मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर नियन्त्रणमा राष्ट्र बैंक थप कडा : सबै बैंकको अधिकतम ब्याजदर समान हुने

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशिका जारी गर्दै एउटै वर्गका सबै बैंकको औसत अधिकतम ब्याजदरको तुलनामा १० प्रतिशत बढी मात्रै नयाँ दर तोक्न सक्ने व्यवस्था गरेको छ

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार ०८:४०:००

बैंक तथा वित्तीय संस्थाले दिने अधिकतम ब्याजदर अब समान हुने भएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अब आफ्नो वर्गका सबै बैंकहरूले अघिल्लो महिना प्रस्ताव गरेको औसत अधिकतम ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै वृद्धि गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम ब्याजदर समान बनाउनुपर्ने भएको हो । 

उदाहरणका लागि कात्तिकमा ‘क’ वर्गका वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसतमा ९ दशमलव २६ प्रतिशत ब्याज दिएका थिए । अब त्यसमा १० प्रतिशत थपेर अधिकतम १० दशमलव १८ प्रतिशतसम्म मात्र तोक्न पाउँछन् । ‘वाणिज्य बैंकहरूको रेमिट निक्षेप वा अन्य मुद्दतीमा अधिकतम ब्याजदर थियो भने त्यो समग्र वर्गका संस्थाहरूको यस्तो ब्याजदरको औसतका आधारमा १० प्रतिशतले फेरबदल गर्न पाउने हुन्,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘हाम्रो अनुमानमा अब बैंकहरूको अधिकतम ब्याजदर १० दशमलव शून्य ५ प्रतिशतसम्म हुन सक्छ ।’

कात्तिकका लागि २७ वाणिज्य बैंकमा सबैभन्दा धेरै कुमारी बैंकले ९ दशमलव ९७ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थियो भने स्ट्यान्डर्ड चार्टर्डको कम ७ दशमलव ७ प्रतिशत थियो । कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर औसतमा ९ दशमलव २६ प्रतिशत थियो । अब बैंकहरूले १० दशमलव १८ प्रतिशतसम्म प्रस्ताव गर्न पाउने भएका हुन् । राष्ट्र बैंकको यस्तो प्रयासले बैंकहरूको ब्याजदर थप केही कम हुने भएको छ । कुमारी बैंकले कात्तिकमा प्रकाशित ब्याजदरका आधारमा अधिकतम १० दशमलव ९७ प्रतिशत ब्याजदर प्रस्ताव गर्न सक्थ्यो । तर, राष्ट्र बैंकको नयाँ व्यवस्थाले भने कुमारीलगायतका सबै वाणिज्य बैंकले अधिकतम १० दशमलव १८ प्रतिशतसम्म मात्र ब्याजदर तोक्न पाउनेछन् । यसअघि केही वाणिज्य बैंकहरूले कात्तिकका लागि ब्याजदर प्रकाशित गर्दा १० प्रतिशतमाथि पुगेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरका आधारमा १० प्रतिशतसम्म मात्र वृद्धि गर्न पाउने व्यवस्था गरेको थियो । तर, असोजमै उच्च ब्याजदर बनाएका पाँच वाणिज्य बैंकहरूलाई भने राष्ट्र बैंकको यो व्यवस्थाले राहत पुग्ने र ब्याजदर नबढाएकाको ब्याजदर सँधै ती बैंकहरूको भन्दा कम भइरहने भन्दै केही बैंकरहरूले विरोध गरेका थिए । 

यस्तो विरोधपछि राष्ट्र बैंकले बैंकहरूलाई फोन सम्पर्कबाटै मुद्दती निक्षेपमा ब्याजदर ९ दशमलव ३६ प्रतिशतभन्दा धेरै नबढाउन निर्देशन दिएको थियो । कुमारी र राष्ट्रिय वाणिज्य बैंकले भने रेमिट्यान्स निक्षेप खातामा यो दरभन्दा बढी ब्याज दिइरहेका थिए । केही बैंकले भने राष्ट्र बैंकले तोकेको अधिकतम ९ दशमलव ३६ प्रतिशतभन्दा घटाएरसमेत ब्याजदर प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले मौखिक रूपमा तोकेकोभन्दा बढी ब्याज प्रस्ताव गरेकालाई लगाम लगाउन र कम ब्याजदर प्रस्ताव गर्नेले समेत समान ब्याजदर बनाउन सक्ने गरी अवसर दिएको देखिन्छ । कात्तिकका लागि अधिकतम ब्याजदर अन्यभन्दा कम गरेका सन्राइज, सानिमा, प्रभु, सिटिजन्स, कृषि विकास र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि चाहेमा १० दशमलव १८ प्रतिशत ब्याजदर तोक्न सक्ने अवस्था बनेको छ । 

निक्षेप जोगाउन ०.१% सम्म बढी ब्याज दिन पाइने
बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको निक्षेप जोगाउन ० दशमलव १ प्रतिशतसम्म बढी ब्याज दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बोलकबोलमार्फतका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नुपर्ने पुरानो व्यवस्थामा प्रतिबन्धात्मक वाक्यांश थप गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । ‘आफूसँगै रहेको निक्षेपलाई पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दुसम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।