Skip This
वर्षाका कारण सिराहामा १५ करोड मूल्यबराबरको काँचो इँटामा क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Tuesday, 13 May, 2025
२o७८ माघ २२ शनिबार १६:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण सिराहामा १५ करोड मूल्यबराबरको काँचो इँटामा क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १६:२९:oo

भट्टामा पोल्न चाङ लगाएर राखिएको काँचो इँटा हुरीसहित आएको वर्षात्ले गल्दा सिराहामा करिब १५ करोड रुपैयाँबराबरको नोक्सानी भएको इँटा व्यवसायीहरूले गुनासो गरेका छन् । 

नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहका अनुसार जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिएका ५५ वटा भट्टामा पोल्न चाङ लगाएर राखिएको करिब पाँच करोड थान काँचो इँटा गलेको हो । बिहीबार रातिदेखि हुरीसँगै वर्षात् हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा गल्दा इँटाको मुख्य सिजन रहेको अहिलेको समयमा व्यवसायीहरूलाई ठूलो नोक्सानी भएको अध्यक्ष साहले बताए । 

गोलबजारस्थित श्री सागर इँटा उद्योगका सञ्चालकसमेत रहेका साहले आफ्नै उद्योगमा राखिएको करिब १५ लाख थान काँचो इँटा पानीले गलेर काम नै नलाग्ने भएको उनले बताए । ‘कोरोना महामारीमा आर्थिक रूपले थलिएका इँटा व्यवसायीहरूलाई वर्षात्मा काँचो इँटा गलेपछि झन् समस्या भएको छ,’ उनले भने । स्थानीय गणपति इँटा उद्योगका सञ्चालक कृष्णा महतोले आफ्नो उद्योगमा वर्षात्ले करिब १० लाख थान बढी इँटा गलेको बताए । गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक धर्मनाथ साहले भने ‘भट्टामा पोल्न राखिएको करिब आठ लाख थान इँटा गल्दा २४ लाख रुपैयाँ क्षति भएको छ ।’ उनका अनुसार माटो ओसारेर मुछ्ने, इँटा बनाउने, सुकाउने र चाङ लगाउँदासम्म प्रतिइँटा तीन रुपैयाँसम्म लागत पर्छ । 

जिल्लाका विभिन्न ठाउँका गरी ५५ वटा इँटा उद्योग दर्ता रहे पनि करिब ५० उद्योग नियमित सञ्चालनमा रहेको महासंघले जनाएको छ । महासंघका अनुसार इँटा तयार गर्ने अहिलेको मुख्य सिजनमा अधिकांश भट्टामा १० देखि १२ लाख थान काँचो इँटा राखिएको थियो ।  

हरेक सिजनमा उद्योगहरूले उत्पादन गर्ने एक करोड थान इँटामध्ये २५ लाखसम्म वर्षा, हुरी–बतासले गल्ने हुँदा त्यसको मार अलग्गै रहेको महासंघका जिल्ला उपाध्यक्ष शत्रुधन चौधरीले बताए । ‘क्षतिपूर्तिका लागि बिमाको व्यवस्था गर्न सरकारसँग हारगुहार गर्दा पनि केही सुनुवाइ हुन सकेको छैन’, जिल्ला उपाध्यक्ष चौधरीले भने ।