निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
राणा अड्ढयुब
२०७८ पौष १६ शुक्रबार ०८:०१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मुसलमान नरसंहारको आह्वानमा मोदीको मौन समर्थन 

Read Time : > 2 मिनेट
राणा अड्ढयुब
२०७८ पौष १६ शुक्रबार ०८:०१:००

धार्मिक सम्मेलनमा गरिएका हिंसा र नरसंहारको आह्वानबारे प्रधानमन्त्री मोदीलगायत नेताको मौनता त्यसको समर्थन हो भन्नेमा सन्देह छैन


पहिलोपटक जब हाम्रा साथीहरू मारिएको खबर आयो कहालीलाग्दो रुवाबासी नै चल्यो । त्यसपछि सयजना मारिए । तर, जब हजारौँको हत्या भयो र हत्याको सिलसिला रोकिएन, तब निस्पट्ट मौनताको च्यादरले सबै छोप्यो । जब दुष्कर्म वर्षाझैँ बर्सिन्छ, तब कसैले यो दुष्कर्मलाई ‘रोक !’ पनि भन्दैन ।’  

जब यही महिना भएका धार्मिक सम्मेलनमा हिन्दू राष्ट्रवादीका नेताहरूले दिएका डरलाग्दा भाषण आए, जहाँ मुसलमानविरुद्ध नरसंहारका लागि प्रत्यक्ष आह्वान गरियो, त्यहाँ जर्मन कवि र नाटककार बर्तोल्ट ब्रेख्तले लेखेका माथिका यी पंक्ति मेरो मानसपटलमा आए ।

नयाँदिल्लीबाट एक सय ५० किलोमिटर उत्तरमा रहेको हरिद्वारमा भएको धर्म संसद् अर्थात् हिन्दू सम्मेलनमा उग्रवादी संगठन हिन्दू महासभाकी नेतृ पूजा शकुन पाण्डेले ‘यदि हामीमध्ये सयजना तिनी (मुसलमान) मध्येका २० लाखलाई मार्न तयार हुन्छौँ भने हामी जित्नेछौँ’ भन्दै घृणा ओकलेकी थिइन् । त्यो सम्मेलनमा उनले ‘मार्न र जेल जान तयार हुनुहोस्’ समेत भनेकी थिइन् । त्यही कार्यक्रममा अर्को हिन्दुत्व नेताले म्यानमारका रोहिंग्या मुसलमान लखेट्न तीविरुद्ध गरिएको नरसंहारलाई नमुनाका रूपमा पेस गरेका थिए । यो आततायी घटनालाई मिडियाले खुलेरै प्रसारण गरेका थिए ।

हिन्दू सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दलका सदस्यहरू पनि उपस्थित थिए । सो सम्मेलनका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सम्मेलनका सहभागीले भारतलाई हिन्दू राष्ट्र बनाउने संकल्प गरेका छन् । स्वाभाविक रूपमा हिंसा र संहारको आह्वानका सन्दर्भमा प्रधानमन्त्री मोदीलगायत नेताहरू मौन रहे र यो मौनता समर्थन हो भन्नेमा कुनै सन्देह छैन ।  

भारतमा हिंसा भड्काउनु अपराध हो, तर पाण्डे र अन्य वक्ता भने स्वतन्त्र छन् । प्रहरीले यस मामिलामा अनुसन्धान गर्नुपर्ने हो, तर यसमा कारबाही गर्न धेरै ढिलासुस्ती भइरहेको छ, किनभने प्रहरीलाई यी घृणा ओकल्ने वक्तालाई शासक वर्गको संरक्षण छ भन्ने राम्रो थाहा छ । वास्तवमा यी हिन्दू नेता अब सन्तहरूको अर्धसैनिक बल गठन गर्न तयार छन् । उनीहरू यस बलबाट भारतका २२ करोड मुसलमान जनसंख्याविरुद्ध सशस्त्र लडाइँको नेतृत्व गर्ने दाबी गरिरहेका छन् ।

