मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा साहित्यकार लीलबहादुर क्षेत्रीलाई सम्मान गर्दै ।
नयाँ पत्रिका विराटनगर
२०७८ कार्तिक २४ बुधबार ०६:४२:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बसाइँ उपन्यासका लेखक क्षेत्री पद्मश्रीबाट सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ कार्तिक २४ बुधबार ०६:४२:००

भारतको असम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित सम्मान पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । उनले लेखेको उपन्यास बसाइँ नेपालका विश्वविद्यालयहरूमा समेत पठनपाठन हुने गर्छ । उनी आख्यानकार, नाटककार, निबन्धकार, समालोचकका रूपमा पनि उत्तिकै चर्चित छन् । भारतको राजधानी नयाँदिल्लीस्थित रास्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनलाई भारतको चौथो सर्वोच्च असामरिक सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मान गरिएको हो ।

 क्षेत्रीको नेपाली भाषा–साहित्यप्रतिको आजीवन लगनशीलता र योगदानको निम्ति उनलाई पद्मश्री सम्मानद्वारा पुरस्कृत गरिएको गुवाहटीबाट साहित्यकार रुद्र बरालले जानकारी दिए । क्षेत्री आर्य विद्यापीठ महाविद्यालय, गुवाहटीका अर्थशास्त्रका पूर्वअध्यापक पनि हुन् । पद्मश्री पुरस्कारका लागि क्षेत्रीको मनोनयनका निम्ति आसम नेपाली साहित्य सभाले संस्थागत रूपमा पहल गरेको थियो । 

नेपालीभाषीहरूले असमका पूर्वमुख्यमन्त्री सर्वानन्द सोनोवाललाई भेट गरी उनको नाम सिफारिस गर्न आग्रह गरेका थिए । असमका प्रख्यात चिकित्सक तथा लीलबहादुर क्षेत्रीका ज्वाइँ डा. कमल क्षेत्री तथा गुवाहटी विश्वविद्यालयका आधुनिक भारतीय भाषा विषयका अध्यापक डा. खगेन शर्माले पनि क्षेत्रीलाई विशिष्ट सम्मानका लागि प्रस्ताव गरेका थिए । प्राध्यापक क्षेत्रीको बसाइँ उपन्यास लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सर्वाधिक प्रकाशित पुस्तक पनि हो । यो पुस्तक नेपालसहित विभिन्न देशका विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ । उनका उपन्यासहरू अंग्रेजी, हिन्दी, असामी, चिनियाँलगायत भाषामा समेत अनुदित भएका छन् । 

आजीवन साहित्य सिर्जनामा बिताएका क्षेत्रीले अकादमी पुरस्कार (ब्रह्मपुत्रको छेउछाउ, उपन्यास), भानु पुरस्कार, वासुदेव मालती स्मृति पुरस्कार र नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक प्रवर्तन गरेको अन्तर्राष्ट्रिय भानु पुरस्कार पाइसकेका छन् । यसपटक पद्मश्री पुरस्कारले सम्मानित भएर क्षेत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शीर उँचा गरेको पश्चिम बंगालको डुबर्समा बस्दै आएका कलाकार साहित्यकार अमिर सुन्दासले बताए । भारतमा अतिविशिष्ठ मानिने पद्मश्री पुरस्कार पाउने क्षेत्री पूर्वोत्तर भारतका पहिलो नेपालीभाषी पनि हुन् ।