मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Thursday, 13 August, 2026
२o७८ माघ २४ सोमबार o९:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्सातले इँटा उद्योगमा ३० करोडको क्षति, निभ्न थाले दाङका उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार o९:४८:oo

दाङ–घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित गोल्ड ब्रेक इन्डस्ट्रिज इँटा उद्योग अहिले सुनसान छ । नियमितको वर्षाले यस वर्ष एक लट पनि इँटा उत्पादन गर्न नपाएर इँटा उद्योग निभाउनुपरेको सञ्चालक रोम वलीले बताए । ‘यो वर्ष पानी परेको चौथोपटक हो, यसले निकै क्षति पुग्यो,’ उनले भने, ‘इँटा उद्योग सञ्चालन भएको १८ वर्षमा पहिलोपटक चक्कर नहुँदै इँटा उद्योग निभाउनुपर्ने बाध्यता आयो ।’ तुलसीपुरको सम्राट इँटा उद्योगमा पनि नियमितको बर्सातले लागो बल्न सकेन ।

अहिले बलिरहेका इँटा उद्योग पनि निभाउने तयारीमा छन् । तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको शिवशक्ति इँटा उद्योग पनि केही समयमै निभाउनुपर्ने अवस्थामा पुगेको सञ्चालक प्रेम बस्नेतले बताए । अहिले आगो बलिरहे पनि काँचो इँटा नभएकाले उद्योग निभ्ने तयारीमा रहेको बस्नेतले बताए । नियमितको बर्सातले धेरै इँटा उद्योगहरू केही समय बन्द हुने अवस्थामा रहेको दाङ–देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए । ‘पछिल्लोपटक परेको नियमित वर्षाले पकाउन तयार पारेका इँटाहरू काम नलाग्ने बनाएको छ, भिजेका इँटाहरू अब अरू कामका लागि पनि प्रयोग हुँदैनन्,’ अध्यक्ष योगीले भने, ‘अब काँचो इँटा नै नभएपछि केही इँटा उद्योगमा आगो निभिसकेको छ भने केही इँटा उद्योगहरूमा आगो निभ्ने तयारी छ ।’ 

कम्तीमा पनि ६ देखि आठ लटसम्म एक सिजनमा इँटा उत्पादन गर्ने गरिन्छ । एकपटक आगो निभेमा पुनः इँटा उद्योगमा आगो बाल्न चार–पाँच लाख खर्च हुने अध्यक्ष योगीले बताए । काँचो इँटा बन्न अझै १२–१५ दिन समय लाग्ने र त्यतिवेलासम्म नियमित उद्योगहरू बालिरहँदा निकै खर्च आउने भन्दै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । दाङमा सञ्चालित ३५ वटा इँटा उद्योगमध्ये दुई–तीनवटा मात्रै उद्योगहरू सञ्चालनमा आउने अवस्था आएको उनले बताए । जिल्लामा नियमित ७० हजार इँटा उत्पादन हुने गरेको भए पनि यस वर्ष इँटाको अभाव हुनुका साथै मूल्यसमेत वृद्धि हुने उनले बताए ।  अहिले प्रत्येक इँटा उद्योगमा सरदर १० लाख इँटा क्षति भएको छ । यसले अहिलेसम्म जिल्लाका इँटामा ३० करोडभन्दा बढी क्षति पुगेको उनको भनाइ छ ।