रसुवामा ७६ प्रतिशत पुनर्निर्माण

२०७५ फाल्गुण २२ बुधबार ०७:१३:००

रसुवामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन् । भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा जिल्लामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ रसुवाका प्रमुख भरत थापाले आइतबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएका हुन् । १२ हजार ४ सय ९२ जना लाभग्राहीमध्ये ९ हजार ४ सय ५७ जनाले आवास निर्माण सम्पन्न गरेको थापाले बताए ।


जिल्लाका पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम गोसाइँकुण्ड गाउँपालिकामा आवास निर्माण भएको थापाले बताए । नौकुण्ड गाउँपालिकाका ३३ सय ४९ लाभग्राहीमध्ये २ हजार ८ सय ६५ घर निर्माण सम्पन्न भएका छन् । यस्तै, २५ सय ६९ लाभग्राही रहेको कालिका गाउँपालिकामा २१ सय ७७ घर निर्माण सम्पन्न भएका छन् ।