मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १० सोमबार ०७:३२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता

Read Time : > 1 मिनेट
२०७८ माघ १० सोमबार ०७:३२:००

खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको पाइएको छ । गाउँपालिका उपप्रमुख गोमादेवी मगरको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले अनियमितता भएको स्पष्ट पारेको हो । छानबिन समितिको प्रतिवेदनमा पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिले पाउने सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको उल्लेख छ ।

लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि ०७६ कात्तिक पहिलो साता गाउँ कार्यपालिकाको बैठकले उपप्रमुख मगरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उजुरीमा मृत्यु दर्ता, बसाइँसराइलगायत सम्बन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा १ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबिन गर्न माग गरिएको थियो । 

छानबिन समितिले गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको थियो । समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिरमै गाउँपालिकासमक्ष बुझाएको थियो । हालसम्म गुपचुप राखिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दबाब सिर्जना भएपछि गाउँपालिकाले १०औँ गाउँसभामा सार्वजनिक गरेको हो । 

उपप्रमुख मगरले गाउँसभामा वाचन गरेर सुनाएको प्रतिवेदनमा कुन वडामा कति बजेट चुहावट भयो भन्ने तथ्यांक भने खुलाइएको छैन । सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता छानबिन गर्न अख्तियारले कागजात मागेपछि गाउँपालिकाले २७ फागुन ०७६ मा सोसम्बन्धी कागजात बुझाइसकेको छ । गाउँपालिकाका कर्मचारी अख्तियार पुगेर आवश्यक कागजात दर्ता गराएका थिए । ५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधवा र बसाइँ सरिसकेका तीनजनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ ।

यता, साकेला गाउँपालिकाले भने सामाजिक सुरक्षाभत्ता वितरण पारदर्शी बनाएको छ । यसअघिसम्म कर्मचारीले वितरण गर्दै आएको सामाजिक सुरक्षाभत्तामा चरम अनियमितता भएको पाएपछि बैंकिङ प्रणालीमार्फत वितरण गरेर पादर्शी बनाएको हो । साकेला गाउँपालिकाले एसबिआई बैंकमार्फत सबै वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । भुक्तानी शिविरमार्फत ४६२ जनालाई उनीहरूको टोलमै लगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकामा चालू आर्थिक वर्ष ०७८/७९ मा दोस्रो त्रैमासिक किस्ता पाउने लाभग्राहीको संख्या एक हजार २११ रहेको छ । उनीहरूका लागि एक करोड १३ लाख ५६ हजार नौ सय सात रुपैयाँ रकम निकासा भएको थियो ।