१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ मङ्सिर २० सोमबार ०७:४४:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेसका तीन पक्ष (अन्तर्वार्ता)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ मङ्सिर २० सोमबार ०७:४४:००

देउवाजीलाई सभापति मान्नेसँग सहकार्य हुन्छ : प्रकाशशरण महत (संस्थापन पक्ष)

प्रदेश अधिवेशनमा खास गरेर प्रदेश १ र बागमतीमा तपाईंहरूले सिटौला समूहसँग अघोषित समीकरण बनाएको देखियो, के आधारमा यस्तो बन्यो ?

अघोषित कहाँबाट भयो ? उहाँहरू (सिटौला समूह) अलग लड्नुभएको थियो, हामी अलग लडेका थियौँ । ५१ प्रतिशत कसैको पुगेन । उहाँहरू तेस्रो हुनुभयो । तेस्रोले समर्थन गरेको हो । त्यो अघोषित होइन, घोषित समर्थन हो । यसको आधार त इच्छामा भर पर्ने कुरा भयो । हामीले नगरतिर पनि समीकरण गरेका थियौँ । भीमसेनजीसँग नगरमा पनि सँगै काम भएको थियो । उहाँले सहयोगको पनि अपेक्षा गर्नुभएको थियो, तर प्रदेशमा सकिएन । उहाँ तेस्रो भएपछि पहिलो र दोस्रोको बीचमा चुनाव हुने भयो । त्यस्तो अवस्थामा उहाँले सँगै काम गर्नुभयो । 

प्रदेश अधिवेशनमा जे–जसरी समीकरण बन्यो, केन्द्रीय महाधिवेशनमा पनि यसले निरन्तरता पाउँछ कि ?

‘इन्ट्रेस्ट’अनुसार समीकरण बन्ने हो । त्यसकारण कुनै वेला एउटासँग, कुनै वेला अर्कोसँग हुने भयो । केन्द्रीय महाधिवेशनसम्म पनि हुन सक्छ । 

कांग्रेसभित्र अहिले महाधिवेशनकेन्द्रित मूलतः त्रिपक्षीय शक्तिसंघर्ष छ । समीकरण बनाउँदा तपाईंहरूका प्राथमिकता के रहन्छन् ?

प्राथमिकता त शेरबहादुर देउवा सभापतिमा लड्नुहुन्छ । त्यसमा अरू कोही जोडिन चाहे भने आउँछन् । सभापति त अरू हुने होइन । 

जहाँ उच्च पद पाइन्छ, त्यहीँ समीकरण हुन्छ : प्रदीप पौडेल (कृष्ण सिटौला पक्ष)

केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा प्रदेश अधिवेशनमा कांग्रेसको संस्थापन र तपाईंहरूको समूहबीच प्रदेश १ र बागमतीमा घोषित तालमेल देखियो । के आधारमा सहकार्य भयो ?

अहिले स्थानीय स्तरमा सहकार्य भएको हो । यसको भविष्य निश्चित हुँदैन । स्थानीय स्तरमा जे आवश्यकता हुन्छ र भयो, त्यही गर्ने हो र गरियो । अन्यत्र अरू पक्षसँग पनि सहकार्य भएको छ । 

प्रदेशमा जुन खालको अघोषित समीकरण बनाउनुभयो, केन्द्रीय महाधिवेशनमा पनि यसले निरन्तरता पाउने सम्भावना के हुन्छ ?

सातवटै प्रदेशमा समीकरण बनेको होइन । पहिलो चरणमा सँगै लडेको पनि होइन । घोषित समीकरण भएकै छैन, कसरी निरन्तरता हुने ? १ नम्बरमा हामीलाई कसैले समर्थन गर्छ भने नगर भन्ने कुरा भएन । २ नम्बरमा भएकै छैन । ३ नम्बरमा हामी पहिलो चरणमा उठ्यौँ, दोस्रो चरणमा पहिलो नम्बरलाई समर्थन गरेको हो । बहुसंख्यक प्रतिनिधिले जसलाई म्यान्डेट दिए, त्यसैलाई मान्नुप¥यो । त्यसैले यो घोषित तालमेल होइन । 

तपाईंहरूसँग जित नै निकाल्न सक्ने एकल शक्ति छैन ? समीकरणका लागि तपाईंहरूको सर्त, पदहरूमा दाबी र एजेन्डा के हुन्छन् ?

नीतिगत सहमतिका आधारमा होइन, स्थानीय तहमा त्यहाँको आवश्यकताका आधारमा सहकार्य हुने हो । समीकरण चुनाव जित्ने कुरालाई मध्यनजर गरेर गरिएको हुन्छ । कतिपय ठाउँमा अहिलेको संस्थापन र पुरानो संस्थापन मिलेका छन् । जस्तो, इलाममा यस्तै भएको छ । स्थानीय र प्रदेश तहमा आफू एक्लै जाँदा सकिँदैन भने कसैसँग समीकरण गर्ने हो, समीकरण गर्दा उच्च पद जहाँ पाइन्छ त्यहीँ जाने हो ।

केन्द्रीय महाधिवेशनसँग यसको सम्बन्ध नै छैन त ?

यसको अर्थ नै छैन भन्ने त होइन । तर, यसको सम्बन्ध छ भनेर अहिले नै भन्न मिल्दैन । 

आफ्नो अनुकूलतामा नजिक हुनु स्वाभाविक हो : जीवन परियार (पौडेल–कोइराला समूह)

प्रदेश १ र बागमतीमा त घोषित रूपमै संस्थापन र सिटौला समूहबीच सहकार्य देखियो, यसलाई कसरी हेर्नुभएको छ ?

पार्टीभित्र विभिन्न खालका विचार समूह छन् । तिनीहरूको बीचमा एकआपसमा को कसको नजिक बन्ने भन्ने स्वाभाविक हो । यसलाई नौलो रूपमा नलिउँ, सामान्य हो । 

प्रदेश अधिवेशनमा यहाँहरूको पक्षले गरेको अपेक्षा र परिणामबीच तालमेल मिल्यो कि, अपेक्षाकृत भएन ?

महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको जुन आँकडा थियो, त्यो आँकडाअनुसार यो स्वाभाविक छ । बागमती प्रदेशमा अपेक्षा गरेअनुसार पहिलो चरणमा परिणाम आएन कि भन्ने लागेको छ । सेकेन्ड राउन्डको चुनाव भएको छ, मतगणना बाँकी छ । हेरौँ, यसले कस्तो नतिजा ल्याउँछ । 

संस्थापन पक्षसँग प्रतिस्पर्धा गर्न केन्द्रीय महाधिवेशनमा यहाँहरू कस्तो समीकरण बनाएर जानुहुन्छ ? 

हामीसँग हिजो जुन खालको शक्ति थियो, हामीसँग जो नेताहरू हुनुहुन्थ्यो, उहाँहरूबीचको एकता नै हाम्रो शक्ति हो । नेताहरूको एकताबाट नै हामीले भोलि विजय प्राप्त गर्ने हो । त्यसकारण नेताहरूलाई एकत्रित भएर निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो बुझाइ छ । 

तपाईंहरूको तर्फबाट को कहाँ लड्ने भन्ने कहिलेसम्म तय हुन्छ ?

नेतृत्व चयन भइसकेपछि बाँकी पदहरूमा को कुन भूमिकामा रहने भन्ने तय हुन्छ ।