मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
श्रवण थापा सर्लाही
२०७८ पौष १९ सोमबार ०६:३२:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपन्नको न्यायिक लडाइँमा प्रशासनकै छेकबार

Read Time : > 6 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ पौष १९ सोमबार ०६:३२:००

स्थानीय ठेकेदार इन्द्रजित राउतले भारतमा लगेर बँधुवा मजदुर बनाएका सर्लाहीका पीडित न्यायका लागि दुई महिनादेखि स्थानीय प्रशासन र प्रहरी कार्यालय धाइरहेका छन् । तर, न्याय माग्दै सरकारको दैलोमा पुगेका उनीहरूको उजुरीसमेत लिइएन । बरु हरेकपटक सिडिओ र एसपीले हप्कीदप्कीसँगै दुर्वचन बोलेर अपमानित गरे ।

स्थानीय ठेकेदार इन्द्रजित राउतले भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा बँधुवा मजदुर बनाएका सर्लाही चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका तीन युवा मृत अवस्थामा फर्काइएपछि पीडित परिवार न्याय माग्दै दुई महिनादेखि सरकारी अड्डा धाइरहेका छन् । राउतले दिएको यातना र अखाद्य पदार्थका कारण बिरामी परेर जीवनमरणको दोसाँधमा फर्काइएका सात युवाका परिवार पनि उनीहरूसँगै न्यायको खोजीमा छन् । र, सँगसँगै आफ्ना मान्छेको उद्धार गरिदिन गुहार माग्दै छन् अझै भारतमै बन्धक बनाइएका २२ युवाका परिवार । 

तर, अन्यायले आहत भएर राहत खोज्न पटकपटक प्रशासन र प्रहरीको दैलो टेकेका उनीहरू हरेकपटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखको हप्की खाँदै र दुर्वचन सहँदै घर फर्किन बाध्य छन् । घटना भारतमा भएकाले नेपालको प्रशासन र प्रहरीले केही गर्न नसक्ने गैरजिम्मेवार जवाफ मात्रै होइन, ठेकेदारसँग राजीखुसीले नै काम गर्न गएकाले अहिले उसैलाई कारबाहीको माग गर्नु बेतुक भएको भन्दै पीडितलाई कमजोर बनाउन भूमिका खेलेका छन् । सिडिओले अहिलेसम्म निवेदन बुझ्न मानेका छैनन् भने प्रहरीले उजुरी स्विकारेको छैन । 

चिस्यान केन्द्रमा मृत्यु भएका ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलको शव ९ कात्तिकमा र कामत गाउँका नन्दलाल र जगदीशको शव १० कात्तिकमा घरमा ल्याइएको थियो । शवसँगै बिरामी हालतमा फर्काइएकाहरूले ठेकेदारका मान्छेले अखाद्य पदार्थ खुवाएर पशुवत् रूपमा काममा लगाउँदा मृत्यु भएको बताएपछि पीडित परिवारले तत्काल छानबिनको माग गरेका थिए । तर, प्रहरीले शव पोस्टमार्टम गर्नसमेत अस्वीकार गर्दै सद्गद्का लागि दबाब दिएर त्यतिवेलै घटना सामसुम पार्न खोजेको मृतक जगदीशका बुबा महिन्द्र माझीले बताए । 

‘१० कात्तिकको बिहान ठेकेदारका मान्छेले आँगनमा ल्याएर छोराको लास लडाइदिए । घरमा सबै रुन–कराउन थाले । म बुढो मान्छे के गर्नु ? ठेकेदारले घरबाट लगेको छोरा हो, मलाई छोरा नै चाहिन्छ भनेर चिच्याएँ । म लास बुझ्दिनँ भनेर झगडा गरेँ । त्यसपछि उनीहरूले पुलिस बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय केशरगन्जका पुलिस हाकिम आएर लास बुझ्न र सद्गद् गर्न दबाब दिए,’ उनले त्यो दिन सम्झिँदै सुनाए । 

त्यतिवेलै महिन्द्रको छिमेकी गोनौर माझीको घरमा पनि रुवाबासी थियो । जगदीशसँगै चिस्यान केन्द्रमा जीवन गुमाएका नन्दलालको शव पनि ठेकेदारका मान्छेले सँगै ल्याएर परिवारको जिम्मा लगाएका थिए । महिन्द्र र गोनौरका लागि छोराहरूको मृत्यु धर्ती भासिएबराबर थियो । उनीहरू शव पोस्टमार्टम गरेर मृत्युको यथार्थ कारण बुझ्न चाहन्थे । 

