मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक ११ बिहीबार ०६:१३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जंकफुडले बालबालिकामा मोटोपन

Read Time : > 2 मिनेट
२०७८ कार्तिक ११ बिहीबार ०६:१३:००

‘राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ को अध्ययनमा देशभर अधिक तौल भएका बालबालिकाको संख्या एक प्रतिशत थियो । मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९ मा यो दर बढेर २.६ प्रतिशतमा पुगेको तथ्यांकले देखाउँछ । जसमध्ये सबैभन्दा धेरै प्रदेश २ मा अधिक तौल भएका बालबालिकाको दर ३.८ प्रतिशत छ भने कर्णालीमा २.२ प्रतिशतले बढेर ३.७ पुगेको उल्लेख छ । निष्क्रिय जीवनशैली र अत्यधिक चिल्लो, गुलियो, नुनिलो खानपानका कारण बालबालिकामा मात्रै नभई हरेक उमेर समूहमा बढी तौल मुख्य समस्या बन्दै गइरहेको छ । 

बढ्दै गएको मोटोपन र अत्यधिक तौलको मुख्य कारण जंकफुडलाई मान्ने गरिको छ । चिकित्सकहरूका अनुसार नियमित जंकफुड खाँदा मोटोपना र दीर्घ रोगहरू जस्तै हृदयरोग, टाइप २ मधुमेह, गैर–अल्कोहलयुक्त फ्याटी लिभर र केही क्यान्सरहरूको जोखिम बढ्न सक्छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले विश्वभर वयस्कहरूको औसत ३५ प्रतिशत दैनिक ऊर्जा र बालबालिकामा ४१ प्रतिशत दैनिक ऊर्जा जंकफुडबाट आउने उल्लेख गरेको छ । उक्त अध्ययन प्रतिवेदनले जंकफुडले दैनिक आहारमा पौष्टिक पदार्थको स्थान लिइरहेको जनाएको छ ।

पोषणविद्, डा. अरुणा उप्रेतीका अनुसार चिनी, नुन र चिल्लोपन बढी भएका र प्रोटिन, भिटामिन, खनिजलगायत महत्वपूर्ण पौष्टिक तत्व नभएका खाद्यपदार्थ जंकफुड हुन् । जंकफुडअन्तर्गत पर्ने बिस्कुट, कुकिज, चकलेट, क्यान्डी, गुलियो पेय पदार्थ, चाउचाउ, कुरकुरे, आलुचिप्स, फ्रेन्च फ्राइ, प्याक गरिएको जुसजस्ता तयारी खानेकुरा नेपालमा अत्यधिक माग हुने गर्छ । उनी भन्छिन्, ‘जिब्रोको स्वादका लागि जंकफुडको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । बालबालिकामा जंकफुड र फास्टफुडको प्रयोग फेसनजस्तै बनिसक्यो, यसले स्वास्थ्यमा पार्ने असरबारे थाहा हुँदाहुँदै पनि अत्यधिक प्रयोगमा ल्याउने प्रशस्त छन् ।’ 

 एक दशकमा सवा खर्बको जंकफुड आयात
विदेशबाट आयात हुने जंकफुडको मात्राले पनि नेपालमा बर्सेनि जंकफुडको प्रयोग बढीरहेको देखाउँछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो एक दशकमा मात्रै विभिन्न मुलुकबाट एक सय २४ प्रकारका एक खर्ब ३९ अर्ब ५६ करोड ४९ लाखबराबरको जंकफुड आयात भएको छ । सन् २००८ देखि २०२० मा एक खर्ब २९ अर्बबराबरको ठोस जंकफुड आयात भएको तथ्यांक छ । यो अवधिमा विभिन्न देशबाट ८४ करोड ६३ लाख ३५ हजार किलो ठोस वस्तु आयात भएको छ । यस्तै १४ करोड ६४ लाख लिटर तरल जंकफुड अर्थात् १० अर्ब ५८ करोड ४१ लाखबराबरको आयात भएको थियो । 

 नेपालमा कति जंकफुड उत्पादन हुन्छ यकिन विवरण छैन 
नेपालमा दैनिक उत्पादन हुने जंकफुडको यकिन तथ्यांक उपलब्ध नभए पनि बजारमा बढ्दो जंकफुडको माग हेर्दा स्वास्थ्य समस्याको मुख्य कारण जंकफुड नै भएको बताउँछिन्, पोषणविद्, डा. उप्रेती । उनका अनुसार, व्यवसायका लागि गरिने भड्किला विज्ञापनका कारण स्वादका लागि अत्यधिक मसालायुक्त प्रशोधित खाद्यपदार्थ र पेयपदार्थहरू धुमपान र मध्यपानभन्दा कम हानिकारक छैनन् । अध्ययनअनुसार कोल्डड्रिंक्सको प्रयोग बढ्दै जाँदा मस्तिष्कमा असर पर्नुका साथै रक्तचाप र खराब कोलेस्ट्रोल बढाउँछ, जुन मुटुरोगको मुख्य कारक मानिन्छ । तर, नेपालमा हल्का पेय पदार्थको माग बर्सेनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो एक दशकमा सबैभन्दा बढी ३४ अर्ब १२ करोडबराबरको आठ करोड ८४ लाख किलो हल्का पेय पदार्थ बनाउने कच्चा पदार्थ आयात भएको छ । 

 विश्वका तीन करोड ९० लाख बालबालिकामा मोटोपना
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२० मा पाँच वर्षमुनिका ३९ मिलियन (तीन करोड ९० लाख) बालबालिका मोटोपनबाट ग्रसित छन् । कोभिड महामारीपछि मोटोपनको समस्या अत्याधिक बढेकोले खानपान असन्तुलित हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनीसमेत दिएको छ । तर, नेपालमा भने यस्ता वस्तुको उत्पादन र आयात बढ्दै गएको छ । पछिल्लो दश वर्षमा १३ अर्ब ६२ करोड ६४ लाखबराबरको १६ करोड ४० लाख किलो बिस्कुट र तीन करोड ३८ लाख (१० अर्ब ८२ करोडबराबरको) किलो चकलेट आयात भएको छ ।

यस्तै, करिब नौ अर्बबराबरको साढे चार करोड किलो दालमोठ, नुनको उच्च मात्रा हुने भुजिया, कुरकुरे, लेजजस्ता वस्तु आयात भएका छन् । डा. संकेत रिजालमा अनुसार मोटोपनसँग जोडिएर आउने स्वास्थ्य समस्या मृत्युको प्रमुख कारणसमेत बन्न थालेको छ । अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली दीर्घ रोगको समेत कारक हुन् । उनी भन्छन्, ‘अहिले दिनभर प्रयोग गरिने खाद्यपदार्थमा जंकफुड र फास्टफुडको मात्रा बढी हुन्छ । स्कुले बालबालिका र युवामा मात्र जंकफुडको मोह सीमित छैन । सजिलो र सहज उपलब्धताका कारण पोषिलो आहारभन्दा जंकफुड बढी प्रयोग हुन्छ । मुटु, कलेजो, पाचनप्रणाली र मस्तिष्कमा देखिने विभिन्न रोगसँग खानपान प्रत्यक्ष रूपमा जोडिएका छन् ।’