१ को बराबरीमा ल्याए । संकटाले लिगमा १३ खेलबाट तीन जित, सात बराबरी तीन हार सामना गरी १६ अंक  जोड्यो । जावलाखेलले १३ खेलबाट तीन जित, पाँच बराबरी र पाँच हार निकाली १४ अंक जोड्यो ।

एकजनद्वारा सन्न्यास
संकटा क्लबका मिडफिल्डर एकजन मान तुलाधरले खेल जीवनबाट सन्न्यास घोषणा गरेका छन् । ए डिभिजन लिगमा शुक्रबार जावलाखेल युथ क्लबविरुद्धको खेलपछि तुलाधरले खेल जीवनबाट सन्न्यास लिएका हुन् । जावलाखेलविरुद्ध ८४औँ मिनेटमा तुलाधर मैदान प्रवेश गरेका थिए । खेलपछि संकटाका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए । एन्फा एकेडेमीको पहिलो ब्याचका तुलाधर पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका छन् । उनी सन्न्यासकै लागि नेपाल आएका थिए । दश वर्षपछि रंगशालामा खेल्न पाउँदा निकै खुसी लागेको उनले बताएका छन् । रंगशालामै सन्न्यास लिन पाउँदा दोहोरो खुसी प्राप्त गरेको उनको भनाइ छ । 

‘यही रंगशालामा फुटबल करिअर सुरु गरेको थिएँ, आज यहीँ नै सन्न्यास लिन पाउँदा दोहोरो खुसी पाएको अनुभव गरेको छु,’ तुलाधरले भने, ‘खेलेर बिदाइ हुन पाएँ ।’ लिग दर्ता भएर खेल्ने उनी एन्फा एकेडेमीको पहिलो ब्याचका एक्लो खेलाडी हुन् । तुलाधरले ०६० मा संकटाबाट खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेका थिए । अस्ट्रेलियाको युनाइटेड एफसीबाट लामो समय उनले फुटबल खेले । उनले नेपालको यू–१९ र यू–२३ राष्ट्रिय टोलीबाट पनि प्रतिस्पर्धा गरेका थिए ।