मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ५ बुधबार ०७:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश २ को नाम ‘मधेस’ राखेपछि मधेसवादी दलमा खुसीयाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ५ बुधबार ०७:५३:००

प्रदेश २ को नाम मधेस राखिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काठमाडौंमा खुसीयाली मनाएको छ । अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा लोसपाले पार्टी केन्द्रीय कार्यालयमा खुसीयाली मनाएको हो । 

ठाकुरले उपस्थित नेता कार्यकर्तालाई मिठाई बाँड्दै मधेस प्रदेशको नामकरणसँगै मधेसी राष्ट्रियताले वैधानिकता पाएको बताए । ‘हामीले अधिकारका लागि जुन आन्दोलन गरेका थियौँ, त्यसमा सयौँले बलिदान दिए । त्यो आन्दोलनको नाम मधेस आन्दोलन नै थियो,’ ठाकुरले भने, ‘त्यसवेला मधेसी राष्ट्रियताको जन्म भएको थियो । प्रदेशको नामकरणबाट मधेसी राष्ट्रियताले वैधता पाएको छ ।’ उनले वर्तमान समयमा संघीयतामाथि धेरै शक्तिबाट आक्रमण भइरहेको चर्चा पनि गरे । उनले थपे, ‘मधेस आन्दोलनपछि नै यो मुलुकमा संघीयता स्थापित भएको हो । हामीले पहिचानसहितको संघीयताका आन्दोलन गरेका थियौँ । अहिले पहिचानसहितको प्रदेश बनेर त्यसको प्रतिफल मिलेको छ ।’

मधेस प्रदेशले पहिचान स्थापित भयो : महतो

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले मधेस प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तिको ढोका खुलेको बताएका छन् । बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताए । उनले अधिकार, पहिचान र बहुल राज्य मान्यतालाई स्थापित गराउने आफूहरूको अभियान सफलतातर्फ अघि बढेको धारणा व्यक्त गरे । महतोले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको नारा लगाए पनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको बताए ।

मधेस नामकरणले आन्दोलनप्रति सम्मान मिल्यो : अध्यक्ष यादव

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेश २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेपछि अध्यक्ष यादवले यस्तो बताएका हुन् । 

नाम र स्थायी राजधानी तय भएको खुसीयालीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेस प्रदेशको स्थापना थियो । त्यो सपना सफल भएको छ, यसबाट मधेस आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।’ मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृतिक विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए । 

सभामा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौंदेखि विभेदमा रहेका मधेसीलाई अब सम्मानको अनुभूति हुने बताइन् । ‘मधेस आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेस प्रदेश स्थापना भएको छ,’ मन्त्री यादवले भनिन्, ‘हामीले मधेस प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेस आन्दोलन र सहिदप्रति सम्मान भएको छ ।’