१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नेपाल–भारत सीमामा पर्ने महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मधवामा भूमिहीन नेपाली नागरिकका घर । तस्बिर : नयाँ पत्रिका
रञ्जन भण्डारी महाेत्तरी
२०७८ पौष २१ बुधबार ०७:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शीतलहरका वेला भूमिहीनका घर भत्काउन भारतीय सुरक्षाकर्मीको उर्दी  

Read Time : > 2 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७८ पौष २१ बुधबार ०७:५२:००

मनरा सिस्वा नगरपालिका–१० मधवामा भारततर्फको दशगजा क्षेत्रमा पुस्तैनीदेखि बसोवास गर्दै आएका नेपाली नागरिक रत्न सदा र उनका भाइ देवेन्द्र सदाले कठिनाइ भोग्दै आएका छन् । भारतीय सुरक्षाकर्मीहरूले तत्काल उनीहरू बसोवास गर्दै आएको घर हटाउन उर्दी दिएपछि सदा दाजुभाइ समस्यामा परेका छन् ।

आफ्नो भूमि नहुँदा जनता आवास कार्यक्रमअन्तर्गतको घरसमेत नपाएका रत्न र देवेन्द्र परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्तामा परेका छन् । केही दिनदेखि दुई देशकै सीमाका सुरक्षाकर्मीको संयुक्त टोलीले दशगजामा बसोवास गर्नेको घरटहरा भत्काउन उर्दी दिँदै आएको छ । जसकारण आफूहरू बस्दै आएका दशगजा क्षेत्रका अधिकांशले घर भत्काउन थालेका छन् ।

केही दिनअघि भारतीय सुरक्षाकर्मीले सदा दाजुभाइको घरको छानोसमेत उखेलिदिएका थिए । कतै जाने ठाउँ नभएपछि उनीहरू त्यही छानोमाथि प्लास्टिक राखेर पुनः बसेका छन् । 

सरकारले भूमिहीन नागरिकका लागि विकल्प नदिँदा बाध्य भएर दशगजामै बस्नुपरेको देवेन्द्रले बताए । सदा दाजुभाइ आ–आफ्नो परिवारसहित दशगजाको भारततिरको क्षेत्रमा पुस्तैनीदेखि बसोवास गर्दै आएका हुन् । केही दिनअघि भारतीय सुरक्षाकर्मीले सदा दाजुभाइको घरको छानोसमेत उखेलिदिएका थिए । कतै जाने ठाउँ नभएपछि उनीहरू त्यही छानोमाथि प्लास्टिक राखेर पुनः बसेका छन् । 

भारतीय सुरक्षाकर्मीले चाँडै घर भत्काउन चेतावनी दिएर गएको र एक दुई दिनभित्र आएर घर भत्काइदिने भनेपछि उनीहरूले नेपाल सरकारलाई अन्यत्र पुनर्वासका लागि हारगुहार गरेका छन् । भूमिहीन भएकैले दशगजामा बस्नु आफूहरूको बाध्यता भएको जनाउँदै रत्न सदाले सरकारले वैकल्पिक व्यवस्था गरिदिए उचित हुने बताए ।

मनरा सिस्वा नगरपालिका–९ बथनाहास्थित मुसहर बस्तीमा पनि उस्तै समस्या छ । दुई देशका सुरक्षाकर्मी आएर दशगजामा बस्न पाइँदैन, तत्काल घर हटाउन भन्दै उर्दी दिएपछि विपन्न समुदायका मुसहर कहाँ जाने भन्ने चिन्तामा परेका छन् ।

नेपाली सुरक्षाकर्मीबाट हप्कीदप्की नभए पनि भारतीय एसएसबीले भने घरटहरामै आगो लगाउने प्रयास गरेको उनीहरूको गुनासो छ । बथनाहामै केहीले भने जनता आवासबाट घर पाएका छन् । तर, भूमिहीनसँग भने कुनै विकल्प छैन । स्थानीय रिना सदाले भारतीय सुरक्षाकर्मीले आफ्नो छाप्रोमा आगो लगाउने प्रयास गरेको बताउँदै हारगुहार गरेर निभाएको गुनासो गरिन् । चाँडै घर नहटाए सबैकोमा आगो लगाइदिने धम्की दिएको उनले बताइन् ।

शीतलहरले कठ्यांग्रिरहेका विपन्नलाई भारतीय सुरक्षाकर्मीको व्यवहारले झनै पीडा
तराईका विभिन्न जिल्लामा पाँच दिनअघिदेखि शीतलहर सुरु भइसकेको छ । शीतलहरको चिसोले कठ्यांग्रिरहेका वेला भारतीय सुरक्षाकर्मीको दुव्र्यवहारले झनै पीडित भएको स्थानीय शान्ति देवीले गुनासो पोखिन् । विपन्न समुदायका लागि नेपाल सरकारले तत्काल पुनर्वासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आफ्ना नागरिकमाथि भारतीय सुरक्षाकर्मीले पटक पटक हेप्ने, धम्काउने, दुव्र्यवहार गर्ने गरे पनि नेपाली सुरक्षाकर्मीहरूले टुलुटुलु हेर्ने मात्र गरेको उनले दुखेसो पोखिन् । 

दुई देशको सीमा स्तम्भको दुईतिरको दशगजामा मानव बस्ती बसाउने वा भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर, महोत्तरीको केही स्थानमा दुवै देशको दशगजामा मानव बस्ती पुस्तैनीदेखि बस्दै आएको छ । अन्तर्राष्ट्रिय मान्यता र दशगजासम्बन्धी मापदण्डअनुसार दशगजा क्षेत्र खाली हुनुपर्ने भन्दै महोत्तरीको भारतसँग जोडिएको दशगजा क्षेत्रमा अहिले दुई देशका सुरक्षा निकायले दशगजाका बस्ती हटाउन थालेको छ । बस्ती हटाउँदै गर्दा भूमिहीन नेपाली नागरिकबारे सरकारले कुनै चासो देखाएको छैन । 

भूमिहीनको घरटहरा भत्काउने उद्देश्य छैन : वासुदेव दाहाल, प्रमुख जिल्ला अधिकारी, महोत्तरी 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले दशगजामा बसोवास गर्दै आएका नागरिकको घरटहरा भत्काउन कुनै निर्देशन नदिएको बताए ।

उनले केही दिनदेखि सीमा क्षेत्रमा सफाइ अभियानअन्तर्गत बलजफ्ती बनाइएका टहरा, परालको थुुप्रो वा अन्य सामग्री राखेर अतिक्रमण गरेका तथा फोहोर ठाउँ मात्र सफाइ गर्न दुई देशका सुरक्षाकर्मी परिचालित भएको दाबी गरे ।

मानव बस्ती नै उठाउन खोजिएको बारे आफूलाई जानकारी नभएको उनले बताए । शीतलहरको समयमा कसैलाई उठिवास गराउने मनसाय नरहेको भन्दै दाहालले सीमामा भएका यस्ता गतिविधिबारे बुझ्ने बताए ।