१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:२o:oo
Read Time : > 8 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेमा सहमति प्रयास असफल

चौथो दिन पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि १४ पदाधिकारीका लागि १८ र ११२ सदस्यका लागि १३५ नेताबीच प्रतिस्पर्धा

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२o:oo

दशौँ महाधिवेशनको चौथो दिन सोमबार मध्यरातसम्म पनि सर्वसम्मतको कोसिस सफल नभएपछि एमालेका एक सय २६ पदका लागि एक सय ५३ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । तीन सय एक केन्द्रीय सदस्यमध्ये एक सय ८९ जना निर्विरोध भए पनि बाँकी एक सय १२ सदस्यका लागि भने एक सय ३५ जनाले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार पदसंख्या बराबर नै उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।

 १९ पदाधिकारीमध्ये पाँच निर्विरोध भएपछि अध्यक्षसहित १४ पदका लागि १८ जनाले मनोनयन दर्ता गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मतका लागि पेस गरेको १९ सदस्यीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा ओलीसँगै भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

उपाध्यक्षमा ६ उपाध्यक्ष सर्वसम्मतिका लागि प्रस्ताव गरिए पनि घनश्याम भुसालको उम्मेदवारीसँगै सातजनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । जसअनुसार भुसालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र विष्णु पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।सात सचिव सर्वसम्मतिका लागि प्रस्तुत भए पनि भीम आचार्य र टंक कार्कीको उम्मेदवारीसँगै नौजनाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । जसअनुसार आचार्य र कार्कीसँगै योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ ।

१९ जना पदाधिकारीसहित तीन सय एकजना केन्द्रीय सदस्य, २२–२२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए । तर, ओलीको प्रस्तावलाई चुनौती दिँदै नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएपछि सर्वसम्मतको प्रयास सफल हुन सकेको थिएन । ओलीले पेस गरेको सूचीमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यमा बढी उम्मेदवारी परेको छ । नेतृत्वले आश्वासन दिएपछि कतिपयले उम्मेदवारी फिर्ता लिएका छन् । तर, खुलातर्फ ८४ केन्द्रीय सदस्यका लागि एक सयजनाको उम्मेदवारी परेको छ । 

प्रदेश १ मा खुलातर्फ ६ जनाका लागि सातजनाको र महिलातर्फ तीनजनाका लागि चारजनाको उम्मेदवारी परेको छ । त्यस्तै, सुदूरपश्चिम महिलातर्फ तीनजनाका लागि पाँचजना प्रतिस्पर्धामा छन् । खुलातर्फ आठ दलित सदस्यका लागि नौजना र पाँचजना थारू सदस्यका लागि ६ जनाको मनोनयन छ । यसबाहेक पिछडिएको क्षेत्रबाट तीनजनाका लागि चारजना चुनावी मैदानमा छन् । 

दुई आयोगमा अध्यक्षसहित ४४ जना निर्विरोध 
दुई आयोगमा अध्यक्षसहित ४४ जना पनि निर्विरोध भएका छन् । लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेल, उपाध्यक्ष विष्णु पन्थी, सचिव शिव अधिकारी निर्विरोध भएका छन् । त्यस्तै, खुला सदस्यमा ईश्वरीप्रसाद खरेल, कोमल भट्टराई, खटकबहादुर गोले, खम्बबहादुर खत्री, घनेन्द्रराज घिमिरे, धनबहादुर विश्वकर्मा, भीमलाल पौडेल, मस्तबहादुर गरन्जा, मीनराज कँडेल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकरबहादुर कार्की निर्वाचित भएका छन् । त्यस्तै, महिलाबाट कल्पना लिम्बू, जसमाया गजमेर, पद्मा जिसी श्रेष्ठ, वसुन्धरा रोकाय, मालतीकुमारी लिम्बू, विजय धिताल, विमला केसी, शान्ति पाख्रिन, सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । 

