१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नेपाल पुलिसविरुद्ध हेडिङ गर्ने प्रयासमा जावलखेलका ओनगुना जुनियर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन लिग : सुमनको गोलमा पुलिसको पहिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४१:oo

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सुमन लामाको एक मात्र गोलको सहयोगमा आइतबार नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा फ्लड लाइटमा सम्पन्न खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथि १–० को कठिन जित निकालेको हो । जितसँगै पुलिसले दुई खेलबाट चार अंक जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा पुलिसले विभागीय टोली तथा साबिक उपविजेता त्रिभुवन आर्मीलाई १–१ को बराबरीमा रोकेको थियो । 

खेलको ५१औँ मिनेटमा सुमनले बुद्धबल तामाङलाई विस्थापन गरेका थिए । उनले खेलको ७०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए ।खेलको म्यान अफ दी म्याच रवि पासवानले मैदानको मध्यभागबाट दिएको पासमा सुमनले दोस्रो बारमा गोल गर्न सफल भए । सुमनको प्रहार यति शक्तिशाली रह्यो कि जावलाखेलका गोलरक्षक टिकेन्द्रसिंह थापाको पन्जामा लागेर गोलमा परिणत भयो ।

पहिलो हाफमा जावलाखेलले पुलिसमाथि दबाब राखेको थियो । खेलको दशौँ मिनेटमै जावलाखेलका अमिर श्रेष्ठले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीले बचाए । खेलको ३९औँ मिनेटमा जावलाखेलका रूपबहादुर लामाको फ्रिकिकलाई पुलिसका गोलरक्षक चौधरीले सहजै नियन्त्रणमा लिए । ४०औँ मिनेटमा काउन्टर एट्याक्टमा रविले तेज तामाङलाई डिबक्सअगाडि पास दिए । तेजको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्रले पन्च गर्दै बचाए । 

पुलिसका प्रशिक्षक अनन्तराज थापाले प्रतिस्पर्धामा सहभागी हुन आएका सबै क्लब दाबेदारका रूपमा रहेको बताए । ‘अहिले सबै टोली उपाधिका दाबेदारजस्तो लाग्छ, सबैले लिगअगाडिदेखि नै तयारी सुरु गरेका छन्, कुनै पनि खेल सहज छैन,’ खेलपछि थापाले भने, ‘हामीले महत्वपूर्ण तीन अंक जोडेका छौँ ।’ सुरुवातमा जावलाखेलले आफूमाथि दबाब राखेको उनले स्विकारेका छन् । ‘सुरुमा हामी दबाबमा थियौँ, तर मध्यान्तरपछि सही समयमा गोल हुँदा खेलमा फर्कियौँ ।’

खेलको ६५औँ मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र अघि बढेको अवस्थामा रविको हेडिङ पहिलो बारमा लाग्यो । खेलको ६७औँ मिनेटमा पुलिसका गोलरक्षक शत्रुघनबाट रिबाउन्ड भएको अवस्थामा सन्तबहादुर गुरुङको प्रहार पनि बारमै लाग्न पुग्यो । जावलाखेलका प्रशिक्षक किशोर राईले पुलिसमाथि सरप्राइज जित निकाल्न योजनाका साथ मैदानमा आएको जनाए । 

आजका खेल 
न्युरोड टिम (एनआरटी)– ब्रिगेड ब्वाइज १ बजे दिउँसो 
मच्छिन्द्र फुटबल र त्रिभुवन आर्मी ४: ४५ बजे साँझ

ad
ad