१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शान्ति तामाङ काठमाडौँ
Invalid date format o९:o६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तेस्रो लहरमा उदासीन उपत्यकाका स्थानीय तह

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

कोभिड– १९ को पहिलो र दोस्रो लहरको लडाइँमा सम्भव भएसम्म कोसिस गरेका उपत्यकाका स्थानीय तह तेस्रो लहरविरुद्धको लडाइँमा भने उदासीन देखिएका छन् । उपत्यकामा सबैभन्दा बढी कोरोनाका संक्रमित भेटिए पनि कोरोना रोकथामका लागि यहाँका स्थानीय तहले पर्याप्त अग्रसरता देखाएका छैनन् । 

हाल भक्तपुरको चाँगुनारायण नगरपालिकाबाहेक अन्य स्थानीय तहले १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाएका छन् । खोपको पहुँच सहज छैन । उपत्यकाका खोप केन्द्रमा भिडभाड छ । उपत्यकाका स्थानीय तहले नीतिगत निर्णयमा पनि विलम्ब गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले बसुन्धारामा रहेको अक्सिजन प्लान्टसहितको ८८ शैयाको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ तयारी अवस्थामा राख्ने, नरदेवी र क्षेत्रपाटी कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याउनेबाहेक अरू निर्णय गरेको छैन । ‘गत शुक्रबारको बैठकमा हामीले सामाखुसीमा रहेको अक्सिजनसहित एक सय शड्ढयाको आइसोलेसन तयारी अवस्थामा राख्ने, पहिले बनाएको कोभिड अस्पताललाई सञ्चालनमा ल्याउने भन्ने भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘योबाहेक सरकारले गरेको निर्णय कडाइका साथ पालना गराउने हो ।’ 

उता ललितपुर महानगरपालिकाको गति कस्तो छ भने शुक्रबारको महानगरस्तरीय विपत् व्यवस्थापन केन्द्र (सिएमसी)को बैठक नै स्थगित भएको छ । ‘पाटन अस्पतालको अक्सिजन प्लान्ट उद्घाटका कारण रोकियो । सबै त्यतैतिर गए । जे होस् पाटन अस्पतालले अब बाहिरबाट अक्सिजन ल्याउनुपर्दैन,’ उनले भने, ‘त्यसबाहेक खोप लगाउने काम पनि गरिरहेकै छ । काम त भइनै रहेको छ ।’

कोरोना नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टिमले कोरोना टेस्ट गर्ने, आइसोलेसनलाई निरन्तरता दिने र पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेको छ । महानगरले एक सय २० शैयाको आइसोलेसनलाई निरन्तरता दिने भएको हो । त्यसबाहेक महानगर अब कसरी अगाडि बढ्ने भन्ने ठोस योजना बन्न सकेको छैन । 
भक्तपुर नगरपालिकाले भने शुक्रबार नगरपालिकास्तरीय विपत् व्यवस्थापन केन्द्र (सिएमसी)को बैठक बोलाएर कोरोना नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । नगरपालिका प्रमुख सुनील प्रजापतिका अनुसार नगर क्षेत्रभित्र ख्वप अस्पतालको तर्फबाट १२–१८ वर्ष उमेर समूहका विद्यार्थीलाई दिइँदै आएको कोभिडविरुद्धको खोपलाई निरन्तरता दिने निर्णय भएको छ । 

हाल भक्तपुर नगरपालिकाभित्र ख्वप अस्पताल, नगर स्वास्थ्य केन्द्र व्यासी र आधारभूत स्वास्थ्य केन्द्र सल्लाघारीमा खोप लगाउने व्यवस्था छ । यी स्वास्थ्य केन्द्रमा भेरोसेल खोप लगाइन्छ । १८ वर्षभन्दा माथिका उमेर समूहले बिहान १० देखि १ बजेसम्म ती ठाउँमा गएर खोप लगाउन सक्नेछन् । नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख रत्नसुन्दर लसुवाका अनुसार पहिलो वा दोस्रो दुवै मात्रा खोप केन्द्रमा गएर लगाउन सकिन्छ । 

नाकाको नगरकै छैन तयारी 

नाकाकै स्थानीय तह चन्द्रागिरि, नागार्जुन र दक्षिणकाली नगरपालिकाको तयारी पनि सुस्त छ । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार विद्यालयमा भाइजर खोप दिनेबाहेक अन्य काम भएको छैन । ‘मेयर सापकी आमा बित्नुभएकाले हाल अन्य काम गर्ने निर्णय भएको छैन । केही दिनमा बैठक बसेर निर्णय होला,’ प्रवक्ता महर्जनले भने । 

दक्षिणकाली नगरपालिकाले पनि गएका वर्षको जस्तो तयारी गरेको छैन । ‘हाम्रो नगरपालिका पूर्ण खोपयुक्त भइसकेको छ । त्यसैले अन्तभन्दा सुरक्षित नै छौँ जस्तो लाग्छ,’ मेयर मोहनबहादुर बस्नेतले भने, ‘प्रसार–प्रसार गरेर सचेतना अपनाउन भनिरहेका छौँ ।’ नगरपालिकामा ३० बेडको आइसोलेसन तयारी अवस्था छ । हाल नगरपालिकामा २० जना संक्रमित रहेका छन् । नागार्जुन नगरपालिकामा १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाउनेबाहेक अन्य काम केही पनि भएको छैन ।