नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा सर्वसम्मतिको नामावली भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको नाम पढेर सुनाए। तर उनको प्रस्तावलाई नेताहरुले चुनौति दिएका छन्। अध्यक्षमा सर्वसम्मत आफ्नो नाम सनाएका ओलीकै विरुद्ध भीम रावलले उम्मेदवारी दिएका छन्। विधि र पद्धतिको रक्षाका लागि आफ्नो उम्मेदवारी भएको उनले बताएका छन्। उनको उम्मेदवारीको विषयमा केन्द्रीत रहेर नयाँ पत्रिकाकर्मी दिपेश शाहीले गरेको कुराकानीको सम्पादित अंश :
पार्टीभित्र ठूलो संकटको वेलामा जुन पक्षलाई वकालत गर्नुभएको थियो। त्यो पक्षलाई त्यसो हुँदैन भनेर पार्टीभित्रै रहनुभयो। अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। पार्टीमा विजयी नै हुन्छु भनेर दिनुभएको हो या अर्को विचार समूह वा कम्तीमा पार्टीभित्र पनि अरू मान्छेहरू पनि छन् भनेर देखाउनका लागि मात्रै उम्मेदवारी दिनुभएको हो ?
सर्वप्रथम त मैले पार्टीको विधि, पद्धति र प्रणाली स्थापित हुनुपर्छ भनेर उम्मेदवारी दिएको हुँ। मैले त्यसलाई पार्टीभित्र र बाहिर ती कुरालाई अगाडि बढाउने उद्देश्य राखेको छु। दोस्रो, मैलै आफ्ना १२ लक्ष्य र उद्देश्य र १५ वटा मान्यता अगाडि सारेँ, त्यसलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छु। त्यसपछि विजयीको कुरामा जो प्रतिनिधिका रूपमा आउनुभएको छ उहाँहरूले जहिले पनि राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, हित, स्वाभिमान र पार्टीको विधि र पद्धतिको पक्षमा धेरैजसोले काम गर्नुभएको छ। उहाँहरूले पक्कै पनि मेरो कुराहरूलाई समर्थन गर्नुहुन्छ। र, मैले विजय प्राप्त गर्छु भन्ने पनि उद्देश्य राखेको हो।
पार्टीपंक्तिलाई महसुस गराउन सक्ने गरी मैले आफ्नो विचार स्थापित गर्न सकेँ भने पनि त्यो मेरो ठूलो उपलब्धि हो भन्ने कुरा पनि यो सँगसँगै जोडिएर आएको विषय हो।
विजयभन्दा बढी स्पष्ट छ कि भीम रावलले जित्नुहुन्न, नैतिक विजयचाहिँ प्राप्त गर्छन् भन्ने छ। अध्यक्ष केपी ओलीले पार्टीभित्र गरेको अलोकतान्त्रिक गतिविधिविरुद्ध उभिनु नै नैतिक जित हो भन्ने पनि छ। त्यसले तपाईंको विजयलाई नैतिक रूपमा स्थापित गर्छ भन्ने मात्रै छ। तपाईं मतमा त विजयी हुनुहुन्न भन्ने नै छ। तपाईं आफैँलाई चाहिँ के लाग्छ ?
