१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोनामा अभिभावक गुमाएकालाई निःशुल्क शिक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३६:oo

कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरूको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीच कांग्रेस महामन्त्री गगनकुमार थापा र डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रूपमा अभियानको औपचारिक घोषणा गरे। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिसहोम परिवारले आर्थिक व्यवस्थापन गर्ने कार्यक्रममा जानकारी दिइयो।  

कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरू कयौँ समस्या भए पनि बालबालिकाका शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरू अभियानमा जुटेको बताए। महामारीका कारण परिवार गुमाएकाहरूको मुख्य जिम्मेवारी राज्यकै भए पनि सचेत नागरिकहरूले व्यक्तिगत वा संस्थागत रूपमा योगदान गर्न जरुरी रहेको उनले औँल्याए। ‘कोभिड महामारीको दुवै लहरमा धेरैका आफन्त गुमेका छन्। त्यस्ता परिवारका अरू थुप्रै समस्या छन्। तर, पैसाका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा शिक्षा पाउने वातावरण बन्यो भने त्यो नागरिकको समाजमाथिको भरोसा बढ्छ,’ थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघाए भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ।’ 

डिसहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुने सक्ने अरू सम्भावित महामारीका कारण अभिभावक गुमाएकाका बालबालिकालाई पनि समेट्ने सोच आफूहरूले बनाएको बताए।

एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिसहोमले गर्नेछ।  डिसहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर/सब डिलरबाट ४० लाख रुपैयाँ संकलन गरिएको जानकारी प्रबन्ध निर्देशक आचार्यले दिए।  आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकांकमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ अन्तर्गतका जिल्लालाई प्राथमिकतामा राखिनेछ। फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाहरूको तथ्यांक संकलन गर्ने र सोही तथ्यांकका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ। छात्रवृत्ति पाउने विद्यार्थीलाई डिसहोम सञ्जालमार्फत  रकम प्रदान गरिनेछ। विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन्। छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ।  

ad
ad