ठेकेदारका मान्छेले अब पैसाको लोभ देखाए । दुवै मृतकका परिवारलाई दुई–दुई लाख दिने प्रस्ताव गरे । तर, महिन्द्रलाई छोराको नाममा अझै एक लाख ५० हजार ऋण रहेको भन्दै सद्गद्का लागि ५० हजार मात्रै दिने बताएका थिए । उनले अस्वीकार गरे, छोराको न्यायका लागि लड्ने निधो गरे । ‘मलाई विश्वास थियो– पोस्टमार्टम रिपोर्टले घटनाको यथार्थ थाहा हुन्छ र पीडकलाई कारबाही हुन्छ । त्यसैले पोस्टमार्टमका लागि हारगुहार गरेँ । तर, प्रहरी र ठेकेदारका मान्छेले दबाब दिन छाडेनन् । राति ९ः३० बजे फेरि गाउँ नै घेरेर दबाब दिए । तर, गाउँका सबैले पोस्टमार्टमविना लास नबुझ्ने भन्दै एक स्वरमा कराएपछि उनीहरू पछि हटे । राति ११ बजेतिर केशरगन्ज इलाका प्रहरी कार्यालयका निरीक्षक जनकराज ढुंगानाले लास परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा लैजान निर्देशन दिए,’ महिन्द्रले भने, ‘११ कात्तिकको साँझ ५ बजे पोस्टमार्टम भयो । त्यसपछि न्याय पाइने आसमा लास बुझेर परम्पराअनुसार सद्गद् गर्‍र्यौँ ।’ 

१२ कात्तिकमा मृतक जगदीश र नन्दलालका परिवार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै इलाका प्रहरी कार्यालय केशरगन्ज पुगे । तर, न्यायको लडाइँमा प्रहरीले फेरि छेकबार लगाउने दुष्प्रयास गर्‍यो । ‘घटना भारतमा भएकाले मुद्दा दर्ता आफूहरूको क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रहरीले हामीलाई फर्काए,’ महिन्द्रले भने । 

१३ कात्तिकमा निवेदन लिएर जिल्ला प्रहरी कार्यालय उनीहरू मलंगवामा पुगे । मुद्दा फाँटका प्रहरीले फेरि केशरगन्जमै निवेदन दर्ता हुने भन्दै फिर्ता पठाइदिए । तर, केशरगन्जका प्रहरी प्रमुखले अस्पतालमा उपचाररत बिरामीलाई पैसा तिरेर निकाल्न अनि गाउँमा सबै छलफल गरेर आउन भन्दै निवेदन दर्ता गरेनन् ।
शवसँगै बिरामी अवस्थामा आएका सातमध्ये पाँचजनाको त्यतिवेला ईश्वरपुरस्थित गोदावरी वेलकेयर हस्पिटलमा उपचार भइरहेको थियो । उनीहरूलाई अस्पतालमा राखेको चार दिन भइसकेको थियो । एक लाख ५५ हजारको बिल उठेको भन्दै तिर्न चौतर्फी दबाब भइरहेको थियो । 

‘हामीसँग त्यत्रो पैसा थिएन । गाउँमा चन्दा उठाउँदा ५० हजार जम्मा भयो । १४ कात्तिकमा त्यही पैसा बुझाएर बाँकी पछि दिने भन्दै इलाका प्रहरी कार्यालयकै एक प्रहरीको रोहवरमा उनीहरूलाई अस्पतालबाट निकाल्यौँ । दुई दिनमा उपचार सकिएका बिरामीलाई पैसा तिर्न नसक्दा अस्पतालले तीन दिन बन्धक बनाएको थियो,’ उनले भने । १५ कात्तिकमा पुनः जिल्ला प्रहरी कार्यालय पुगेका पीडितहरूलाई हाकिम छैनन् भन्दै फर्काइयो । 