एमालेको विगतको इतिहास प्रतिनिधिले विवेकले निर्णय गरेको इतिहास छ। यद्यपि, यसपटक विभिन्न ठाउँमा प्रतिनिधि छनोटका क्रममा जुन प्रकारका गतिविधि देखापरे त्यसको मैले सार्वजनिक रूपमै आलोचना गरेको छु, टिप्पणी गरेको छु। त्यसको पनि असर पर्न सक्छ कतिपय क्षेत्रबाट। राजनीतिक दृष्टिकोणबाट पार्टीलाई कसरी अगाडि बढाउने र विगतमा भएका जे–जति राजनीतिक गतिविधिहरू छन्, त्यसका प्रभावहरू छन्, परिणामहरू छन्। ती कुरालाई ध्यानमा राखेर पार्टीलाई नयाँ नेतृत्वको आवश्यकता छ भन्ने कुरालाई सशक्त रूपमा स्थापित गर्ने र विचार र सिद्धान्त, पार्टीको विधि, प्रणाली नेपालको परिवेशअनुसार कसरी अगाडि जाने भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो। मैले पदभन्दा पनि जहिले पनि प्रणालीलाई जोड दिँदै आएको छु। त्यस सन्दर्भमा वैचारिक नीतिगत र पार्टीलाई लोकतान्त्रिक प्रणालीमा अगाडि लैजाने र समयमा चुनौतीहरूको सामना गर्न सक्ने गरी पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरामा जोड दिने हो। सँससँगै पार्टीका प्रतिनिधि र पार्टीका विगतदेखि तलतल यो स्वच्छ रूपले पार्टीलाई अगाडि बढाउने र देशको स्वार्थलाई केन्द्रित गर्ने विचारलाई हामीले स्थापित गर्दै आएका थियौँ। त्यो विचार अझै पनि कार्यकर्तापंक्तिमा व्यापक रूपमा रहेका हुनाले ती कार्यकर्ताले मलाई साथ दिन्छन् भन्ने हो।
पार्टी विभाजन हुन्थेन भने तपाईं जुन विचारधारा र गुटमा हुनुहुन्थ्यो। त्यो गुट या विचारधारा बाँकी रहेका भए तपाईंले अपेक्षा गरेजस्तो नेतृत्व स्थापना गर्न सकिन्थ्यो ? पार्टी विभाजन भएका कारणले मैले त्यो गर्न सकिनँ भन्ने त्यस्तो महसुस तपाईंलाई भएको छ कि छैन ?
पार्टी विभाजन नभएको भए स्थिति निःसन्देह अर्कै हुन्थ्यो। हामीले पार्टीभित्र विभन्न विषयमा कुरा उठाएका थियौँ र जुन जुन व्यक्तिहरूको त्यसमा साथ थियो। उहाँहरू अहिले पनि पार्टीमा नै भएको भए त निःसन्देह नै स्थिति अर्कै हुन्थ्यो। अहिलेको स्थितिमा धेरै ठूलो परिवर्तन हुन्थ्यो र प्रतिस्पर्धामा जाने विषयमा अहिलेको भन्दा धेरै सहज किसिमले अगाडि बढ्न सकिन्थ्यो भन्ने कुरा साँचो हो। मैले जुन विचार, नीति, पद्धति, प्रक्रियाको विषयमा जोड दिएको छु त्यो कुरा पार्टीमा स्थापित भयो, देशमा र समाजमा महसुस भयो भने मैले यसलाई ठूलो उपलब्धि भएको ठान्छु। यो महाधिवेशनको सन्दर्भमा, बैठक आयोजना गर्ने सन्दर्भमा, विभिन्न प्रक्रियागत कुराहरू अगाडि बढाउने सन्दर्भमा, मतदानलाई व्यवस्थित बनाउने र हामीले विगतमा अपनाउँदै आएको स्वच्छ किसिमले अगाडि बढ्नुपर्ने सन्दर्भमा कतिपय कुराहरू सच्याउनुपर्ने देखिए। त्यसैले यी सबै कुराहरू सच्याउनका लागि पार्टीपंक्तिलाई महसुस गराउन सक्ने गरी मैले आफ्नो विचार स्थापित गर्न सकेँ भने पनि त्यो मेरो ठूलो उपलब्धि हो भन्ने कुरा पनि यो सँगसँगै जोडिएर आएको विषय हो।
यहाँनेर एउटा आरोपचाहिँ के छ भने, तपाईंको उमेरका कारणले अबको आउँदो महाधिवेशनमा एमालेको विधानका कारण केन्द्रीय पदाधिकारी वा कार्यकारीको कुनै भूमिकामा उम्मेदवारी दिन नपाउने देखिन्छ। त्यसैले तपाईंले नेकपा एमालेको राजनीतिक जीवनको अन्तिम समयमा आएर, जे–जस्तो भए पनि म एमालेको अध्यक्ष पदमा उठेको थिएँ भन्ने इतिहास बनाउनका लागि मात्र उठ्न लाग्नुभएको भन्ने आरोप छ। तर, तपाईंको आफ्नो विचार जोगाउनका लागि उम्मेदवारी दिएको भन्नुभयो। विचार जोगाउनका लागि हो या राजनीतिक जीवनमा पार्टी अध्यक्षमा एकपटक भए पनि उठेको थिएँ भन्ने इतिहासका लागि उम्मेदवारी दिनुभएको हो ?