सम्मेलनको केही दिनपछि मोदीले चुनेका युवा नेता र भारतीय जनता पार्टी (भाजपा) का सांसद तेजस्वी सूर्यले भारतीय मुसलमान र इसाईलाई ‘मातृ धर्म’ अर्थात् हिन्दू धर्ममा फर्काउन आह्वान गरेका थिए । पछि उनले आफ्नो टिप्पणी फिर्ता लिने प्रयास गरेका थिए । नरसंहार र जातीय सफायाको आह्वान हाम्रो राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ । आखिर भारतमा के भइरहेको छ ? अहिंसात्मक प्रतिरोधका विश्वव्यापी प्रतीक मोहनदास करमचन्द गान्धीको हत्या गर्ने हिन्दू राष्ट्रवादीलाई राष्ट्रियस्तरका नेताहरूले महिमामण्डन गरिरहेका छन् । 

मुसलमानलाई सडकमा भिडले पिटेर मारिरहेका छन्, क्रिसमस मनाउनेमाथि आक्रमण गरिएको छ । सरकारले मानवअधिकारका प्रतीक एवं नोबेल पुरस्कार विजेता मदर टेरेसाको परोपकारी संस्थालाई अन्तर्राष्ट्रिय चन्दा लिनबाट वञ्चित गरेको छ । एक दक्षिणपन्थी राष्ट्रवादी समाचार च्यानलका प्रभावशाली मालिक सुरेश च्वहाणके मिडियाका सामुन्ने १९ डिसेम्बरमा राष्ट्रिय राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा भारतलाई ‘हिन्दू राष्ट्र’ बनाउन ‘लड्न, मर्न र आवश्यकता परे मार्न’ भनेर मानिसलाई आह्वान गरिरहेका छन् र प्रहरी हेरेकोहेर्‍यै छ । 

कानुन लागू गर्ने निकाय सामूहिक हत्याको आह्वान गर्ने उग्रवादीलाई गिरफ्तार गर्नुको साटो ट्विटरमा आलोचनात्मक टिप्पणी गर्ने पत्रकार वा संदिग्ध रूपमा गाँजा बोकेको आरोपमा आलोचनात्मक छवि भएका सार्वजनिक व्यक्तित्वका सन्तानलाई तारो बनाइरहेका छन् । आफ्नो आस्थाका लागि निसाना बनाइएका मुसलमान सहकर्मीका पक्षमा बोल्दा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफ्नो कप्तानी गुमाएका छन् । आखिर भारतमा के भइरहेको छ, जहाँ बहुसंख्यक हिन्दू समुदाय आफ्नो नाममा फैलाइँदै गरिएको आतंकवादी क्रियाकलापलाई अस्वीकार गर्न असफल भइरहेका छन् ? 

माथिका घृणाका सिलसिलेवार घटना हेर्दा यो प्रश्नको उत्तर एकदमै स्पष्ट छ । भारतमा अल्पसंख्यकमाथि आक्रमण गर्न भिडलाई पूरा छुट छ । मोदीको मौनताले मात्रै होइन, हाम्रा साझेदारहरूको मौनताले पनि भारतलाई खतरामा पार्ने तत्वहरूको मनोबल बढाएर सहयोग गर्दै छन् । यो महिनाको सुरुवातमा राष्ट्रपति बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी’ अर्थात् लोकतन्त्रका लागि शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र धर्मनिरपेक्षता एवं बहुलवादी लोकाचारमा सर्वोत्कृष्ट भएको दाबी गरेका थिए । तर, विश्वले मोदी र उनको पार्टीले आफ्नो प्रभुत्व जमाउन धम्की, घृणाका माध्यमबाट राजनीतिक वक्तव्यबाजी (डग ह्विसलिङ) र हिंसामा निर्भर रहेको स्पष्ट रूपमा अनुभव गरेको छ । याद रहोस्, यी सब नरसंहारका आह्वान राज्य तहका निर्वाचनको सन्दर्भमा भइरहेका छन् । के यसरी नै बाइडेन र उनका साझेदार ‘लोकतन्त्र’को उत्कृष्टताको प्रचार गरिरहेका छन् ?  

मोदीले दशकौँदेखि यस्तै घृणाको खेती गर्दै आएका छन् । हामीलाई राम्रोसँग थाहा छ, भारतमा के भइरहेको छ भनेर । हामीसँग अब के होला भनेर त्रसित हुनुबाहेक कुनै विकल्प छैन । द वासिंगटन पोस्टबाट