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्ष नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारी, खुला सदस्यहरूमा अर्जुन राई, कर्णबहादुर घले, चक्रबहादुर पराजुली, छविलाल ओली, झपेन्द्रबहादुर जिसी, डम्बर अर्याल, डा. कृष्ण न्यौपाने, तुलसीप्रसाद चौधरी, देवराज भार, पोष्टकुमार नेपाल, शान्तिदेवी खनाल, सर्वतलाल राजवंशी र हर्कबहादुर कुँवर निर्वाचित भएका छन् । त्यस्तै, महिलाबाट दुर्गाकुमारी दाहाल, मित्रकुमारी सुवेदी गुरुङ, रणकुमारी बलमपाकीमगर, राजकुमारी इङ्नाम, लक्ष्मी शाह, लक्ष्मीदेवी भण्डारी, लीला कट्टेल कार्की, वीणा बास्तोला र सरस्वती गौतम निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित केन्द्रीय सदस्य 
उपत्यका विशेष प्रदेशमा माधव ढुंगेल र विनाकुमारी श्रेष्ठ तथा सम्पर्क समन्वय विशेष कमिटीबाट नरेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश १ महिलातर्फ उषाकला राई, निरा खनाल र मेनुका काफ्ले, प्रदेश २ मा खुला पुरुषतर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ र सुमन प्याकुरेल र महिलातर्फ कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

त्यस्तै, बागमती प्रदेशमा महिलाबाट पार्वती रावल, पेम्बा लामा र रचना खड्का, गण्डकीमा खुलातर्फ इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी र महिलातर्फ नरदेवी पुन, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्वाचित भएका छन् । 
त्यस्तै, लुम्बिनीबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल, महिलाबाट मेनुका पोखरेल, सरिता खनाल र सावित्रा अर्याल निर्वाचित भएका छन् । त्यस्तै, कर्णालीमा महिलाबाट तीर्था गौतम, मीना ढकाल र मोहनमाया ढकाल निर्विरोध बनेका छन् । 

कर्णालीमा महिला कोटातर्फ निर्विरोध भए पनि पुरुषतर्फ निर्वाचित हुने ६ जनामा सातजनाको उम्मेदवारी परेको थियो । तर, अन्तिम समयमा कर्णालीबाट योगेन्द्र शाहीले उम्मेदवारी फिर्ता लिएपछि नीरज आचार्य, विष्णु रिजाल, धर्मराज रेग्मी, गुलाबजंग शाह, डम्बरबहादुर सिंह र नागिन्द्र शाही निर्विरोध भएका छन् । 
मधेसी समूहमा मधेसी महिलाबाट कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव निर्वाचित भएका छन् । त्यस्तै, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्दिकी, दलित समूहमा महिला कोटामा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतामे र सविता रसाइली निर्वाचित भएका छन् । त्यस्तै, पिछडिएको क्षेत्रमा महिलाबाट बधनीकुमारी बोहरा, श्रमिक समूहमा खुलाबाट विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा, श्रमिक समूहमै महिला कोटामा मञ्जुकुमारी थापा मगर र सीता लामा निर्वाचित भएका छन् ।

खुला महिलातर्फ ५३ जना निर्विरोध भएका छन् । अम्बिका थापा, इन्दु कडरिया, उषाकिरण तिम्सिना, श्रीमाया थकाली, कोमल वली, गीता अधिकारी, गोमादेवी आचार्य, गौरीकुमारी वली, जानुका सिंखडा, टुका हमाल, डा. शिवमाया तुम्बाहाङ्फे, तुलसाकुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दीपा शर्मा, नवीना लामा, निरु दर्लामी कँुवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतीक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, विमला घिमिरे निर्विरोध भएका छन् ।

यसबाहेक बुधनीदेवी महतो, भगवती चौधरी, भारती पाठक, भगवती न्यौपाने, मनकुमारी जिसी, ममता गिरी, मीना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लीलाकुमारी भण्डारी, विद्या भट्टराई, विना राई, विन्दा ढुंगाना, विन्दा पाण्डे, शर्मिला कार्की,  शान्ता चौधरी, शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सीता गिरी वली, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल र सुशीला नेपाल निर्विरोध भएका छन् । 