होइन, मेरो उमेरको कारणले गर्दा एकचोटि उठेको थिएँ भन्नका लागि होइन। यदि त्यसका लागि मात्रै हुन्थ्यो भने त पार्टी विभाजन भएको वेलामा त्यस्ता कतिपय अवसरहरू मलाई प्राप्त हुन सक्थे होला। मैले मूलभूत रूपमा अहिलेको राष्ट्रिय राजनीतिमा नै जुन प्रकारका विकृति, विसंगति देखापरेका छन्, न्यायपालिकामा विकृति देखिएको छ। कार्यपालिकामा पूरै अस्थिर, व्यवस्थापिका अनिर्णयको बन्दी हुने, प्रदेशमा त्यस्तै स्थिति छ। भ्रष्टाचार तीव्र रूपमा बढेको छ। बाह्य हस्तक्षेप त्यस्तै किसिमले बढेको छ। यो स्थितिमा यी सबै विषयलाई राष्ट्रिय दृष्टिकोण राखेर अगाडि बढ्ने नेतृत्वको आवश्यकता छ। र, त्यो नेतृत्वले विधि, पद्धति र प्रणालीलाई निष्ठाका साथ अनुसरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। र, आफ्ना सैद्धान्तिक, वैचारिक कुराहरूअनुसार पार्टीलाई अगाडि बढाउनुको साटो सत्ता स्वार्थका लागि जोसँग पनि साँठगाँठ गर्ने, जे पनि गर्ने संस्कृतिले हाम्रो राष्ट्रिय राजनीति विकृत हुँदै जान्छ। यस विषयलाई महसुस गरेर पाइला चाल्नुपर्छ भन्ने कुरा महसुस गराउन म लामो समयदेखि काम गर्दै आएको थिएँ। अहिले अधिवेशन भइरहेको वेलामा त्यो कुरालाई झन् सशक्त रूपमा अगाडि बढाउने र विजयी भएँ भने पार्टीलाई त्यो दिशामा अगाडि बढाउँदै राष्ट्रिय राजनीतिमा समेत भूमिका खेल्ने भन्ने आशय मेरो उम्मेदवारीमा अन्तरनिहित छ।
अब मतदान हुन केही समय मात्रै बाँकी छ। प्रतिनिधिहरू मतदानका लागि प्रतीक्षारत हुनुहुन्छ। ती प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ ?
दशौँ महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई देश, जनता र हाम्रो पार्टीप्रति हामीले आजसम्म जनाउँदै आएका प्रतिबद्धता, राष्ट्रको सर्वोपरी हित, पार्टीको दीर्घकालीन सैद्धान्तिक, वैचारिक आधारलाई बलियो बनाउने, देशमा रहेका वामपन्थी दलहरू जो मार्क्सवाद लेनिनवाद पनि भन्ने, राष्ट्रिय हित पनि भन्ने, तर आपसमा विभाजन र फुटको सिकार पनि भइरहने स्थिति छ। यो स्थितिलाई समाप्त गर्न वामपन्थीहरुबीचको कटुतालाई न्यून गरेर दीर्घकालीन एकताका लागि धरातल सिर्जना गर्दै जाने वा सहकार्य गर्ने र त्यसका साथसाथै यस्ता साझा विषयहरू जस्तै नागरिकता, लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भइरहेको भारतीय हस्तक्षेप, कोरोना महामारीबाट राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको असर, जलवायु परिवर्तनले हाम्रो देशमा भविष्यमा पार्न सक्ने असर र त्यसबाट पुनरुत्थानको विषयजस्ता साझा सवालहरूमा सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्तिहरूलाईसमेत सहकार्य र समझादारीमा ल्याएर बाह्य हस्तक्षेपलाई कम गर्ने किसिमले काम गर्नुपर्ने अवस्थामा सम्पूर्ण प्रतिनिधिहरूले गम्भीरतापूर्वक सोचेर मलाई मतदान गर्नुहुन अनुरोध गर्दछु।