१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
युजिन रबिन्सन
२०७८ पौष २९ बिहीबार ०७:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जोकोभिचलाई घर फर्काउनुपर्छ अस्ट्रेलियाले

Read Time : > 2 मिनेट
युजिन रबिन्सन
२०७८ पौष २९ बिहीबार ०७:४५:००

अधिकांश प्रमुख व्यावसायिक पुरुष टेनिस खेलाडीले पूर्ण खोप लगाए जोकोभिचले भने खोपविरोधी पहिचान बनाएका छन्, जुन उनको व्यक्तित्वविरुद्ध देखिन्छ

पुरुषतर्फका उत्कृष्ट टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियन ओपन खेल्नका लागि योग्य छैनन् । उनले अस्ट्रेलियाको कोरोना भाइरस खोपसम्बन्धी नियम उल्लंघन गर्नु कुनै पनि कोणबाट ‘स्वतन्त्रता’सँग जोडिँदैन । नियम मिचाइले आफूलाई अभिप्रेरित गर्नका लागि जोकोभिचले निर्माण गरेको ‘पर्सिक्युसन कम्प्लेक्स’ अर्थात् अरूले षड्यन्त्र गरेर आफूलाई कमजोर बनाइरहेका छन् भन्ने मानसिकता झल्किन्छ । अस्ट्रेलियन ओपन निसंकोच अस्ट्रेलियाका लागि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हो ।

यदि म अस्ट्रेलियाली नागरिक भएको भए खोप नलगाएका जोकोभिच निस्फिक्री भएर टेनिस खेलमा आफ्नो उत्कृष्टता दाबी गर्ने उनका गतिविधिबाट पक्कै पनि रुष्ट हुन्थेँ । म महामारीको सुरुवाती चरण सम्झिन्थेँ । हजारौँ अस्ट्रेलियाली विदेशमा महिनौँसम्म अलपत्र परेर घर आउन नपाएको तितो यथार्थ सम्झिन्थेँ । बारम्बार लगाइएको विश्वकै सबैभन्दा कठोरमध्येको लकडाउन सम्झिन्थेँ । जोकोभिचलाई मुलुकमा बस्न र प्रतियोगितामा सहभागी हुन दिने अदालतको निर्णयका बाबजुद पनि म सरकारले उनलाई जसरी भए पनि खेलमा सहभागी हुनबाट रोकोस् भन्ने चाहन्थेँ । जोकोभिचले केही गरी खेलमा सहभागी हुन पाए भने उनको अभूतपूर्व एवं अद्वितीय खेल प्रतिभाका बाबजुद पनि म उनको खेल हेर्नेछैन । 

विम्बल्डन, अस्ट्रेलियन, फ्रेन्च र युएस ओपनलगायत ठूला प्रतियोगितामा सर्बियाका जोकोभिचले अहिलेसम्म २० वटा सिंगल उपाधि जितेका छन् । यो सफलताले उनलाई स्विट्जरल्यान्डका रोजर फेडरर र स्पेनका राफेल नाडालजस्ता ओपन एराका (व्यावसायिक टेनिस खेल्न सुरु भएयता) महान् हस्तीहरूको पंक्तिमा उभ्याइदिएको छ । पूर्ण रूपमा खोप लगाएका भए पनि फेडरर यसपालि मेलबर्नमा खेल्नेछैनन् भने अस्ट्रेलिया सरकार एवं भिक्टोरिया राज्य सरकारका नियमबमोजिम पूरा मात्राको खोप लगाएका नाडालले अस्ट्रेलियन ओपनमा भाग लिनेछन् ।

द इकोनोमिस्टका अनुसार ९५ प्रतिशत प्रमुख व्यावसायिक पुरुष टेनिस खेलाडीलाई पूर्ण रूपमा खोप लगाइएको छ । तर, जोकोभिचले खोपविरोधी पहिचान बनाएका छन्, जुन उनको व्यक्तित्वविरुद्ध गएको देखिन्छ । उनलाई प्रतियोगिता र राज्यले अस्ट्रेलियामा खेल्नका लागि स्नेही ‘चिकित्सा छुट’ दिएको छ र यो छुटका पछाडि उनी हालै कोभिड–१९ बाट संक्रमित भएको र यसकारण उनमा थोरै भए पनि रोगप्रतिरोधी क्षमता हुने दलिल दिइएको थियो । महिनादिनअगाडि डिसेम्बरमा भएको परीक्षणमा जोकोभिच कोभिड पोजिटिभ देखिएका थिए, तर उनले आफूलाई आइसोलेसनमा राखेनन् । ठीक विपरीत मास्कसमेत नलगाई उनी आफ्ना प्रशंसकसँग टाँसिएर तस्बिर खिचाइरहेका थिए । यो हेलचेक्य्राइँ बेलग्रेड (सर्बियाको राजधानी)मा चिन्ताको विषय नहुन सक्छ, किनभने आफू संक्रमित भएपछि जोकोभिचले युवा टेनिस खेलाडीको कार्यक्रममा भाग लिएका थिए । आखिर जोकोभिच सर्बियामा राष्ट्रिय नायक हुन् र इकोनोमिस्टको रिपोर्टअनुसार सर्बियाका वयस्कहरूको ४५ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । यद्यपि, इकोनोमिस्टकै रिपोर्टअनुसार सर्बिया त्यही मुलुक हो, जुन महामारीको समयमा ‘जनसंख्याको अनुपातमा कोभिडका कारण अत्यधिक मृत्यु हुने मुलुकमा दोस्रो स्थानमा पर्छ । 

