१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o६:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको प्रदेश अधिवेशन आज

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:४२:oo

प्रदेश पदाधिकारी चयन गर्न संस्थापन र इतर समूहलाई सकस, केन्द्रीय नेताहरू प्रदेश मुकाम पुगे

देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई संघीय संरचना पनि त्यहीअनुसार ढालेको छ । जसअनुसार कांग्रेसले वडा, पालिका, प्रतिनिधिसभा/प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ । बुधबारसम्म कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बिहीबार एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ । 

१४औँ महाधिवेशनपछि कांग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ । 

कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सबै तयारी पूरा गरी प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको जानकारी दिए । उनका अनुसार सात प्रदेशका लागि तीन–तीनजनाका दरले २१ अधिकृत तोकिएको छ ।

प्रदेश १ को निर्वाचन अधिकृतमा भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल, प्रदेश २ मा प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार शाह, बागमतीमा केशव काफ्ले, ज्ञानेन्द्रप्रसाद अधिकारी र होमनाथ नेपाल, गण्डकीमा कृष्णबहादुर थापा, विष्णुकुशल भुजेल र यज्ञबहादुर राणा, लुम्बिनीमा प्रा.डा. बुद्ध थापा, घनश्याम पन्त र जीवनारायण अधिकारी, कर्णालीमा अरुण पौडेल, विवश बस्नेत र कृष्णप्रसाद शर्मा, सुदूरपश्चिममा वीरबहादुर जेठारा, घनश्याम पाध्या र सुवासचन्द्र उपाध्यायलाई खटाइएको छ । ‘सबै तयारी पूरा भएको छ । अधिवेशनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत खटाइसकेका र्छाैँ,’ उनले भने ।

कांग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो । २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले दिएको जिम्मेवारीअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा गर्ने र संयोजकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकको छ । प्रदेश २ को अधिवेशन जनकपुर र संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल, बाग्मती प्रदेशको अधिवेशन हेटौँडा र संयोजकमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशको अधिवेशन पोखरा र संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको अधिवेशन बुटवल र संयोजकमा बालकृष्ण खाँण, कर्णाली प्रदेशको अधिवेशन सुर्खेत र संयोजकमा केन्द्रीय सदस्य जीवनबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढी र संयोजकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ ।

प्रदेश अधिवेशनका लागि पौडेल–कोइराला पक्षले तोक्यो केन्द्रीय नेतालाई जिम्मेवारी 
सातै प्रदेशमा पदाधिकारी कसलाई उठाउने भन्नेमा निर्णय लिन संस्थापन इतर समूह (रामचन्द्र पौडेल) ले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको छ । बुधबार कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, डा.शेखर कोइराला, सरिता प्रसाई र गुरु घिमिरे, प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव र रामकृष्ण यादव, बाग्मतीमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.रामशरण महत र गगन थापालाई जिम्मेवारी तोकिएको छ । यस्तै, गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कमला पन्त, दिलबहादुर घर्ती र जीवन परियार, लुम्बिनीमा चन्द्र भण्डारी र दीपक गिरी, कर्णालीमा हृदयराम थानी, सुदूरपश्चिममा दिलेन्द्र बडू र बद्री पाण्डेलाई तोकिएको छ ।

बिहीबार बसेको संस्थापनइतर समूहको बैठकले बागमती प्रदेशको सभापतिमा जगदीश्वरनरसिंह केसी र महामन्त्रीमा कञ्चनबादे श्रेष्ठ तथा रामचन्द्र अर्याल (माइकल)लाई उठाउने सहमति गरेको छ । इतर समूहबाट काभ्रेका मधु आचार्य, काठमाडौंका राजुराज जोशी, धादिङका रमेश धमला आकांक्षी थिए । तर, नुवाकोटका केसीलाई सभापतिको उम्मेदवार बनाइने भएको छ ।

पार्टी र राज्यसँग जोड्न समन्वयकारी भूमिका निभाउँछु  : भीमसेनदास प्रधानआकांक्षी बागमती प्रदेश सभापति
संविधानअनुसार विधानमा व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको थिएन । संघीयतामाथि धेरै रूपबाट प्रश्न पनि उठिरहेको छ । पहिलो अधिवेशन भएकाले पनि यसले प्रभावकारी ढंगले कार्यान्वयन गरेर संघीयताको औचित्यलाई बोध गराउने मेरो प्राथमिकता हुनेछ । म फस्र्टम्यान भएर प्रदेशभित्रका १३ वटै जिल्लालाई पार्टी र राज्यसँग जोड्न समन्वयकारी भूमिका निभाउनेछु ।  

ग्रासरुटदेखि सुधारका लागि मेरो भूमिका हुनेछ  :  गुरुराज घिमिरे, आकांक्षी प्रदेश १ सभापति
प्रदेश संरचनालाई समन्वय गर्ने नेतृत्वका साथै पार्टीका आधारशीलाका रूपमा तयार गर्नु आवश्यक छ । यो कांग्रेसका लागि बिल्कुलै नयाँ अभ्यास हो । पार्टीको आन्तरिक अव्यवस्थालाई हटाएर प्रदेश नेतृत्वले वडादेखि प्रदेशसम्म व्यापक रूपमा सुधार गर्न सकिन्छ । प्रदेश तहमा समन्वय, नेतृत्व र परिचालन गर्ने भूमिका खेल्नुपर्छ । प्रदेश १ को सन्दर्भमा कांग्रेसको संगठन संरचनाका विषयमा धेरै चुनौती छ । ग्रासरुटदेखि सुधारका लागि मेरो भूमिका हुनेछ ।  

अहिलेसम्म क–कसले गरे प्रदेश सभापतिमा उम्मेदवारी घोषणा ?
प्रदेश पदाधिकारीका लागि कांग्रेसको संस्थापन र इतर समूह प्यानलसहित उत्रिँदै छन् । दुवै समूहले आधिकारिक रूपमा उम्मेदवार बनाउने निर्णय नगरे पनि व्यक्तिगत रूपमा प्रदेश पदाधिकारी घोषणा गर्ने क्रम सुरु भएको छ । जसअनुसार प्रदेश १ को सभापतिमा उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् । बागमती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँ तथा सिटौला समूहबाट भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बानियाँले बुधबार र प्रधानले केही दिनअघि घोषणा गरेका थिए ।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । इतर समूहबाट रघुनाथ पौडेल र देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सभापतिमा संस्थापन पक्षबाट भरत शाह र इतर समूहबाट अम्मरबहादुर पुनबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिमा कसैले पनि घोषणा गरिसकेका छैनन् ।

६१ जिल्ला अधिवेशन सकियो, १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि 
कांग्रेसले बुधबारसम्म ६१ जिल्लाको नेतृत्व चयन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो र दोस्रो चरणमा गरी यी ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन हुन बाँकी १६ जिल्लामा भने महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछन् । 

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार बिहीबारबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लाका नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुनेछन् । ‘प्रदेश अधिवेशन बिहीबारबाट सुरु हुँदै छ । बाँकी १६ जिल्लाको अधिवेशन महाधिवेशन सकिएपछि मात्रै हुनेछ,’ उनले भने । नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् । २७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्ण सिटौला पक्षका सभापति चयन भएका छन् । 

अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् । यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि भने चयन भइरहेका छन् ।

ad
ad