१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी भएकी थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताएका छन्। 

‘उहाँहरूले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो। अध्यक्ष क. प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनले भने, ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरूबीचको सहकार्य र एकता, आगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरूबीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो।’

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए। 

विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधानविरोधी, पार्टीको विधान र सहकार्यको भावनाविरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउने नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य सम्भव नभएको बताएका नेता पुनले ओली गुणात्मक रूपमा रूपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने बताएका थिए। चिनियाँ पक्षले नेपालका वाम दलहरू एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए।

अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका नेता पुनले चिनियाँ पक्षको एमसिसी परियोजनाबारेको जिज्ञासाको समेत जवाफ दिएका थिए। एमसिसीबारे नेपालमा बहस चलिरहेको र गठबन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हितअनुकूल हुने गरी मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्ने नेपालको नीतिअनुरूप सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए।

बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपक्षीय भेटवार्तामा जुटेका हुन्। 

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा नेता पुन वंगाणुगत तथा विश्वमा विरलै देखिने जन्डिस रोगका कारण झन्डै तीन महिनादेखि चीनमा उपचाररत छन्। उपचारका लागि केही परीक्षण थाती राखेर अधिवेशन उद्घाटनअघि नै नेपाल आउन चाहेका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समय तय भएकाले अनुपस्थित भएका  हुन्। उनी अहिले पनि अध्यक्ष प्रचण्डसँग दैनिक सम्पर्कमा रहेका छन् भने महाधिवेशन प्रतिनिधि र अन्य नेताहरूसँग पनि छलफल गरिरहेका छन्।

चिकित्सकको सल्लाहपछि अब चाँडै नेपाल फर्कने उनले जानकारी दिएका छन्। जन्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्रान्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।

ad
ad