टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ७ शुक्रबार
  • Friday, 21 January, 2022
सिक्किम साहित्य उत्सवको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पिएस गोलेसहित साहित्यकार । तस्बिर : नयाँ पत्रिका
चिरञ्जीवी घिमिरे गान्तोक (सिक्किम)
२०७८ मङ्सिर १२ आइतबार ०८:५८:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाल–सिक्किम जोड्न साहित्य उत्सव

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, गान्तोक (सिक्किम)
२०७८ मङ्सिर १२ आइतबार ०८:५८:००

नेपाल, दार्जिलिङ, कालिम्पोङ र सिक्किमका सर्जकहरू एकै मञ्चमा

पूर्वोत्तर भारतमा नेपालीभाषीको बाक्लो बसोवास छ । त्यहाँका मानिस नेपाली भाषा र साहित्य भनेपछि हुरुक्कै हुन्छन् । विशेषतः दार्जिलिङ, सिक्किम र असम राज्य नेपाली साहित्यको उर्वर भूमि हो । 

राजनीतिक नक्साले भाषा र साहित्यलाई छेक्न नसक्ने रहेछ । शुक्रबार भारतको हिमाली राज्य सिक्किममा आयोजित नेपाली साहित्य उत्सवले यही पुष्टि गरेको छ । कविता सुनाउनै भनेर कवि नवराज पराजुली मेची तरेर सिक्किम पुगेका थिए । दार्जिलिङबाट पवित्रा लामा र कालिम्पोङबाट मनोज बोगटी पनि सिक्किम पुगे । सँगै, सिक्किमका सर्जकको बाक्लो उपस्थितिले साहित्य उत्सवलाई उल्लासमय बनायो । 

कोरोना महामारीका कारण लामो समयसम्म नेपालीसँग कला र साहित्यमार्फत प्रत्यक्ष जोडिन नपाएका नेपालीभाषी भारतीय सर्जक एकै मञ्चमा जोडिए । यो मञ्चमा नेपाल, दार्जिलिङ, कालिम्पोङ र सिक्किमका सर्जक सहभागी थिए । विगतमा नेपाली भाषा र साहित्य संरक्षणमा सिक्किमले खासै काम गर्न नसकेको बताउँछन्, उत्सव आयोजक समितिका प्रमुख संरक्षक तथा भारत लोकसभा सांसद इन्द्रहाङ सुब्बा । ‘साहित्यमा कहीँ न कहीँ कमी भएको छ । यो हामीलाई महसुस भइरहेको छ । आर्थिक अवस्थालाई मात्र अघि बढाएर हुँदैन । बौद्धिक विकासलाई पनि त्यति नै ध्यान दिनुपर्छ,’ उनले भने, ‘सिक्किम सरकारले बौद्धिक विकासलाई पनि ध्यान दिने कोसिस गरिरहेको छ ।’

पिएस गोले मुख्यमन्त्री सिक्किम- नेपाली भाषा र साहित्यको विकासमा नयाँ आयाम थपिएको छ । यसलाई सिक्किमले पनि अनुसरण गर्नेछ 
 

उनले सिक्किममा बौद्धिक बहस कमै हुने गरेको पनि बताए । ‘यहाँ किताब दोकान (पसल) चलाउन निकै आँटी मान्छे हुनुपर्छ । जोसुकैले किताब पसल खोलेर बस्न सक्दैन,’ उनले भने, ‘या त जोखिम मोल्न सक्ने हुनुपर्‍यो वा पहिलेदेखि उब्रिएको धन कहाँ खर्च गर्ने भन्ने भएको हुनुपर्छ । तर, अब भने पाठक बढ्दै गएका छन् ।’

उत्सवमा नेपाली कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । म्युजिकसहित कविता प्रस्तुत गरेर उनले सिक्किमेली श्रोतालाई मक्ख पारेका थिए । कवि पराजुलीले सिक्किमका मुख्यमन्त्री पिएस गोलेको कवितासंग्रह ‘अन्यायले जन्माएका विद्रोहहरू’बाट आफ्नो प्रस्तुति आरम्भ गरे । उनले ‘एक्लै’ शीर्षकको कविता सुनाउँदा मुख्यमन्त्री पिएस गोलेले नेपाली भाषा र साहित्यको विकासमा नयाँ आयाम थपिएको र यसलाई सिक्किमले पनि अनुसरण गर्ने बताए । 