प्रहरीले आलटाल गरेपछि १६ पुसमा उनीहरू जिल्ला प्रशासन कार्यालय पुगे । तर, तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले ठेकेदारका मान्छेसँग छलफल गरेर गाउँमै मिलापत्र गर्न भन्दै फर्काइदिए । तीन दिनपछि १९ कात्तिकमा स्थानीय दलका नेता लिएर जाँदा पनि सिडिओले उही जवाफ दिएको महिन्द्रले बताए ।

‘प्रहरीले त आनाकानी गरेकै थियो, सिडिओले पनि विदेशको घटना भएकाले प्रशासनमा धाउनुभन्दा ठेकेदारसँग मिल्न भनेपछि हाम्रो न्यायिक लडाइँमा सरकारी अड्डा नै तगारो बनेको बुझ्यौँ,’ उनले भने, ‘तर, एक–दुई कर्मचारी नै सिंगो राज्य होइन भनेर न्यायको लडाइँ छाडेनौँ । २० कात्तिकमा दलित अधिकारकर्मीसहित गएर सिडिओलाई ज्ञापनपत्र बुझायौँ । २३ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गयौँ, तर निवेदन लिएनन् ।’ 

२४ कात्तिकमा फेरि जिल्ला प्रशासन जाँदा सिडिओ खतिवडाले केही गर्न नसक्ने निर्णय सुनाएपछि उनीहरू प्रशासन र प्रहरी कार्यालय जान छाडे । थप आन्दोलन कसरी गर्ने भनेर छलफलमा बसे । विभिन्न पक्षको छलफलपछि उनीहरू २७ मंसिरदेखि जिल्ला प्रशासन कार्यालयको गेटमै धर्ना दिन थालेका छन् । सोमबारदेखि खतिवडाको ठाउँमा नयाँ सिडिओ थानेश्वर गौतम आएका छन्, तर उनीहरूको माग सम्बोधन हुने छाँटकाँट छैन । 

भारतमै बन्धक रहेका सिकिन्दर माझीकी श्रीमती केवला देवीको बिलौना–श्रीमान् पठाइदेऊ भन्दा ठेकेदारको भाइले ५० हजार ऋण नतिरी मिल्दैन भन्यो 
कामत गाउँका सिकिन्दर माझी भारतको चिस्यान केन्द्रमा बन्धक अवस्थामै छन् । श्रीमती केवला देवी श्रीमान्को उद्धार गरिदिन भन्दै सरकारी निकाय चहारिरहेकी छिन् ।उनका अनुसार केही समयअघि ठेकेदार इन्द्रजित राउतका भाइ लक्ष्मी राउतसँग भेट भएको थियो । लक्ष्मीसँग आफ्ना श्रीमान् झिकाइदिन आग्रह गर्दा ५० हजार ऋण तिर्न बाँकी रहेकाले त्यो चुक्ता भएपछि मात्रै आउन पाउने जवाफ दिएको उनले बताइन् । 

‘उनीहरूले मेरा श्रीमान्लाई भारतमा काममा लगाएको ११–१२ वर्ष भइसक्यो । सुरुमा दुई–तीन हजार दिएर लगेको थियो । केही समयअघि इन्द्रजितको भाइ लक्ष्मी राउतसँग भेट हुँदा श्रीमान्लाई फिर्ता पठाइदिनू भनेँ । उसले ५० हजार ऋण छ, त्यो नतिरी मिल्दैन भन्यो । दुई–तीन हजार लिएर गएको मान्छे, त्यत्रो वर्ष काम गर्दा पनि कसरी ५० हजार ऋण लाग्यो ? जब कि घरमा पनि खासै पैसा पठाएको छैन ।’ गाउँका तीनजनाको शव र सातजना सिकिस्त अवस्थामा आएपछि श्रीमान्सँग फोनमा पनि कुराकानी हुन नपाएको उनले सुनाइन् । 

साढे दुई महिनासम्म आएन पोस्टमार्टम रिपोर्ट 

पीडितले शवको पोस्टमार्टमको माग गर्दा प्रहरीले त्यत्तिकै सद्गद्का लागि दबाब दिएको थियो । पछि पोस्टमार्टमका लागि तयार भएपछि परिवारले शव जलाए । तर, पोस्टमार्टम रिपोर्टबारे पीडितलाई प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन ।लामो समयसम्म पोस्टमार्टम रिपोर्ट नआएकोबारे जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईंलाई सोध्दा भिसेरा परीक्षणका लागि पठाइएको बताए । ‘जिल्ला अस्पताल मलंगवामा गरिएको पोस्टमार्टमले भिसेरा परीक्षण गर्न भनेको छ । त्यसैले ११ कात्तिकमा भिसेरा परीक्षणका लागि पठाइएको छ । पूरा रिपोर्ट नआएसम्म कसरी भन्ने ?’ उनले भने । 

