सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गर्ने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रस्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरूसँग छलफल गर्ने सहमति गरेको हो ।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निर्क्याैल गरेर अघि बढ्न निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने सहमति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो । स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्याेल रहेको छ । त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ । निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्नेबारे पनि छलफलमा विषय उठेको छ ।’
बैठकमा आर्थिक रूपमा मितव्ययी हुने भन्दै तीनवटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । तर त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताए ।