१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन कार्यालयमा परिचयपत्र बनाउनेको भिड, परिचयपत्र बनाउन स्थानीय नेताहरू सक्रिय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo

नेपालगन्ज उपमहानगरपालिका– १९ वसुदेवपुरकी ७८ वर्षीया सुन्तली गिरीले पहिलोपटक मतदाता परिचयपत्र बनाएकी छिन्। अहिलेसम्म मतदानमा सहभागी नभएकी उनले जिल्ला निर्वाचन कार्यालय बाँकेमा आएर मतदाता परिचयपत्र बनाएकी हुन्।

उनीसँगै सोही स्थानकी ५५ वर्षीया लीला रानाले पनि मतदाता परिचयपत्र बनाएकी छिन्। मतदाता परिचयपत्र नभएकै कारण उनले यसअघिको निर्वाचनमा मतदान गर्न पाइनन्। मतदाता परिचयपत्र बनाउन छुटेकाले आफूलाई मन परेको नेतालाई भोट हाल्न नपाएको बताउँदै उनले आगामी निर्वाचनमा विकासको खाका लिएर आउने नेतालाई मत दिने स्पष्ट पारिन्। ‘सबैले आ–आफ्नो मन परेको नेतालाई मत दिए। मैले दिन नपाउँदा पछुतो लाग्यो,’ उनले भनिन्, ‘यसपालि कसैको कुरा नसुनी आफ्नो मन परेको उम्मेदवारलाई निर्धक्कसँग भोट हाल्छु ।’

मतदाता परिचयपत्र बनाउन आएका खजुरा गाउँपालिका– ७ सिमलघारीका ५२ वर्षीय उपेन्द्र विष्ट पनि आइतबार जिल्ला निर्वाचन कार्यालयमा भेटिए। आफ्नो र २२ वर्षीया छोरी गौमती विष्टको मतदाता परिचयपत्र बनाउन नेपालगन्ज आएको उनले बताए। कार्यालय नखुल्दै आए पनि पालो नपाएको बताउँदै उनले जस्तोसुकै गाह्रो भए पनि यसपालि मतदाता परिचयपत्र बनाएर मात्र फर्कने उनले बताए। 

नेपालगन्ज उपमहानगरपालिका– १९ फाराम टोलकी २५ वर्षीया वसन्ती खड्का पनि मतदाता परिचयपत्र बनाउनेहरूको लाइनमा भेटिइन्। उनले अध्ययनका लागि बाहिर रहेकाले परिचयपत्र बनाउन नभ्याएको सुनाइन्। ‘अब त जसरी भए पनि बनाउनुपर्छ भन्ने लाग्यो र परिचयपत्र बनाउन साथीसंगीसँग नेपालगन्ज आएँ,’ उनले भनिन्। 

एकै दिन पाँच सयले बनाए परिचयपत्र
स्थानीय तहको निर्वाचन नजिकिएपछि निर्वाचन कार्यालयमा मतदाता परिचय बनाउनेको ठूलो भिड लाग्ने गरेको छ। भिडमा भर्खरै १८ वर्ष पुगेकादेखि ८० वर्ष पूरा गरेका ज्येेष्ठ नागरिक पनि भेटिए।

प्रमुख निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले आइतबार झन्डै पाँच सयजनालाई नयाँ परिचयपत्र वितरण गरिएको र एक सय ५० जनाको मतदाता परिचयपत्र अद्यावधिक गरिएको जानकारी दिए। उनले बिहीबार र शुक्रबारको तुलनामा आइतबार तीन गुणा धेरै मानिस आएकाे बताए। ‘आइतबार भिड थामिनसक्नु थियो। भिड व्यवस्थापन गर्न कर्मचारीलाई हम्मेहम्मे पर्‍याे,’ उनले भने, ‘निर्वाचन घोषणा भइहाल्छ कि भन्ने डरले पछिल्लो समय धेरै सर्वसाधारण आउन लागेको देखिन्छ।’

मतदाता परिचयपत्र बनाइदिन नेताहरू सक्रिय
आफ्नो मतदाता संख्या बढाउन स्थानीय नेताहरूले सर्वसाधारणलाई निर्वाचन कार्यालयमा ल्याउने गरेका छन्। एकजना नेताले ५० देखि सयजनालाई ल्याउने गरेका खजुरा गाउँपालिका– ७ सिमलघारीका दीपेन्द्र बुढाले सुनाए। उनले आफ्नो गाउँबाट मात्र ७० जना नेपालगन्ज आएको बताए। 

नेपालगन्ज उपमहानगरपालिका– १९ वसुदेवपुरकी वसन्ती खड्काले पनि परिचयपत्र बनाउन आफूलाई स्थानीय नेताले निर्वाचन कार्यालयमा ल्याएको बताइन्। आ–आफ्नो भोट बढाउन स्थानीय नेताले परिचयपत्र बनाउन नेपालगन्ज ल्याउने गरेको उनको भनाइ छ। ‘छुटफुट भएका सबैलाई नेताहरूले नेपालगन्ज ल्याउने गरेका छन्,’ उनले भनिन्।

नेपालगन्ज उपमहानगरपालिका– १२ का स्थानीय नेता विश्वसेन गौतमले पनि आफूले ७० जनालाई लिएर आएको बताए। उनले आफूले ल्याएका सबैको नागरिकताको फोटोकपी आफैँले गरिदिएको बताए। ‘फोटोकपीमा मात्र ६ सय रुपैयाँ खर्च भइसक्यो,’ उनले भने।
 

ad
ad