१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
श्रेया परिख
Invalid date format o७:४४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘ओरियन्टलिज्म’मा हिन्दुत्व र इस्लामद्वेष मिश्रण हुँदा  

अहिले ‘पश्चिम’सँग मात्रै ‘ओरियन्टलिस्ट’ काल्पनिकी प्रयोग गर्ने एकाधिकार छैन, यस अर्थमा पश्चिम एसियाबारे भारतमा ओरियन्टलिस्ट काल्पनिकी सञ्चार भइरहेको देखिन्छ

Read Time : > 2 मिनेट
श्रेया परिख
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

पश्चिम एसियाबारे आउने लेखमा ‘इस्लामवादी’, ‘इस्लामिक मुलुक’, ‘मुसलमान विश्व’ र ‘मध्यपूर्व’लाई पर्यायवाची शब्दका रूपमा प्रस्तुत गरिन्छ । यी शब्दले यस्तो क्षेत्र र बासिन्दाको अर्थ दिन्छ, जुन इस्लामिक र हिंस्रक हुने गर्छन् । पश्चिम एसियालाई भारतमा मिडिया, राजनीतिक प्रतिवेदन, बलिवुड, प्राज्ञिक क्षेत्र र अन्य संकथनले दिने गरेको उल्लिखित नामले हिन्दुत्व, ‘ओरियन्टलिज्म’ र इस्लामद्वेषको मिश्रण झल्काउँछ । विडम्बना पश्चिम एसियालाई इस्लामिक कोणबाट मात्रै हेरेर त्यहाँको सामाजिक एवं राजनीतिक विविधता मेटाउने गरिन्छ ।               

पश्चिम एसिया र उत्तर अफ्रिकालाई जनाउने ‘मध्यपूर्व’ शब्द भारत र विश्वभरिमै निकै प्रयोग हुने गरेको छ । प्रश्न उठ्छ, यो क्षेत्र कसका लागि पूर्व हो ? यो ‘मध्यपूर्व’ कुन पूर्वका आधारमा ‘मध्य’ बन्यो ? ‘मध्यपूर्व’को उत्पत्ति १९औँ शताब्दीमा बेलायती औपनिवेशिक प्रशासनबाट आएको हो, जहाँ ‘सुदूरपूर्व’ भनेर ब्रिटिस भारतलाई जनाइन्थ्यो भने बेलायतनजिकका पूर्वी क्षेत्रलाई ‘निकटपूर्व’ भनिन्थ्यो र ‘सुदूरपूर्व’ र ‘निकटपूर्व’बीचको भूभागलाई ‘मध्यपूर्व’ भन्न थालियो । केही परिभाषाले भारतलाई पनि मध्यपूर्वकै कोटीमा राखेका छन् । मध्यपूर्वको सटिक परिभाषाबारे अमेरिकामा बहस हुन थाल्यो किनभने सो क्षेत्र अमेरिकाको राजनीतिक एवं आर्थिक प्रभुत्वको क्षेत्र बन्न पुग्यो । 

त्यसैगरी ‘इस्लामिक विश्व’ले पश्चिम एसियालाई मुसलमान मात्र रहनसहन गर्ने र सबैभन्दा बढी मुसलमान भएको क्षेत्रको अर्थ दिने गर्छ । वास्तवमा सबैभन्दा बढी मुसलमान (६० प्रतिशत) एसिया–प्यासेफिक क्षेत्रमा बसोबास गर्छन् र करिब २० प्रतिशत मात्रै उत्तर अफ्रिका र पश्चिम एसियामा बसोबास गर्छन् । ‘मध्यपूर्व’ भनिएको क्षेत्र निश्चय नै भारतको पूर्वमा छैन, त्यही भएर धेरै प्राज्ञले सो क्षेत्रलाई ‘पश्चिम एसिया’ भनेर सम्बोधन गर्छन् । उसो त पश्चिम एसिया पनि विवादरहित छैन किनभने पश्चिम एसियाले मध्यपूर्वमा पर्ने भनिएका उत्तर अफ्रिकाका मुलुकलाई सम्बोधन गर्दैन । यसबाहेक पश्चिम एसिया ‘अरब मुसलमान बाहुल्य क्षेत्र’ बनाइएको छ । यो निर्माणका दुई समस्या छन्, एक– यसले जातीय र धार्मिक विविधतालाई नामेट पार्छ  । दुई– एकरूपताको संकथनले स्थानीयस्तरमा अल्पसंख्यकमाथि उत्पीडन गर्न राजनीतिक हतियारका रूपमा काम गर्छ भने वैश्विक रूपमा यो क्षेत्रको ‘ओरियन्टलिस्ट’ छविको निर्माण गर्छ ।

सन् १९७८ मा प्रकाशित चर्चित पुस्तक ‘ओरियन्टलिज्म’मा एडवर्ड सइदले ‘ओरियन्ट’ अर्थात् ‘पूर्व’का बारेमा पश्चिमले निर्माण गरेको काल्पनिकीलाई ‘ओरियन्टलिज्म’ भनिन्छ । यस काल्पनिकीमा पूर्वबारे यस्तो ज्ञान निर्माण गरिन्छ, जसले पश्चिमा सर्वोच्चतालाई स्थापित गर्छ । अफगानिस्तान र इराकमा हमला गर्न त्यहाँका महिला अधिकारबाट वञ्चित छन् र हामीले उद्धार गर्नुपर्छ भन्ने भाष्यलाई ओरियन्टलिस्ट ज्ञानको ज्युँदो उदाहरणका रूपमा लिन सकिन्छ । 

