मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २७ बिहीबार ०६:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समस्या लिएर नाडाका पदाधिकारी विभिन्न निकायमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २७ बिहीबार ०६:३९:००

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरूले आफ्ना  समस्या लिएर विभिन्न निकायका प्रमुखसँग भेटघाट तथा छलफल गरेको छ । एसोसिएसनका पदाधिकारीले राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका महानिर्देशक, वाणिज्य, आपूर्ति तथा महानिर्देशकलाई भेटेको हो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको टोलीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी चालू पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गरेको छ ।

भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बैंकहरूबाट निजी सवारीसाधनको हायर–पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्न माग गरेको थियो । त्यस्तै, हालै नेपाल राष्ट बैंकले जारी गरेको निर्देशिकामा सवारीसाधन आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पु¥याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारीसाधनको सहज आपूर्ति व्यवस्थामा समस्या भएको जिकिर गरेको थियो । न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन माग गर्दै उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनका लागि राखेको धितो रकममा बैंकहरूले व्यवसायीहरूलाई ब्याजसमेत दिने व्यवस्था गर्न माग गरेका थिए । 

टोलीले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटेर भन्सार मूल्यांकन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्यालगायत ७०आँै विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ । त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर करसम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको बिलिङ पनि एचएस कोड मै गरिनुपर्नेलगायतका विभिन्न विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले यसै माघ महिनादेखि आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट गर्ने क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटेर एजेन्सी, फर्म दर्ता एवं नवीकरणलगायत आधिकारिक विक्रेताले मात्र अटोमोबाइल वस्तु आयात गर्न पाउने व्यवस्थाबारे छलफल गरेको थियो । त्यस्तै, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई भेटेर नेपालमा सवारीसाधनको ऐसेम्ब्ली प्लान्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्याबारे धेरै अन्योल भएकाले त्यसमा स्पष्टताका लागि नाडाले अनुरोध गरेको जनाएको छ । 

नाडा प्रतिनिधिमण्डलले राजस्व अनुसन्धान विभागका महानिर्देश प्रकाश पौडेल, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीलाई भेटेर विभिन्न विषयमा छलफल गरेको जनाएको छ । केही दिनअघि नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको टोलीले वन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवसँग भेटेको थियो । मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड बिएस ६ को कार्यान्वयनका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ । छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रूपमा लिएको जानकारी दिएको जनाएको छ । तर, यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति तयार पारेपछि मात्र लागू गर्नुपर्ने नाडाले माग गरेको थियो ।