दिनभरि होटेलमै बसेर असन्तुष्ट फकाउँदै ओली
आइतबार राति अबेरसम्म सहमतिको दौडधुप, त्यसपछि बन्दसत्रमा केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गरेका अध्यक्ष केपी ओली सोमबार भने दिनभरजसो होटेलमै रहे । अध्यक्षमा उनीसँग भिडिरहेका भीम रावल मतदातासँग भोट मागिरहेका वेला ओली भने केन्द्रीय कमिटीमा नपरेर असन्तुष्ट नेतालाई फकाउने प्रयासमा लागिरहे । पदम गिरी, विशाल भट्टराई, सुमन प्याकुरेललगायतका असन्तुष्ट नेताले होटेलमै पुगेर ओलीसँग गुनासो गरेका थिए । उनीहरूलाई अन्य ठाउँमा अवसर दिने आश्वासन ओलीले दिएका छन् । यसबाहेक ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरूसँग पनि छलफल गरेका थिए ।

असन्तुष्ट लालबाबु केन्द्रीय सदस्यसमेत त्यागेर घर फर्किए
पदाधिकारीमा नसमेटिएपछि लालबाबु पण्डितले केन्द्रीय सदस्य पनि त्यागेका छन् । अघिल्लो महाधिवेशनमा उपाध्यक्षमा चुनाव लडेका उनी यसपटक सचिवका आकांक्षी थिए ।

ओली प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा उनको नाम पनि थियो । तर, सचिव नबनाएपछि उनले सदस्यमा समेत उम्मेदवारी दर्ता गरेनन् ।  बरु महाधिवेशन नसकिँदै सोमबार दिउँसो सौराहाबाट घर हिँडेका छन् ।

सम्पूर्ण कार्यकारी पद त्याग गरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण पदबाट बिदा लिँदै छु । दशौँ महाधिवेशनबाट विजयी सम्पूर्ण कमेरडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनाव
अध्यक्षमा केपी ओली र भीम रावल भिड्दै छन् । त्यस्तै, ६ उपाध्यक्षका लागि सातजनाको उम्मेदवारी परेको छ । जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र घनश्याम भुसाल प्रतिस्पर्धामा छन् ।

त्यस्तै, सात सचिवका लागि नौजनाको उम्मेदवारी परेको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टंक कार्की र भीम आचार्यले उम्मेदवारी दिएका छन् । कार्की र आचार्य आइतबार ओलीले बन्दसत्रमा पेस गरेको सचिवहरूको सूचीमा समेटिएका थिएनन् । 

के भन्छन् तीन विद्रोही नेता ?
पार्टीभित्र विधि र पद्धति स्थापित गर्न उम्मेदवारी

भीम रावल, अध्यक्षका उम्मेदवार
पार्टीको विधि, पद्धति र प्रणाली स्थापित हुनुपर्छ भनेर उम्मेदवारी दिएको हुँ । मैले त्यसलाई पार्टीभित्र र बाहिर ती विषय बढाउने उद्देश्य राखेको छु । अहिलेको राष्ट्रिय राजनीतिमा नै जुन प्रकारका विकृति, विसंगति देखापरेका छन्, न्यायपालिकामा विकृति देखिएको छ । कार्यपालिका पूरै अस्थिर छ । व्यवस्थापिका अनिर्णयको बन्दी हुने अवस्था छ । प्रदेशमा त्यस्तै स्थिति छ । भ्रष्टाचार तीव्र रूपमा बढेको छ । बाह्य हस्तक्षेप त्यस्तै बढेको छ । यी सबै विषयलाई राष्ट्रिय दृष्टिकोण राखेर अगाडि बढ्ने नेतृत्वको आवश्यकता छ । र, त्यो नेतृत्वले विधि, पद्धति र प्रणालीलाई निष्ठाका साथ अनुशरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टीलाई त्यो दिशामा अगाडि बढाउँदै राष्ट्रिय राजनीतिमा समेत भूमिका खेल्ने भन्ने आशय मेरो उम्मेदवारीमा अन्तर्निहित छ । 

मेरो उम्मेदवारी एमाले निर्माणका लागि हो 
घनश्याम भुसाल, उपाध्यक्षका उम्मेदवार

पार्टीमा गल्तीका प्रशस्त सम्भावना हुन्छन् । र, अहिले पनि गल्ती भइरहेका छन् । तर, एमाले किन फुट्यो भन्नेबारे हामी बेखबर छौँ । संसारमा एउटा मोडेल देखाउन सक्ने अवस्थाबाट हामी किन चुक्यौँ ? आफ्नै पार्टी किन टिकाउन सकेनौँ ? आफ्नै सरकार किन टिकाउन सकेनौँ ? अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दै छौँ ।

यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । यी यावत् विषयमा पार्टीभित्र विचार, सिद्धान्त रमार्क्सवाद ज्युँदो छ भन्ने सन्देश दिनका लागि मैले उम्मेदवारी दिएको छु । पार्टीलाई दलाल पुँजीवादले कब्जा गरिदिने जोखिम छ । मेरो उम्मेदवारी एमाले निर्माणका लागि छ । म प्यानलको पक्षमा छैन ।

सबल एमालेका लागि म योगदान गर्न सक्छु
टंक कार्की, सचिवका उम्मेदवार

मैले पहिलादेखि नै सचिवमा उम्मेदवारी दिने सोचेको थिएँ । इमानदार भएर उम्मेदवारी दिएको छु, अस्वाभाविक छैन । म राजनीतिक प्रतिस्पर्धाको पक्षमा छु किनभने त्यसले हाम्रो राजनीतिक नेतृत्वको गुणस्तर बढाउँछ । सर्वसम्मतिले मात्रै पार्टीको एकता बलियो हुन्छ भन्ने होइन । प्रतिस्पर्धा भयो कि विभाजित हुन्छ भन्ने सन्त्रास छ । यसमा कसैको अदृश्य स्वार्थ हुन सक्छ । एमाले बलियो पार्टी भयो भने लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिन्छ । देशमा प्रणाली र संविधानमाथि प्रहार भइरहेको छ, यसका लागि पनि सबल एमाले चाहिन्छ । अहिले एमालेमाथि दबाब छ । मुलुकका चुनौतीसँग मुकाबिला गर्ने शक्ति एमालेलाई बनाउनु छ । यसका लागि म योगदान गर्न सक्छु जस्तो लाग्छ । 

केन्द्रीय सदस्यमा जहाँ चुनाव हुँदै छ
-खुला ८४ सदस्यका लागि सयजनाको उम्मेदवारी परेको छ  
-आठ दलित सदस्यका लागि नौजनाको उम्मेदवारी
-थारू क्लस्टरमा पाँच सदस्यका लागि ६ जना चुनावी मैदानमा
-पिछडिएको क्षेत्रका तीन सदस्यका लागि चारजनाको उम्मेदवारी

भूगोलतर्फ 
-प्रदेश १ को खुला ६ पुरुषतर्फ  सातजनाको उम्मेदवारी, त्यस्तै तीन महिलाका लागि चारजना मैदानमा
-सुदूरपश्चिम खुला पुरुषतर्फ  सहमति, तीन महिला सदस्यका लागि पाँचको उम्मेदवारी 

ओलीको सूची : ‘जुनियर’ परे, ‘सिनियर’ छुटे

 एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा कैयाैँ ‘सिनियर’ नेता छुटेका छन् भने कैयौँ ‘जुनियर’ समावेश भएका छन् । एमालेकै नेताहरूका अनुसार सर्वसम्मत सूचीमा पर्नुपर्ने थुप्रै नेताको नाम छुटेको छ । अध्यक्ष ओलीको छनोटमा जुनियरसमेत नवप्रवेशीका रूपमा केन्द्रीय सदस्य बनेका छन् । प्रदेश २ बाट सुमन प्याकुरेलको नाम ओलीको सूचीमा थिएन । तर, उनले उम्मेदवारी मनोनयन दर्ता गराए ।

पुरुष खुलामा सर्वसम्मत हुँदा प्याकुरेलसहित ६ जना पुरुष प्रदेशबाट निर्वाचित भएका छन् । आफ्नो नाम नपरेकोमा आश्चर्यचकित भएर असन्तुष्टि जनाएका प्याकुरेलले सोमबार उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । त्यस्तै, प्रमुख सचेतक तथा निवर्तमान केन्द्रीय सदस्य रहेका विशाल भट्टराईको नाम ओलीको सूचीमा परेन । पहिले केन्द्रीय सदस्य भइसकेका सबैको नाम प्रस्तावित भए पनि भट्टराईको नाम छुटेपछि धेरै आश्चर्यमा परेका थिए । नाम नपरेकोमा भट्टराईले असन्तुष्टि जनाएका थिए । ओलीले उनलाई प्रदेश १ को पार्टी अध्यक्ष बनाउने आश्वासन दिएका छन् । अध्यक्ष बने भट्टराई पदेन केन्द्रीय सदस्य हुनेछन् ।