निवर्तमान सिडिओ बाबुराम खतिवडाको गैरजिम्मेवार तर्क– विदेशमा दैनिक मृत्यु भएर चारवटा लास आउँछ, त्रिभुवन विमानस्थलमा तिनीहरूका परिवारले धर्ना बसे के गर्ने ?
गत सोमबारदेखि हाजिर भएका नयाँ सिडिओ थानेश्वर गौतम भन्छन्– घटनाबारे बुझ्दै छु

पीडितहरूले सर्लाहीका निवर्तमान सिडिओ बाबुराम खतिवडालाई पटक–पटक भेटेर न्यायका लागि गुहार गरे । तर, उनले पीडितको निवेदन नै अस्वीकार गर्दै आए । गत साता सरुवा हुनुअघि उक्त घटनाबारे नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनेका थिए, ‘मैले तपाईंलाई भनेँ– देशभर एक दिनमा कति मान्छे मर्छन् ? सबै मृतकका परिवार धर्नामा बसे भने प्रमुख जिल्ला अधिकारीले के गर्ने ? उहाँहरूको मान्छे इन्डियामा मरेको हो । विदेशमा दैनिक मृत्यु भएर चारवटा लास आउँछन् । त्रिभुवन विमानस्थलमा तिनीहरूका परिवारले धर्ना बसे के गर्ने ?’ तर, मुलुकी अपराध संहिता, २०७४ ले देशबाहिर कुनै नेपालीले कुनै नेपाली नागरिकलाई बन्धक बनाउने, हत्या वा त्यस्तो आशयका घटना गरे नेपालमा गरेसरह कानुन लाग्ने व्यवस्था उल्लेख छ ।सोमबारबाट जिल्लामा हाजिर भएका नयाँ सिडिओ थानेश्वर गौतमले भने घटनाबारे आफूले सुनेको र विस्तृतमा बुझ्ने क्रममा रहेको बताए । 

सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईं भन्छन्–घटनास्थल भारत भएकाले यहाँ ठेकेदारमाथि कारबाहीको कुनै प्रक्रिया नै चल्दैन
ठेकेदारले उनीहरूलाई राजीखुसीले नै काम गर्न भारत लगेको देखिन्छ । त्यसमाथि घटना नै भारतमा भएकाले यहाँ ठेकेदारविरुद्ध कारबाहीको कुनै प्रक्रिया नै चल्दैन । त्यहाँ बन्धक बनाइएको भनिएका मान्छेहरू पनि आनन्दले काम गरेको रिपोर्ट छ । त्यसैले पीडित भनेर केही मानिसको उक्साहटमा धर्ना बसेर हुँदैन । यस्ता धर्नाले केही हुनेवाला छैन । 

मृतक जगदीशका बुबा महिन्द्र माझीको बिलौना– न्याय गरिबले पाउने चिज होइन रहेछ
महिन्द्र माझी मृतक जगदीशका बुबा

१० कात्तिकको बिहान ठेकेदारका मान्छेले आँगनमा ल्याएर छोराको लास लडाइदिए । घरमा सबै रुन–कराउन थाले । म बुढो मान्छे के गर्नु ? ठेकेदारले घरबाट लगेको छोरा हो, मलाई छोरा नै चाहिन्छ भनेर चिच्याएँ । लास बुझ्दिनँ भनेर झगडा गरेँ । त्यसपछि उनीहरूले इप्रका केशरगन्जबाट पुलिस बोलाएर लास बुझ्न र सद्गद् गर्न दबाब दिए, मैले मानिनँ । मलाई विश्वास थियो– पोस्टमार्टम रिपोर्टले घटनाको यथार्थ थाहा हुन्छ र पीडकलाई कारबाही हुन्छ । त्यसैले पोस्टमार्टमका लागि हारगुहार गरेँ । तर, प्रहरी र ठेकेदारका मान्छेले दबाब दिन छाडेनन् ।

