Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ३ सोमबार ०६:४१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिड आदेश : के गर्न पाइन्छ, के गर्न पाइँदैन ? 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ३ सोमबार ०६:४१:००

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका सरकारले कोभिड आदेश जारी गरेकोे छ । संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को ३० पुसको बैठकले आदेश जारी गरेको हो ।

शैक्षिक संस्था बन्द 

कोभिड आदेशमा विद्यालयसँगै विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर पनि १५ माघसम्म बन्द रहने उल्लेख छ । सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप पनि बन्द हुनेछन् । तर, भर्चुअल माध्यमबाट कक्षा सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । तर, विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने भाषा परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक कक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ ।

रात्रिकालीन व्यवसायसँगै जिम, फुटसल पनि बन्द

सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब र जिमखाना १५ माघसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै, स्विमिङ पुल, फुटसल, पटके हाटबजार पनि बन्द गर्ने निर्णय गरिएको छ । यसअघि सिनेमा घरमा खोप कार्ड अनिवार्य भनिएको थियो ।

पार्टी प्यालेसमा विवाह कार्यक्रम गर्दा सिडिओ स्वीकृति

पार्टी प्यालेसमा विवाह, व्रतबन्ध, न्वारन तथा पास्नीजस्ता धार्मिक कार्यक्रम सञ्चालन गर्दा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को स्वीकृति लिनुपर्नेछ । तर, प्यालेसमा कुल क्षमताको बढीमा एकतिहाइ मात्र सहभागी हुन पाउनेछन् । अर्थात् बढीमा ५० जना मात्र सहभागी हुनेछन् । सरकारले धार्मिक कार्यक्रममा रोक लगाएको छ । तर, मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना गर्न पाइनेछ । त्यसका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य गरिएको छ । मृत्यु संस्कारमा पनि ५० जनाभन्दा बढी सहभागी हुन पाउनेछैनन् । तीबाहेक अन्य कार्यक्रम गर्नुपरेमा सिडिओको अनुमति लिनुपर्ने छ । २५ जनाभन्दा बढी उपस्थित हुन पाउनेछैनन् ।

रंगशालामा पनि एकतिहाइको उपस्थिति हुने गरी मात्र खेलकुद सञ्चालन गर्न पाइनेछ । उपस्थित दर्शकमध्ये एकतिहाइको रेन्डम छनोट गरी एन्टिजेन परीक्षण गर्नुपर्नेछ । खर्च आयोजकले बेहोर्नेछ । खोपको मात्रा पूरा गरेका व्यक्ति मात्र खेलकुद कार्यक्रममा सहभागी हुन पाउनेछन् । यो व्यवस्था ७ माघबाट लागू हुनेछ ।

खोप नलगाएकालाई गोष्ठी–बैठकमा पनि निषेध, जुलुस–आमसभामा प्रतिबन्ध

सरकारले ७ माघबाट लागू हुने गरी कोभिड– १९ विरुद्धको खोप अनिवार्य गरेको छ । गृह मन्त्रालयको परिपत्रका आधारमा ७ माघबाट लागू हुने गरी सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य घोषणा गरिएकामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको कोभिड आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकमा खोप कार्ड अनिवार्य गरिएको हो । यो व्यवस्था पनि ७ माघबाट लागू हुनेछ । गोष्ठी, सेमिनार, समीक्षा, बैठकलगायत क्रियाकलाप सकभर भर्चुअल माध्यमबाट गर्न भनिएको छ । तर, भौतिक रूपमै उपस्थित भएर गर्नुपरेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई मात्र बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न स्वीकृति दिइएको छ । त्यस्तै, सबै प्रकारका आमसभा, जुलुस, भेला तथा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

मास्कविनै यात्रा गरेमा अतिरिक्त भाडा

मास्कविना नै सार्वजनिक यातायातमा यात्रा गर्न खोजेमा पाँच रुपैयाँ अतिरिक्त भाडा लाग्नेछ । त्यसबापत चालक तथा सहचालकले त्यस्ता यात्रुलाई मास्क उपलब्ध गराउनुपर्नेछ । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्नेछ । सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्नेछ । लामो दूरीका यातायात सेवा सञ्चालन गर्दा बाटोमा थप यात्रु राख्न पाइनेछैन । यात्रुको विवरण जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई उपलब्ध गराउनुपर्नेछ ।

