निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
तस्बिर : गणेश लम्साल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक १५ सोमबार ०७:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी वर्षा र बाढीले पूर्वका ४१ उद्योगमा साढे दुई अर्ब क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक १५ सोमबार ०७:२९:००

 बुढीगंगा र कटहरी गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र विराटनगर महानगरपालिकास्थित उद्योग बढी प्रभावित

 केही उद्योग तत्काल सञ्चालनमा आउन नसक्ने, क्षतिको आँकडा अझै बढ्ने

बेमौसमी वर्षाका कारण आएको बाढीले मोरङ, सुनसरी र उदयपुरमा सञ्चालित ४१ औद्योगिक प्रतिष्ठानमा करिब साढे दुई अर्ब रुपैयाँबराबरको क्षति पुर्‍याएको छ । उद्योग संगठन मोरङले आइतबार सार्वजनिक गरेको औद्योगिक क्षेत्रमा बाढीपछिको प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार १ कात्तिकदेखि ३ गतेसम्म परेको अविरल वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको हो ।

संगठनले सुनसरी–मोरङ र विराटनगर–कटारी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरूमा परेको प्रभाव र क्षतिको अध्ययन गरेको थियो । बाढीपश्चात् संगठनले स्थलगत अवलोकन तथा अनलाइनमार्फत तथ्यांक संकलन गरेको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘४१ उद्योगमा दुई अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको क्षति भएको छ,’ उनले भने, ‘बेमौसमी वर्षाका कारण पूर्वका धेरै उद्योगहरू प्रभावित भएका छन् ।’

 यसरी डुबानमा परे उद्योग 
बाढी र डुबानले सबैभन्दा बढी प्रभावित उद्योगहरू बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको अध्ययनले देखाएको छ । विश्वव्यापी मौसममा भएको परिवर्तन, वातावरण विनाशलगायतका कारण कात्तिकमा अप्रत्याशित वर्षा हुनु, केही घन्टा परेको पानीले ठूलो क्षति पुर्‍याउनु मानव सिर्जित समस्या पनि भएको अध्ययनमा खटिएको टोलीको निष्कर्ष छ । धरान–विराटनगर राजमार्गमा पूर्व–पश्चिममा रहेका कल्भर्टहरू सबै ६ लेनको बाटो बनाउँदा हटाइएको संगठनको भनाइ छ ।

 संगठनका अध्यक्ष प्याकुरेलले विकास निर्माणका काम गर्दा स्थानीयस्तरमा विशेष गरी उद्योग–व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राखे । प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्यूनीकरणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ बाढीपछिको प्रभाव मूल्यांकन गरिएको उनको भनाइ थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणका क्रममा अध्ययन–विश्लेषणका साथै सम्बन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने बताए । साथै, उनले आफ्नो क्षेत्रमा भइरहेको निर्माणका सम्बन्धमा नागरिकहरूले पनि सम्बन्धित पक्षलाई खबरदारी गर्नुपर्ने धारणा व्यक्त गरे । 

कुन उद्योगमा  कति क्षति ?
प्रतिवेदनअनुसार मेसिन औजारमा ९८ करोड १७ लाख, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख, तयारी वस्तुमा ७६ करोड चार लाख र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख रुपैयाँबराबरको क्षति भएको छ । अप्रत्याशित रूपमा आएको बाढी र डुबानले उद्योगभित्र रहेका धेरै कच्चापदार्थ र तयारी मालवस्तु नष्ट भएको संगठनका अध्यक्ष प्याकुरेलले बताए ।

बाढी र डुबानका कारण उद्योगहरू बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्च, उत्पादनको अवसर मूल्य तथा बजार शृंखला टुट्न गई ठूलो व्ययभार थपिएको अध्ययनले देखाएको छ । संगठनका अनुसार अध्ययनमा समेटिएका ४१ वटा उद्योगहरूको दैनिक प्रशासनिक खर्च करिब पाँच करोडको हाराहारीमा रहेको छ । 

बाढीबाट प्रभावित उद्योगहरूमध्ये २७ वटा उद्योगहरू एक हप्तासम्म सञ्चालनमा आउन सकेनन् । त्यस्तै, सातवटा उद्योगलाई सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने, तीनवटा उद्योगहरूलाई चार हप्ता र चारवटा उद्योगहरूलाई पूर्ववत् अवस्थामा सञ्चालनमा आउन अझै चार हप्ताभन्दा बढी समय लाग्ने अध्ययनले देखाएको छ । कतिपय उद्योग तत्काल सञ्चालनमा आउन नसक्ने हुँदा क्षतिको आँकडा अझै बढ्ने सम्भावना रहेको अध्यक्ष प्याकुरेलले बताए ।