राति ९:३० बजे फेरि गाउँ नै घेरेर दबाब दिए । तर, गाउँका सबैले पोस्टमार्टमविना लास नबुझ्ने भन्दै एक स्वरमा कराएपछि जिल्ला अस्पताल मलंगवा लगेर ११ कात्तिकको साँझ ५ बजे पोस्टमार्टम गरियो । त्यसपछि न्याय पाइने आसमा लास बुझेर परम्पराअनुसार सद्गद् गर्‍यौँ । तर, त्यसपछि कानुनी प्रक्रियाका लागि पटक–पटक धाउँदा पनि प्रहरीले उजुरी नै लिन मानेको छैन । जिल्ला प्रशासन कार्यालयले पनि निवेदन लिन अस्वीकार गर्दै आएको छ । आजसम्म पोस्टमार्टम रिपोर्ट पनि के आयो थाहा छैन । छोराको न्यायका लागि कहाँ पुगिनँ ? न्याय गरिबले पाउने चिज होइन रहेछ ।

प्रशासन र प्रहरीले उजुरीसमेत नबुझेपछि २१ दिनदेखि जिल्ला प्रशासनमा पीडितहरूको धर्ना

जिल्ला प्रशासन कार्यालय सर्लाहीको गेटअगाडि धर्ना दिँदै पीडित र उनीहरूका परिवार

पीडितहरू घटनाको तथ्यसत्य छानबिन गरी दोषी ठेकेदारमाथि कारबाही गर्न माग गर्दै केशरगन्ज इलाका प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक धाए । तर, उनीहरूको निवेदन नै अस्वीकार भएपछि २७ मंसिरदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटमै पाल टाँगेर धर्ना दिन थालेका छन् । 

तर, अनाहकमा सन्तान गुमाएर न्याय खोज्न ढोकैमा पुग्दासमेत अगाडिबाटै ओहोरदोहोर गर्ने सिडिओ देखे–नदेख्यै गर्छन् । छोरा सुमन भुजेलको मृत्युमा मर्माहत निरु भुजेल राज्यको हेपाइबाट झन् प्रताडित छिन् । ‘विगतमा कहिल्यै घरबाट टाढा नहिँडेकी म छोराको न्यायका लागि प्रहरी र प्रशासनको चोटाकोठा चहारिसकेँ । हामी निमुखा बोल्न जान्दैनौँ । गरिब भएर त होला नि हाम्रो व्यथा कसैले सुन्नै नचाहेको !’ उनले निराशा पोखिन्, ‘जहाँ गए पनि धपाउन मात्र खोज्छन् । तर, छोराको मृत्युको कारण पत्ता लगाएर दोषीलाई कारबाही नभएसम्म कसरी घरमा बस्न सकिन्छ र ?’ 

अधिकांश पीडित कोसौँ टाढा कामत गाउँबाट दिनहुँ हिँडेरै जिल्ला प्रशासन आइपुग्छन् र अबेरसम्म धर्नामा बसेर निराश हुँदै फर्किन्छन् । ज्याला–मजदुरी गरेर जीवन गुजार्ने उनीहरू बसभाडा तिर्ने पैसा नहुँदा पैदलै आउने–जाने गरेका हुन् । दुई महिनासम्म न्यायिक प्रक्रियासमेत सुरु नहुँदा मृतक जगदीश माझीका बुबा महिन्द्र माझी पनि निराश छन् । ‘छोराको न्यायका लागि कहाँ पुगिनँ ? जनकपुरस्थित मानव अधिकार आयोगमा समेत पुगेर गुनासो गरेको छु । न्याय गरिबले पाउने चिज होइन रहेछ,’ उनले भने । 

मृतक नन्दलालकी श्रीमती सियान्ती देवी पनि श्रीमान्को न्यायका लागि काखे बच्चा च्यापेर प्रहरी र प्रशासनको दैलो धाइरहेकी छिन् । ‘कसरी न्याय पाइन्छ ? कसैले हाम्रो कुरा सुन्दैनन् । बुढा भइसकेका ससुरा (गोनौर माझी) मजदुरीमा हिँड्नुभएको छ, म न्यायका लागि भौँतारिएकी छु,’ उनले भनिन् ।