आन्तरिक हवाई उडानमा यात्रुको एन्टिजेन परीक्षण

आन्तरिक हवाई उडानमा यात्रुको एन्टिजेन परीक्षण गर्नुपर्नेछ । सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र यात्रा गर्न पाइनेछ । हवाईजहाजमा स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ भने उडानअघि र पछि अनिवार्य रूपमा हवाईजहाजसँगै ब्यागेज निसंक्रमित गर्नुपर्नेछ ।

होटेलमा वास बस्नेको एन्टिजेन परीक्षण अनिवार्य

होटेलमा वास बस्नेको एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । होटेलको चेक इन गर्दा वा चेक इनको २४ घन्टाभित्र र त्यसपछि ७२ घन्टामा प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्नुपर्नेछ । विवरण डिसिसिएमसीलाई उपलब्ध गराउनुपर्नेछ । खोपको पूर्ण मात्रा लगाएकाले मात्र ७ माघबाट होटेल, रेस्टुरेन्टमा प्रवेश पाउनेछन् । सबै व्यवसायका अग्रपंक्तिको काउन्टरमा कायम गर्ने कर्मचारी र नियमित ग्राहकको सम्बन्धित निकायले नै साताको दुईपटक एन्टिजेन परीक्षण गर्नुपर्नेछ ।

निजी अस्पतालमा पनि कोभिड संक्रमितको उपचार, शोधभर्ना सरकारले दिने

आवश्यक परेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ का संक्रमितको उपचारका लागि निजी अस्पतालको पनि प्रयोग गर्न सक्नेछ । दुई सयभन्दा बढी बेड भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी, निजी मेडिकल कलेज, प्रतिष्ठानसँग सेवा सम्झौता गर्ने अधिकार स्वास्थ्य मन्त्रालयलाई दिइएको हो । शोधभर्ना सरकारले दिनेछ । त्यस्तै, संक्रमणको जोखिमको अवस्था हेरी निजी, सार्वजनिक र गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, औजार–उपकरण र भवनको प्रयोग सरकारले गर्न सक्नेछ ।

संस्थागत आइसोलेसनको शुल्क निर्धारण

संस्थागत आइसोलेसन डिसिसिएमसीको निर्णयअनुसार कायम गरिनेछ । होटेल आइसोलेसनको दुई हजार, अस्पताल आइसोलेसनको ३५ सय कायम गरिएको छ भने मध्यम, जटिल र गम्भीरको आइसियूमा भेन्टिलेटरसहितको उपचारका लागि क्रमशः सात हजार र १५ हजार शुल्क निर्धारण गरिएको छ । कन्ट्याक टे«सिङ, आइसोलेसन व्यवस्थापनको खर्च संघ सरकारले बेहोर्ने भएको छ । तर, तत्काल स्थानीय तहमार्फत भुक्तानी हुनेछ । 

१५ बेडसम्मका अस्पतालमा स्थानीय तहमार्फत उपचार 

स्थानीय तहले १५ बेडसम्मका सरकारी, निजी, सामुदायिक र गैरसरकारी अस्पतालसँग सम्झौता गरेर कोभिड– १९ बिरामीको उपचार गर्न सक्नेछन् । रकमको शोधभर्नाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ ।

आधारभूत अस्पतालका संरचना नभएका स्थानीय तहले न्यूनतम पाँच बेडका अस्पताल सञ्चालन गर्नुपर्नेछ । खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई भनिएको छ । 

विदेशबाट आउनेमा कोभिड देखिए पाँच दिन क्वारेन्टिन 

विदेशबाट नेपाल आउनेमा कोभिड नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था कायम भएको छ । आदेशानुसार अब विदेशबाट नेपाल आउनेले कोभिड परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।