Skip This
आहा ! रारा गोल्डकप एपिएफ उपाधिनजिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मच्छिन्द्रविरुद्ध बल अघि बढाउँदै एफिएफका खेलाडी ।
Invalid date format o७:४३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्डकप एपिएफ उपाधिनजिक

एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४३:oo

विभागीय एपिएफ क्लब पोखरामा जारी २०औँ  संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले ३–१ गोलअन्तरले मच्छिन्द्रलाई पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गर्दै उपाधिनजिक पुगेको हो । हारसँगै मच्छिन्द्र भने प्रतियोगितामा पहिलोपटक फाइनल पुगे पनि इतिहास रच्नबाट चुकेको छ ।

एपिएफ यसअघि ०६४ को संस्करणमा फाइनलमा पुगेको थियो । मच्छिन्द्र यसअघि ०७० मा सम्पन्न प्रतियोगितामा समेत सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिका लागि एपिएफले विभागीय त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच बिहीबार हुने सेमिफाइनल खेलको विजेतासँग शनिबारको फाइनल खेलमा भिड्नेछ ।

यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनको यात्रा तय गरेको एपिएफले क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटालाई ३–१ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । बाई पाएर सीधै क्वार्टरफाइनल खेलेको मच्छिन्द्रले क्वार्टरफाइनलको खेलमा साबिक विजेता संकटा क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । खेलमा सुरुदेखि नै एपिएफले मच्छिन्द्रलाई प्रेसरमा राखेको थियो । पहिलो हाफ बराबरी भए पनि खेलको दोस्रो हाफमा एपिएफले थप दुई गोल गर्दै अघिल्लो चरणको यात्रा तय गर्दा मच्छिन्द्र भने बाहिरिन बाध्य भएको हो । 

पहिलो हाफमै दुई गोल
निकै प्रतिस्पर्धात्मक बनेको बुधबारको खेलमा पहिलो हाफमा दुवै टोलीले समान एक–एक गोल गरेका थिए । गोलका लागि दुवै टिमलाई फ्रिकिकले अवसर जुराएको थियो । २५औँ मिनेटमा सनिश श्रेष्ठले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मणि लामाले करिब ३२ यार्डबाट हानेको फ्रिकिकलाई उपयोग गर्दै हुलमुलमा श्रेष्ठले पेनाल्टी क्षेत्रबाट जम्प गर्दै हेडमार्फत दोस्रोबार च्यापेर हानेको बलले जाली चुमेको थियो । विपक्षी खेलाडी छिरिङ गुरुङले एपिएफका मणि लामालाई फल गरेपछि खेलका मुख्य रेफ्री नवीन्द्र मर्हजनले फ्रिकिकको अवसर दिएका थिए । 

७१औँ  मिनेटपछि मच्छिन्द्र १० खेलाडीमा सीमित 
खेलको ७१औँ मिनेटमा ओमोलाजा न्युरोनकरिमल दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित हुन पुगेको थियो । खेलको ६८औँ  मिनेटमा पहिलो पहेँलो कार्ड पाएका उनले ७१ मिनेटमा पुनः अर्को पहेँलो कार्ड पाएका थिए । ७१औँ  मिनेटमा मैदानबाट बल बाहिर फालेपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाएका थिए । त्सपछि मुख्य रेफ्रीसँग विवाद गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटरसँगै बेस्ट अफ फाइफ विधातर्फ उत्कृष्ट हुनेले नगद २५ हजारसँगै ट्रफी र प्रमाणपत्र पाउनेछन् । 

रेफ्रीले उचित निर्णय गरेनन् 
प्रवेश कटुवाल, प्रशिक्षक, मच्छिन्द्र
 
खेलाडीले राम्रो प्रदर्शन गरे, खेलबाट सन्तुष्ट छु । खेलमा रेफ्रीले उचित निर्णय नगर्दा टोली १० खेलाडीमा सीमित हुन पुग्दा त्यसको फाइदा विपक्षीले लिए । टप गेममा सामान्य मिस्टेकमा रातो कार्ड दिनु भनेको रेफ्रीको सही निर्णय होइन, रेफ्रीको निर्णयमा सन्तुष्ट पनि छैन । टोलीका सात खेलाडी क्लोज क्यापमा रहेका र केही खेलाडी घाइते भएका कारण जुन रूपमा प्रदर्शन गर्नुपर्ने हो सोअनुसार गर्न सकेनौँ । 

मच्छिन्द्रलाई पराजित गर्दा उत्साहित छौँ
कुमार थापा, प्रशिक्षक,एपिएफ

मच्छिन्द्रजस्तो सशक्त टोलीलाई पराजित गर्दा उत्साहित छाँै । १४ वर्षपछि फाइनलमा स्थान बनाएका छौँ, यसपटक इतिहास रच्दै उपाधि हात पार्ने योजना छ । फाइनलमा आर्मी र मनाङ जुन–जुन टोली आए पनि एउटै हो, केही फरक पदैन । टोलीका धेरै खेलाडीले पहेँलो कार्ड पाएका कारण केही खेलाडीले फाइनलमा खेल्न पाउने छैनन्, तर पनि टोलीमा पर्याप्त खेलाडी रहेकाले अभाव हुँदैन, टोलीमा धेरै राम्रा खेलाडी छन् ।