अदालतको सोमबारको फैसलाअनुसार जोकोभिचलाई दिइएको छुट प्रतियोगिताको नियमअनुसार प्राविधिक रूपमा सही हुन सक्छ, तर नैतिक रूपमा यो छुट गलत छ र अस्ट्रेलियाली कानुनको मर्मविपरीत छ । जोकोभिचको भिसा रद्द गरेर प्रधानमन्त्री स्कट मोरिसनले उचित निर्णय लिएका थिए र अझै पनि अदालतको निर्णयका बाबजुद अस्ट्रेलियाली सरकारले जोकोभिचलाई भिसा रद्द गर्न सक्छ र गर्नुपर्छ । 

सर्बियाका राष्ट्रपतिले जोकोभिच ‘प्रताडना’को सिकार भएको गुनासो गरेका थिए । राष्ट्रपतिको यो अभिव्यक्ति राष्ट्रवादी उत्तेजना ल्याउने धारणासँग मिल्छ । अर्थात्, टेनिस जगत्ले जोकोभिच फेडरर र नाडालभन्दा उत्कृष्ट खेलाडी नबनून् भन्ने शंकाको भाष्यसँग मिल्छ । तर, केही असहज तथ्यहरूले जोकोभिचविरुद्ध सारा संसार लागिपरेको छ भन्ने राष्ट्रवादी कथनलाई खारेज गरिदिन्छ । पहिलो, अस्ट्रेलियन ओपन प्रतियोगिता र भिक्टोरिया राज्यले जोकोभिचलाई खोप नलगाउँदा छुट दिए पनि अस्ट्रेलियाको राष्ट्रिय सरकारको हालको कोरोना भाइरस खोप नीतिले संक्रमण र संक्रमणपछि निको भएको आधारमा खोप नलगाउने छुट दिँदैन । र, अन्य चर्चित टेनिस खेलाडीले झैँ जोकोभिचले खोप लगाएर खेलसम्बन्धी योग्यतामाथि उठेको प्रश्नको जवाफ दिन सक्थे । जोकोभिच राज्यबाट प्रताडित नभई विशेष सत्कार खोजिरहेका छन् । 

म कोर्टमा खेलिरहेका जोकोभिचको प्रशंसक हुँ । उनी सुन्दर र रोमाञ्चक खेल खेल्छन् । त्यही भएर उनी टेनिसका हस्तीहरूमा गनिन्छन् । अस्ट्रेलियन ओपन नौपटक जितेका जोकोभिच यसपालि १०औँ पटक उपाधि हासिल गरेर अभूतपूर्व रेकर्ड कायम गर्ने सम्भावना राख्छन् । यद्यपि, यो वर्ष उनी खेलका लागि योग्य छैनन् । कोरोना भाइरस संक्रमणको डेल्टा भेरियन्टका कारण धेरै अस्ट्रेलियालीले महिनौँको लकडाउन र प्रतिबन्ध झेलेका छन् । सरकारी तथ्यांकअनुसार अस्ट्रेलियाका ९० प्रतिशतभन्दा बढी वयस्कले कम्तीमा दुईवटा खोप लगाएका छन् । अस्ट्रेलियालीले महामारीसँग लड्न सम्भव भएसम्मका सबै प्रयास गरेका छन् । जोकोभिचले कुनै प्रयास गरेका छैनन् । त्यसैले पनि उनीसँग तत्काल घरतिरको प्लेनको टिकट काट्नुको विकल्प नहुनुपर्ने हो । 

(पुलित्जर पुरस्कार विजेता पत्रकार रबिन्सन वासिङ्टन पोस्टका स्तम्भकार हुन्) 
द वासिङ्टन पोस्टबाट