१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
संखुवासभाको किमाथांकामा रहेको हिमालय आधारभूत विद्यालय । चिसोका कारण सो विद्यालय अहिले बन्द गरिएको छ । तस्बिर : नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ३१ सोमबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चिसोले भोटखोलाका विद्यालय एक महिनाका लागि बन्द

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४८:oo

हिमपात र चिसोका कारण संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक महिनाका लागि विद्यालय बन्द गरिएको छ । गाउँपालिकाको उच्च क्षेत्रमा पर्ने तिब्बतको सीमावर्ती किमाथांका, रिदाक, थुदाम, छुमसुर, हुङहुङ, लिङगाम, चेपुवा, नामासे, रुकमा र चाम्ताङलगायतमा रहेका एक दर्जन विद्यालय बन्द भएका छन् । माथिल्लो भेगमा चार फिटसम्म र गाउँमा तल डेढ फिटसम्म हिउँ जमेको स्थानीय बताउँछन् ।

भारी हिमपात र चिसोका कारण एक महिनाका लागि विद्यालय बन्द गरिएको अरुणोदय मावि लिङ्गामका प्रधानाध्यापक छिरिङ भोटेले बताए । उनले हिउँ गाउँसम्म झरेपछि अत्यधिक चिसो बढेकाले विद्यालय बन्द गरिएको जानकारी दिए । ‘चिसोले विद्यार्थीहरू विद्यालय नै आउँदैनन्, त्यसैले विद्यालय बन्द गरिएको हो,’ भोटेले भने, ‘घरभित्रबाट बाहिर निस्कन गाह्रो छ, घरको छाना र आँगनभरि हिउँ झर्न थालेको छ ।’

भोटखोला गाउँपालिकाभित्रको अरुणोदय मावि एक मात्रै स्वीकृत माध्यमिक विद्यालय हो । गाउँपालिकाको गोलामा रहेको प्रस्तावित कृष्ण माध्यमिक विद्यालय अहिलेसम्म स्वीकृत हुन सकेको छैन । केही वर्षअघिसम्म तत्कालीन जिल्ला शिक्षा कार्यालयले बिदा गर्न दिँदैन थियो । त्यसैले बर्खे र स्थानीय पर्व बिदा कटाएर बिदा गर्ने गरिएको थियो । तर, स्थानीय सरकार बनेपछि जिल्ला शिक्षा समन्वय एकाइलाई त्यहाँको वस्तुस्थितिबारे ध्यानाकर्षण गराएर एक महिनाका लागि बिदा स्वीकृति गराउने गरिएको प्रधानाध्यापक भोटेले बताए । ‘पुस अन्तिम साता विद्यालयमा दोस्रो चौमासिक परीक्षा सञ्चालन गर्छौैं । त्यसपछि १ माघदेखि मसान्तसम्म एक महिनाका लागि बिदा हुन्छ । १ फागुनदेखि नै विद्यालय लागे पनि दोस्रो हप्तादेखि मात्रै राम्रोसँग पठनपाठन हुन्छ ।’ 

भोटखोलाको आधा दर्जन विद्यालयलाई बिदाको अनुमति छैन
भोटखोला गाउँपालिकाको तल्लो क्षेत्रमा पर्ने हटिया, सिम्बुङ, सेम्बुङ, स्याक्सिला, गोला, तुङखालिङलगायतका विद्यालय चिसोका कारण बन्द गर्ने अनुमति छैन । माथिल्लो क्षेत्रहरू किमाथांका र लिङगाममा जस्तो हिउँ नजम्ने र अलि चिसो कम हुने भन्दै जिल्ला शिक्षा तथा समन्वय एकाइले बिदाको अनुमति नदिएको हो । 

सो क्षेत्रमा पनि अत्यधिक चिसो हुने गरेको छ । बिहान बेलुकी घरभित्रबाट बाहिर निस्कनै मुस्किल पर्ने कृष्ण माविका शिक्षक धर्चे भोटेले बताए । विद्यालय खोले पनि चिसोका कारण विद्यार्थी नआएपछि स्थानीय बिदा मिलाएर विद्यालय बन्द गरिएको शिक्षक भोटेले बताए । जिल्ला शिक्षा तथा समन्वय एकाइले बिदा गर्ने अनुमति दिने गरेको छैन । तर, यहाँका विद्यालयहरूले वर्षमा पाउने ४५ दिन बिदामा बर्खे बिदा कटाएर एक महिना बिदा दिने गरेको उनको भनाइ छ ।

प्रायःजसो सो क्षेत्रका मानिस पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म गाउँ नै सुनसान पारेर मध्यपहाडी गाउँ तथा तराई क्षेत्र सपरिवार झर्ने गर्छन् । त्यसरी झर्नुको मुख्य उद्देश्य घुमफिरका साथै चिसोबाट बच्नु र आफूसँग भएको अन्नपातको बचावटसमेत भएको स्थानीय फुर्वा भोटेले बताए । उक्त क्षेत्रमा आलु, मकै, गहुँ र जौबाहेक अन्य चिज उत्पादन हँुदैन । त्यहाँको मुख्य आम्दानी व्यापार व्यवसाय र भेडा, च्याङ्ग्रा, याकलगायतको पशुपालन नै हो । 

जिल्लाको दक्षिणी भेगको उच्चपहाडी पर्यटकीय तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा समेत अत्यधिक चिसो बढेपछि विद्यालयसमेत बन्द गरिएको गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् । ‘घरभित्रबाट बाहिर निस्कन मुस्किल छ, कसरी विद्यार्थीहरू विद्यालय आउँछन् । त्यसैले एक महिनाका लागि स्थानीय बिदा कटाएर विद्यालय बिदा गरिएको हो,’ उनले भनिन् ।

ad
ad