दशगजामा भारतले बाँध बनाएपछि रौतहटका स्थानीय समस्यामा परेका छन् । नियमविपरीत भारतले बाँध बनाएपछि सीमावर्ती ईशनाथ नगरपालिकाका बासिन्दा समस्यामा परेका हुन् ।
ईशनाथ नगरपालिका–१ को बन्जराहलगायतका गाउँ सधैँ जलमग्न हुने गरेका छन् । बर्खामा पानीको निकास नहुँदा ईशनाथका १, २, ३ र ४ नम्बर वडाका अन्य गाउँ पनि बर्सेनि डुबानमा पर्ने गरेका छन् । हिउँदमा ड्यामका कारण सवारीसाधनको आवागमनसमेत हुने गरेको छैन । ‘गाउँमा आपत्कालीन अवस्थामा एम्बुलेन्ससमेत जाने अवस्था छैन,’ वडाध्यक्ष बिगु साहले नयाँ पत्रिकासँग भने, ‘बाँधका कारण बर्खामा जम्मा भएको पानीले दह बनेर गाउँ नै डुबानमा पर्ने गरेको छ । यातायात अवरुद्ध भएको छ ।’ गाउँमा विवाह भयो भने जन्तीको गाडी ड्याममा राखेर जन्ती हिँडेर गाउँमा आउनुपर्ने अवस्था रहेको स्थानीय ओमप्रकाश सिंहले गुनासो गरे ।
भारतीय पक्षले दशगजामा पर्ने बन्जराह क्षेत्रमा बाँध बनाएको हो । ड्याम बनाउन थालेपछि स्थानीयले तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई जानकारी गराएका थिए । तर, प्रशासनले प्रभावकारी पहल गर्न नसक्दा भारतले बाँध बनाएरै छाड्यो । स्थानीय भन्छन्, ‘ड्याम बनाउन सुरु गरेपछि नै प्रशासनलाई जानकारी दिएका थियौँ । तर, हाम्रो सरकारको पक्षबाट रोक्ने कुनै पहल भएन । उसले बनाइछाड्यो । अहिले हामी सबैलाई समस्या परेको छ ।’
लकडाउनको मौकामा भारतले बढायो बाँध
स्थानीयका अनुसार खेतको आली मात्र रहेको सो स्थानमा भारतले करिब दश वर्षअगाडिदेखि बाँध बनाउन सुरु गरेको हो । ‘सुरुवातमा बाँध होचो थियो । तर, भारतले बर्सेनि बढाउँदै लगेर ठूलै बाँध बनाइसकेको छ,’ स्थानीय आलोककुमार सोनीले भने, ‘अब त बन्जराह गाउँ हरेक वर्ष डुबानमा पर्न थालेको छ ।’ उनले ड्यामका कारण पानीको निकास नहुँदा बन्जराह गाउँमा धानखेतीसमेत हुन छाडेको दुःखेसो पोखे । कोभिड महामारीका कारण लकडाउन भएका वेला भारतीय पक्षले बाँधको हाइट साबिकभन्दा पाँच फिट अग्लो बनाएको थियो ।