१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार ०६:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार महिनासम्म उत्तरी गोरखामा खाद्यान्न ढुवानी भएन

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ०६:५५:००

उत्तरी गोरखामा चालू आर्थिक वर्षको चार महिना सकिँदासमेत खाद्यान्न ढुवानी हुन सकेको छैन । पटक–पटक टेन्डर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ । ‘सिर्दिबास डिपोमा अहिलेसम्म चामल ढुवानी भएको छैन, पहिलोपटक टेन्डर आह्वान भएको थियो । तर, कसैको पनि बोलपत्र पेस नभएपछि रद्द भयो,’ कार्यालय प्रमुख नवीन बस्नेतले भने, ‘दोस्रोपटक फेरि टेन्डर आह्वान गरेका छौँ, अहिलेसम्म निर्णय भइसकेको छैन ।’ दोस्रोपटकका लागि असोज २५ गतेदेखि कात्तिक ९ गते खाद्यवस्तु ढुवानीका लागि सिलबन्दी बोलपत्र नाममा सूचना प्रकाशन गरेको थियो । पहिलो चरणमा भने गत असार २२ गते सूचना प्रकाशन भए पनि कसैले पनि बोलपत्र पेस नगरेपछि रद्द भएको थियो । 

खाद्यान्न कम्पनीले तयार गरेको लागत मूल्यभन्दा ठेकेदारले पेस गरेको लागत मूल्य बढी पर्ने गरेकाले पटक–पटक टेन्डर आह्वान भए पनि रद्द हुने गरेको उनले बताए । त्यसैले एकपटकमा ठेक्का नलागेपछि पुनः ढुवानीका लागि बोलपत्र आह्वान गर्ने गरेका छन् । दोस्रोपटकको टेन्डर पनि अस्वीकृत हुने सम्भावना धेरै रहेको बस्नेतको भनाइ छ ।  

बस्नेतले भने, ‘दोस्रोपटकमा तीनजना ठेकेदार कम्पनीले चामल ढुवानीका लागि बोलपत्र पेस गरेका थिए । उनीहरूको हार्डकपी प्रधान कार्यालय पठाएको छु । माथिबाट अहिलेसम्म कुनै आएको छैन ।’ चालू आर्थिक वर्ष उत्तरी गोरखामा तीन हजार पाँच सय क्विन्टल चामल ढुवानी हुने कार्यालयले जनाएको छ । सिर्दिबास डिपोबाट चुमनुब्री गाउँपालिकाभित्रका सिर्दिबास, चुम्चेत, छेकम्पार, विही, ल्हो, प्रोक र सामागाउँलाई चामल ढुवानी हुँदै आएको छ ।

उत्तरी गोरखाको धार्चे र चुमनुब्रीमा धानखेती हुँदैन । यहाँ अन्नबाली कम हुने भएकाले खाद्यान्नका लागि त्यहाँका बासिन्दा बजारमा निर्भर छन् । तर, उत्तरी गोरखामा तत्काल खाद्यान्न अभाव भने नहुने कार्यालय प्रमुख बस्नेत दाबी गर्छन् । अहिले उत्तरी गोरखाको सिर्दिबास डिपोसम्म जाने बाटो खुलेको र खच्चडहरूले सामान ओसारपसार गरिरहेकाले खाद्यान्न अभाव नहुने उनले बताए । 

उक्त क्षेत्रमा चामल अभाव भएमा अर्को वैकल्पिक उपाय खोज्नेसमेत उनको भनाइ छ । सिर्दिबास डिपोमा हाल एक सय २० क्न्टिल चामल बाँकी रहेको बताउँदै स्थानीयहरूको आवश्यकताअनुसार वितरण भइरहेको बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले सिफारिस गरेका आधारमा डिपोबाट चामल वितरण हुने गरेको छ । उत्तरी गोरखामा सोना मन्सुली चामल प्रतिकेजी ५२ रुपैयाँ, मकवानपुरे चामल प्रतिकेजी ५० रुपैयाँमा बिक्री हँुदै आएको छ ।