कवि पराजुलीसँगै दार्जिलिङकी कवि पवित्रा लामा, कालिम्पोङका कवि मनोज बोगटी, सिक्किमका कवि प्रवीण राई जुमेलीले रचना सुनाए । नारीवादी चेत भएकी कवि लामाले आफ्ना कविता र अभिनयमार्फत गरिबी, विभेद र बहिष्करणमा परेका महिलाको कथा बोलेकी थिइन् । कालिम्पोङका बोगटीले सत्ताप्रतिको वितृष्णा र सत्तामाथि कवितामार्फत प्रश्न गरे । ‘नेपालका विभिन्न ठाउँसँगै कोलकातामा पनि साहित्य महोत्सव हुन्थ्यो । तर, सिक्किममा कहिल्यै भएको सुनिएन,’ बोगटीले भने, ‘कमसेकम सुरु भएको छ । यो राम्रो कुरा हो ।’ कवितासँगै उत्सवमा सिक्किमेली स्थानीय कलाकारले लेप्चा, मारुनीजस्ता नृत्य पनि प्रस्तुत गरेका थिए । 

सिक्किम सरकारका तर्फबाट साहित्यिक महोत्सव
आउँदो वर्षदेखि सक्किम सरकारले साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ । मुख्यमन्त्री गोलेले सन् २०२२ देखि सरकारकै आयोजनामा सिक्किम साहित्यक महोत्सव आयोजना गर्ने बताए । उक्त महोत्सवमा नेपालसँगै छिमेकी राज्यका साहित्यकारलाई निमन्त्रणा गरिने उनले बताए । ‘यसले सबैमा उत्साह र जोस बढ्छ,’ उनले भने, ‘आउने पिँढीले पनि भाषाप्रति चासो देखाउँछ ।’

लेखकको किताब छापिदिने
किताब छाप्न नसक्ने सिक्किमेली साहित्यकारका लागि सिक्किम सरकारले आफैँ किताब छापिदिने भएको छ । यसका लागि मुख्यमन्त्री कोषबाट सरकारले खर्च गर्ने मुख्यमन्त्री गोलेले बताए । ‘सक्नेले आफैँ छापिहाल्छन् । नसक्ने लेखकको प्रोत्साहनका लागि सरकारले नै खर्च गरेर पुस्तक छापिदिन्छ,’ उनले भने । 

नेपाली भाषाले मान्यता पाएको दिन सार्वजनिक बिदा
भारतमा नेपाली भाषाले पनि कामकाजी भाषाका रूपमा मान्यता पाएको छ । अहिले भारतीय संसद्मा पनि सांसदले नेपाली बोल्न छुट पाएको सिक्किमका मुख्यमन्त्री गोलेले बताए । भारतीय संविधानले नेपाली भाषालाई मान्यता दिएपछि सांसद्ले नेपाली भाषामा शपथ लिएको बताए । उनले भारतमा नेपाली भाषाले मान्यता पाएको दिन २० अगस्टमा भाषा मान्यता दिवस मनाउँदै आएको बताए । त्यस दिन सिक्किम सरकारले सार्वजनिक बिदा दिएको बताए । ‘बिदामा घरमा बस्नलाई होइन । २० अगस्टमा भाषा साहित्यको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने निधो गरेका छौँ,’ गोलेले भने । 

कला–साहित्य अध्ययनमा फेलोसिप
सिक्किम सरकारले भाषा र साहित्यमा योगदान पुर्‍याउनेलाई फेलोसिप दिने घोषणा गरेको छ । सिक्किममा प्रचलनमा रहेका कुनै पनि भाषामा विद्यावारिधि गर्नेको खर्च व्यहोर्ने गरी मुख्यमन्त्री गोलेले फेलोसिपको घोषणा गरे । उनले उक्त फेलोसिपको नाम ‘अपतन फेलोसिप’ हुने बताए ।