अहिले तथाकथित ‘पश्चिम’सँग मात्रै ओरियन्टलिस्ट काल्पनिकी प्रयोग गर्ने एकाधिकार छैन यस अर्थमा पश्चिम एसियाबारे भारतमा ओरियन्टलिस्ट काल्पनिकी सञ्चार भइरहेको विशेषतः बलिवुड चलचित्रमा देख्न सकिन्छ । उदाहरण सन् २००७ मा बनेको ‘गुरु’ चलचित्रमा देखाइएको मल्लिका सेरावतको बेली डान्सलाई टर्कीबाट प्रभावित भनेर देखाइएको छ । यो डान्सको प्रतिबिम्ब ‘मुसलमान’ महिलामा अधिक कामुकता हुन्छ भन्ने काल्पनिकीमा बनेका १९औँ शताब्दीका ओरियन्टलिस्ट पेन्टिङमा देख्न सकिन्थ्यो । डान्सको युट्युब भिडियोमा कमेन्ट गर्ने भारतीयमा देखिएको साझा टिप्पणी ‘उत्कृष्ट अरबी अनुभूति’ले अरब जगत्को सौन्दर्य र कामुकताको काल्पनिकी झल्काउँथ्यो, जबकि तुर्की भाषा अरबी होइन र तुर्की आफूलाई अरबी भनेर चिनाउँदैनन् । हाल भारतमा मुसलमान महिलाको अति–यौनिकीकरण र भोगको कामना पश्चिमले बनाइदिएको ओरियन्टलिस्ट काल्पनिकीको प्रभाव पनि हो । उसो त सत्तामा रहेकाले मुसलमानलाई अन्य र दोयम बनाए पनि फिल्मी जगत्मा मुसलमान अभिनेतृ अझै पनि रुचाइनु यही मुसलमान शरीर भोगको ओरियन्टलिस्ट काल्पनिकीको एक पाटो हो ।  

यी बहस संकथनले पश्चिम एसियालाई भारतको विपरीत देखाउँछ, जहाँ भारत र भारतका जनतालाई ‘इस्लामिक विश्व’ क्षेत्र र मानिसबाट पीडित भएको देखाइन्छ । अर्थात्, ‘मुसलमान’ छवि बनाइएको पश्चिम एसियालाई भारतको विपरीत देखाउन वेलावेलामा भारतीय सञ्चारमाध्यममा ‘मध्यपूर्वका इस्लामवादी’लाई भारतीय मुसलमानसँग जोडिन्छ, जो समूहगत रूपमा ‘हिन्दूविरुद्ध अभियान चलाइरहेका छन् ।’ मुसलमान महिलालाई कामुक वस्तु बनाइँदै गर्दा ‘इस्लामवादी’ शब्दले एक हिंस्रक मुसलमान पुरुषको छवि निर्माण गर्छ । तसर्थ हिन्दूको पर्याय बनेको भारतीयलाई इस्लामवादीका पीडित देखाइन्छन्, नतिजा मुसलमानमाथिको राज्य आतंक जायज ठहरिन पुग्छ । यसकारण पनि भारतमा ‘इस्लामिक विश्व’को निर्माणमा हिन्दुत्वको प्रभाव देखिन्छ । मेरा एकजना भारतीय साथीले म बसिरहेको ट्युनिसिया ‘मुसलमान मुलुक’ भएको व्याख्या गरेका थिए । 

मैले विरोध दर्ज गर्दा उनले ९९ प्रतिशत मुसलमान भएको जनसांख्यकीय आँकडा देखाए । आँकडाले उनी गलत छैनन्, तर भारतमा ‘मुसलमान’ शब्दका आफ्नै भाष्यजनित अर्थ छन् । कुनै मुलुकलाई ‘मुसलमान’ भन्नु वा ‘इस्लामिक’ भन्नु मूलतः हिन्दू र अन्ततः भारतको विरोध बुझिन्छ । विरोध मात्रै होइन, कमसल पनि बुझिन्छ । उदाहरण, मेरा साथीहरू मलाई यो ‘मुसलमान मुलुक’मा स्कर्ट लगाउन पाइन्छ कि पाइन्न भनेर सोध्छन् अर्थात् यसले ‘मुसलमान मुलुकमा’ कहीँ पनि महिलालाई भारतमा झैँ स्वतन्त्रता छैन भन्ने अर्थ दिन्छ । ट्युनिसियामा महिलालाई पूरा छुट छ भनेर स्पष्टीकरण दिन म बाध्य हुन्छु । ओरियन्टलिस्ट र इस्लामद्वेषी काल्पनिकीलाई यस्ता स्पष्टीकरण दिँदा यी ठाउँका जटिलता र अनुभव मेटिन जान्छन् । उदाहरण, ‘मुसलमान मुलुक’ वा ‘मुसलमान’मा महिला उत्पीडन नै छैन भन्नुले हामी प्राज्ञिक क्षेत्रका मानिस पुरानै पूर्व–सर्तको पासोमा पर्छौं । अर्थात् पश्चिम एसियालाई इस्लामको कोणबाट नहेर्ने प्रयासमा हामी हरेक समय इस्लामकै कोणबाट हेरिरहन्छौँ ।  द वायरबाट