मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक १२ शुक्रबार १२:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा कोरोना संक्रमणदर न्यून

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १२ शुक्रबार १२:१६:००

रसुवामा कोरोना संक्रमणदर न्यून रहेको पाइएको छ । १५ दिन अघिदेखि कोरोना संक्रमणदर शून्य भएको जिल्लामा बिहीबार चारजना संक्रमित थपिएका छन्। गएको असोज २९ गतेदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चारजनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए।  

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार जिल्लामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये एक हजार तीन सय २३ जना निको भएका छन् भने चारजना अहिले होम आइसोलेसनमा रहेका छन्। 

त्यसैगरी दुई हजार सात सय ५३ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा सात सयजनामा कोरोना पुष्टि भएको छ भने एन्टिजेन विधिबाट एक हजार नाै सय ७४ जनाको कोरोना परीक्षण गरिएकोमा ६ सय २७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । कोरोना संक्रमणका कारण जिल्लामा दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ। जिल्लाको कालिका गाउँपालिकाका दुईजनाको कोरोनाका कारण मृत्यु भएको बताइएको छ। तर, जिल्लाका केही नागरिक बाहिरी जिल्लामा कोरोना संक्रमित भई ज्यान गुमाएको पनि पाइएको छ।  करिब सातजनाले नुवाकोट, काठमाडाैंलगायतका स्थानमा ज्यान गुमाएको पाइएको छ। स्वास्थ्य कार्यालय रसुवासँग यो तथ्यांक भने छैन। 

जिल्लामा कोरोना संक्रमण भएकाहरूमा अत्यधिक ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको थियो। संक्रमितहरूको रसुवा अस्पताल धुन्चे, जिबजिबे ग्रामीण अस्पताल जिबजिबेलगायतका स्वास्थ्य संस्थाबाट उपचार गर्ने गरिएको छ । जिल्लामा उपचार सम्भव नभएका जटिल बिरामीहरुलाई नुवाकोट तथा काठमाडाैं रिफर गरिएको थियो।  जिल्लामा आइसोलेसन निर्माण गरी संक्रमितको उपचारको व्यवस्थासमेत गरिएको छ। रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताल जिबजिबेमा १५–१५ बेडका आइसोलेसन कक्ष रहेका छन्। जिल्लाका स्थानीय तहहरूले पनि संक्रमितको संख्या बढ्न सक्ने जोखिमलाई मध्यनजर राख्दै आइसोलेसन कक्ष निर्माण गरेका छन्। 

पछिल्लो समय जिल्लामा कोरोना परीक्षण बढाइएको छैन। कोरोनाका लक्षण मिल्दाजुल्दा बिरामी आएमा मात्र कोरोना परीक्षण हुने गरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए। ‘पछिल्लो समय फिल्डमै गएर कोरोना परीक्षण भएको छैन, यदि कसैलाई लक्षण मिल्दाजुल्दा देखिएर कोरोना परीक्षण गर्नुपर्‍याे भनेर आउनुभएकाको गरिएको छ,’ उनले भने। 

कोरोना महामारी कम भएसँगै नागरिकहरूको जीवनशैली सामान्य अवस्थामा फर्किएको छ। कोरोनाविरुद्धको खोप लगाइसकेकाले जोखिम नरहेको नागरिकहरूको बुझाइ छ। तर, स्वास्थ्यकर्मीहश्कार अनुसार कोरोना जोखिम अझै कायमै रहेको छ । स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।कोरोना भाइरसको महामारी केही मत्थर भए पनि जिल्लामा पछिल्लो समय   सिजनल भाइरलका बिरामी बढेको पाइएको छ। जिल्लाका नवजात शिशुदेखि वृद्धपृद्धाहरूमा सिजनल भाइरल देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको जिबजिबे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । ‘कडा खालको ज्वरो आउनेलगायतको समस्या देखिएका बिरामीहरू अस्पतालमा आइरहनुभएको छ, तर कोरोना परीक्षणमा भने उहाँहरूको नेगेटिभ आइरहेको छ,’ उनले भने। 

जिल्लामा आइसियू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ।