१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दुईपटक गरी देउवाले गरे १३ केन्द्रीय सदस्य मनोनयन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२६:oo

पदाधिकारीमा पराजित आठ अनुहार केन्द्रीय समितिमा समेटिए


कांग्रेसको मनोनीत केन्द्रीय सदस्यमा १४औँ महाधिवेशनमा पराजितहरूले प्राथमिकता पाएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन गरी १३ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । तीमध्ये आठजना हालै सम्पन्न महाधिवेशनमा पदाधिकारी पदमा पराजित अनुहार हुन् । 

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) ले सभापतिलाई ३३ जना मनोनीत गर्ने अधिकार दिएको छ । सोही व्यवस्थाअनुसार देउवाले मनोनयन गरेका हुन् । १३ जनाको मनोनयसँगै केन्द्रीय सदस्यको संख्या १४७ पुगेको छ । अझै २० केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले शनिबार रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मालाई मनोनीत गरेका थिए । आइतबार प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाही मनोनीत भए ।

उनीहरूमध्ये सिंह, निधि र गुरुङ १४औँ महाधिवेशनमा देउवासँगै सभापतिका उम्मेदवार थिए । तर, पहिलो चरणको मतदानमा तेस्रो, चौथो र पाँचौँ नम्बरमा रहँदै दौडबाट बाहिरिएका थिए । दोस्रो चरणको मतदानमा उनीहरूले देउवालाई सघाएका थिए  । पहिलो चरणमा आफूसँग सभापतिमा लडेका र दोस्रो चरणमा सघाएका तीनैजनालाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे । 

उपसभापतिमा पराजित गच्छदार र कोइराला पनि देउवाको रोजाइमा परे । गच्छदार देउवा प्यानलबाट र कोइराला सिंह प्यानलबाट उपसभापतिका उम्मेदवार थिए । यस्तै, महत र पौडेल देउवा प्यानलबाट महामन्त्री तथा शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र)का उम्मेदवार थिए । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य शनिबार र आइतबार गरेको मनोनयनलाई हेर्दा देउवाले अनुकूलका व्यक्तिलाई मात्र समावेश गरेर एकपक्षीय रूपमा पार्टी सञ्चालन गर्न चाहेको विश्लेषण गर्छन् । महाधिवेशनले देउवालाई सभापतिका रूपमा चार वर्षका लागि म्यान्डेट दिएको तथा विधानले ३३ केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको भए पनि देउवाले आफ्नो अधिकार प्रयोग गर्दा सबैलाई मिलाएर जानु उपयुक्त हुने आचार्यको भनाइ छ । 

‘महाधिवेशनले उहाँलाई म्यान्डेट दिएको छ । आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा उहाँले सल्लाह लिन पनि सक्नुहुन्छ, नलिन पनि,’ आचार्य भन्छन्, ‘अहिलेसम्मको स्थिति हेर्दा उहाँले एकपक्षीय रूपमा पार्टी सञ्चालन गर्न चाहेको देखिन्छ । आफूअनुकूललाई ‘लाइक’ र मन नपरेकालाई ‘डिसलाइक’ गरेको देखिएको छ । सबैलाई मिलाएर लगे पार्टी राम्ररी सञ्चालन हुन्छ, नसके असन्तुष्टि बढ्छ र उहाँ नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

पदाधिकारीमा पराजित २४ मध्ये नौ केन्द्रीय समितिमा 

१४औँ महाधिवेशनमा पदाधिकारीतर्फ एक सभापतिका लागि पाँच उम्मेदवार मैदानमा थिए । दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ उम्मेदवार चुनावी दौडमा थिए । समग्रमा १३ पदाधिकारीका लागि भएको निर्वाचनमा ३७ जना प्रतिस्पर्धामा थिए । अर्थात्, २४ उम्मेदवार पराजित भए । सभापतिका निकटतम् प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ । त्यसैले पराजित भएका २३ मध्ये दोस्रो चरणमा आफूलाई सहयोग गरेका र आफ्नो प्यानलबाट उम्मेदवार बनेका गरी नौजनालाई देउवाले केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन् । तर, पदाधिकारीमा कोइराला प्यानल तथा संस्थापनइतरबाट उम्मेदवार बनी पराजित भएकाहरूलाई भने देउवाले शनिबार र आइतबारको मनोनयनमा समेटेका छैनन् । 

इतर समूहलाई समेट्नुपर्ने दबाब

देउवालाई पूर्वपदाधिकारी र लोकप्रिय अनुहार पनि समेटेर लैजान दबाब परेको छ । विश्लेषक पुरञ्जन आचार्य महाधिवेशनले सभापति देउवालाई पराजित र आफूइतरको पक्षलाई पनि समेटेर लैजाने म्यान्डेट दिएको तर्क गर्छन् । जसअनुसार सभापति देउवाले नेता कार्यकर्ताको भावनाअनुसार महाधिवेशनमा पराजित भएका अन्य पदाधिकारीलगायतका नेताहरूलाई समेटेर लैजानुपर्ने आवश्यकता रहेको औँल्याउँछन् । 

सभापति देउवाले अधिकार प्रयोग गरेर आफ्ना प्रत्यक्ष वा परोक्ष सहयोगीहरूलाई मनोनयन गरेको कोइराला समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका अर्जुननरसिंह केसीको तर्क छ । मनोनीत हुन बाँकी संख्यामा अब अन्य नेतालाई पनि समेट्नुपर्ने उनको भनाइ छ । उपसभापतिमा पराजित महेश आचार्य, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाललगायतलाई पनि केन्द्रीय समितिमा समेट्नुपर्ने उनी बताउँछन् । अन्यथा, पहिलो दृष्टिमा नै पक्षपात गरेको देखिने उनको धारणा छ । 

‘सभापतिज्यूले कांग्रेस विधानबमोजिम आफ्ना प्रत्यक्ष वा परोक्ष सहयोगीलाई केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ,’ उनको प्रतिक्रिया छ, ‘यसबाहेक महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायतलाई पनि मनोनीत गरेर समेट्नुपर्छ । त्यसो भयो भने मात्र पहिलो दृष्टिमा नै पक्षपात गरेको देखिँदैन ।’ कम मतले पराजित हृदयराम थानी, मनोजमणि आचार्य, कमला पन्तलगाायतलाई पनि केन्द्रीय समितिमा समेटेर लैजानुपर्ने आवाज उठ्दै आएको छ । 

तर, देउवा प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवार बनी निर्वाचित भएका फर्मुल्लाह मन्सुर भने सभापतिले कांग्रेसलाई बलियो बनाउनकै लागि योग्य नेताहरूलाई मनोनीत गरेको दाबी गर्छन् । ‘सभापतिले सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउन विधानअनुसार नै मनोनयन गर्नुभएको छ,’ उनको भनाइ छ, ‘विगतमा पनि निर्वाचनमा विजयी हुन नसकेका र पार्टीलाई आवश्यक पर्ने नेताहरूलाई सम्भव भएसम्म समेट्नुभएको थियो, अहिले पनि समेट्नुहुनेछ ।’

केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक सोमबार बस्दै छ । मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका छन् । बैठक आसन्न राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहने मुख्यसचिव पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए । यसबाहेक विभाग गठन, पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँट र बाँकी केन्द्रीय सदस्य मनोनयनलगायतका विषय बैठकका एजेन्डा बन्न सक्ने उनले बताए ।
१४औँ महाधिवेशनपछि गत १० पुसमा कार्यसमितिको पहिलो बैठक बसेको थियो । आफ्नो पार्टीको कार्यसमिति बैठकअघि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

ad
ad