त्यस्तै, जनजाति समूहबाट उम्मेदवारी दिने तयारीमा रहेका शिव गुरुङ पनि सर्वसम्मतिको सूचीमा छुटेका छन् । युवा नेताहरू योगेश भट्टराई र ठाकुर गैरेकै समकालीन गुरुङ रवीन्द्र अधिकारी अखिलको नेतृत्वमा रहँदा उपाध्यक्ष थिए । पार्टीको संघीय मामिला विभागका सचिव रहेका गुरुङ नवौँ महाधिवेशनमा थोरै मतले पराजित भएका थिए । 

त्यस्तै, यसपटक नवप्रवेशी अनुहारका रूपमा बढी चर्चामा रहेका एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये कान्छो उमेरका पर्वतका सांसद पदम गिरी सर्वसम्मतको सूचीभित्र अटाएनन् । गिरीले सोमबार बिहान ओलीलाई भेटेर गुनासो पोखेका थिए । ओलीले गिरीलाई मनोनयन गर्ने आश्वासन दिएका छन् । त्यस्तै, नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका र पार्टी एकीकरणपछिको केन्द्रीय सदस्यका रूपमा नाम सार्वजनिक भएर पनि हटाइएका अखिलका पूर्वउपाध्यक्ष सोभियत ढकाल पनि सर्वसम्मतको सूचीमा अटाएनन् । अखिलका पूर्वउपाध्यक्ष रश्मी आचार्य पनि सर्वसम्मतको सूचीमा छुटेका छन् । उनलाई अध्यक्ष नबनाइएकोमा युवा–विद्यार्थी पंक्तिबाट मात्र होइन, पार्टी नेताहरूबाटै अध्यक्ष ओलीको आलोचना भएको थियो ।

पूर्वअध्यक्ष नवीना लामाले त सामाजिक सञ्जालमै आलोचना गरेकी थिइन् । तर, अहिलेकी अध्यक्ष सुनिता बराल भने केन्द्रीय सदस्यको छनोटमा परेकी छिन् । उनी ओलीकै गृहजिल्ला झापाकी हुन् । लामा पनि केन्द्रीय सदस्यको सूचीमा छिन् । त्यस्तै, महाधिवेशन आयोजक जिल्ला चितवनका पूर्वअध्यक्ष तथा प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेलको नाम पनि सर्वसम्मत सूचीमा परेन । केन्द्रीय सदस्यका लागि आश्वासन दिइएका कारण पोखरेलले जिल्ला अध्यक्ष ओली समूहकी पार्वती रावललाई सहमतिमा हस्तान्तरण गरेका थिए । तर, महाधिवेशनमा धोका भएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका छन् । 

त्यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, युवा संघकै पूर्वअध्यक्ष रमेश पौडेल र वचन सिंहको नाम पनि छुटेको छ । महरको नाम सूचीमा छलफलमा रहे पनि युवा संघका अध्यक्ष महेश बस्नेतसँग निकटता जोडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रुचिमा उनको नाम हटाइएको स्रोतले जनाएको छ । उता, युवा संघका पूर्वकोषाध्यक्ष गोविन्द थापा, युवा संघकै अध्यक्ष किरण पौडेल भने युवाहरूका तर्फबाट नयाँ अनुहारका रूपमा केन्द्रीय सदस्य बनेका छन् । थापा ओलीकै गृहजिल्ला झापाका हुन् । 

उता, अखिलका पूर्वउपाध्यक्ष तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको नाम पनि सर्वसम्मतको सूचीमा परेन । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र राजेन्द्र अर्याल पनि केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा अटाएनन् । विष्ट नवौँ महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपालको प्यानल सूचीको गृहकार्यमा नाम रहेर पनि उम्मेदवारी दर्ता गर्दा भने प्रतिस्पर्धाको सूचीबाट अन्तिममा हटाइएका थिए । 

ad
ad