१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ १ मंगलबार ११:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : सर्लाही ३ नम्बरसहित दुई क्षेत्रमा संस्थापन पक्ष विजयी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४७:oo

क्षेत्र नम्बर ३ सहित सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ। जिल्लाका दुई क्षेत्रमा इतर पक्षले बाजी मारेको छ। शुक्रबार ३ नम्बर क्षेत्रको मतगणना सम्पन्न भएसँगै सर्लाहीमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। बिहान सम्पन्न मतगणनाअनुसार ३ नम्बर क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिमा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो।

प्राप्त मतपरिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापनका पुण्यहरिप्रसाद घिमिरेले तीन सय ९६ मत प्राप्त गरे भने इतरतर्फका उम्मेदवार भिखारी रायले तीन सय ७४ मत पाए। यस्तै, क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षका २५ मध्ये २४ जनाको प्यानल नै विजयी भएको छ। एकजना इतर पक्षबाट विजयी भएका छन्। संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्षसमेत रहेका राम अयोधी राय पराजित भएका हुन्। रायले ३४९ मत प्राप्त गरेका निर्वाचन अधिकारीको कार्यलयले जनाएको हो।

इतरसमूहबाट विनोदप्रसाद खनाल मात्र महाधिवेशन प्रतिनिधिका रूपमा चार सय तीन मतसहित विजयी भए। निकै प्रतिस्पर्धात्मक बनेको सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा संस्थापनका हरेशप्रसाद महतो र इतरका खनाल प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए। योसँगै सर्लाहीमा संस्थापन र इतर पक्षले दुई–दुई क्षेत्रमा बाजी मारेका छन्। ४ क्षेत्र मध्ये १ र २ को इतर र ३ र ४ को मतपरिणाम संस्थापनको पक्षमा देखिएको छ।

यता आसन्न जिल्ला अधिवेशनका सभापतिको उम्मेदवार वर्तमान जिल्ला सभापति नागेन्द्रप्रसाद राय महाधिवेशन प्रतिनिधिको अधिवेशनमै पराजित भएपछि संस्थापन पक्षको जिल्ला सभापतिको उम्मेदवार को बन्ने भन्ने चर्चा सुरु भएको छ। कडा टक्करका बीच क्षेत्र नम्बर २ गुमाएको संस्थापन पक्षलाई ठूलो धक्का लागेको छ। उक्त क्षेत्रबाट हारेको संस्थापनले सम्भावित जिल्ला सभापतिका उम्मेदवारसमेत गुमाएको हो। उक्त क्षेत्रबाट मलंगवा नगरपालिका मेयर निरसल साह र बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

कांग्रेस दुई पक्षबी लामो समय चलेको कडा टकरावपछि शुक्रबार क्षेत्रीय अधिवेशन सम्पन्न भएकोे निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतका रूपमा आएका हुन्। यसअघि निर्वाचन अधिकृतका रूपका सर्लाही आएका तीनजनाले विवादका कारण राजीनामा दिएर फर्किएका थिए। कडा विवाद देखिएकोे चार वडामा अझै अधिवेशन बाँकी छ। क्षेत्र नम्बर ३ मा एउटा वडा र सबैभन्दा धेरै विवाद देखिएको ४ नम्बरमा तीनवटा वडाको विवादका कारण वडा अधिवेशन स्थगित भएको छ।

योसँगै जिल्लामा अब प्रदेश र जिल्लास्तरीय अधिवेशन गर्न बाँकी रहेको छ। दुवै अधिवेशन भने १४औँ केन्द्रीय महाधिवेशनपछि मात्र हुने यस पहिला नै तय भइसकेको छ। 

ad
ad