टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ७ शुक्रबार
  • Friday, 21 January, 2022
आकर्षक ब्याज दिने प्रलोभनमा सिभिल सहकारीले २२ सय निक्षेपकर्ताबाट आठ अर्बभन्दा धेरै संकलन गर्‍यो । डुबेको रकम फिर्ता लिन छलफलमा जुटेका पीडित ।
टेकराज थामी काठमाडाैं
२०७८ कार्तिक ७ आइतबार ०८:४४:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिभिल सहकारीका बचतकर्ताहरूको दर्दनाक कथा : बिरामी पर्दासमेत आफूले जम्मा गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ कार्तिक ७ आइतबार ०८:४४:००

बिरामी पर्दासमेत आफूले जम्मा गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो

मनग्य ब्याज दिने भनेपछि नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी डा. गौतमरत्न शाक्यले आफूसँग भएको एक करोड लगेर सिभिल सहकारीमा जम्मा गरे । दु:ख–बिराम पर्दा ब्याजकै रकमले उपचार खर्च जुटाउन सकिने अपेक्षामा थिए । तर, बिमारीले थलिएर उपचार गर्न नसक्दा पनि सहकारीले पैसा नदिएपछि केही समयअघि उनले ज्यान नै गुमाउनुपर्‍यो । 

बुढेसकाल सहज बनाउन रकम जम्मा गरे, तर बिरामीले थलिँदासमेत पाएनन् : उज्ज्वल सत्याल, संयोजक, सिभिल सहकारीपीडित संघर्ष समिति

सिभिल सहकारीका निक्षेपकर्तामध्ये अधिकांश ६० वर्षभन्दा माथिका छन् । सहकारीबाट आएको ब्याजले बुढेसकालमा उपचार गरौँला भन्ने आशामा जीवनभरको कमाइ जम्मा गरे । बिरामी भएपछि रकम लिन सहकारी पुगे । तर, सहकारीले ब्याज त के, सावाँ रकमसमेत दिएन । पैसा नभएर आठजना निक्षेपकर्ताको मृत्यु भएको हाम्रो सूचनामा आएको छ । 

गौतमरत्नकी श्रीमती मोहनहिरा शाक्यले नयाँ पत्रिकासँग भनिन्, ‘उहाँ (गौतमरत्न) अचानक बेहोस हुनुभयो । हतार–हतार मेडिसिटी अस्पताल पुर्‍यायौँ । मस्तिष्कमा रगत जमेको रहेछ । एक महिना उपचार गर्दा ३२ लाखको बिल उठ्यो । तिर्ने पैसा थिएन । जम्मा गरेको रकम झिक्न सिभिल सहकारी गयौँ । तर, एक रुपैयाँ पनि दिएन ।’

उनका अनुसार गौतमरत्नलाई मेडिसिटीमा खर्च धान्न नसकेपछि सैनिक अस्पताल छाउनीमा लगियो । चिकित्सकहरूले दिल्ली लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावमा परिवारले दिल्ली लैजान सकेन । 

‘सरकारीमा जम्मा भएको आफ्नो पैसा पाएको भए दिल्ली लगेर उपचार गर्न सकिन्थ्यो । तर, सहकारीले ठगेपछि छाउनी अस्पतालमै ६ महिनापछि उहाँको देहान्त भयो,’ उनले भनिन् ।

नेपाल सरकारका पूर्ववरिष्ठ मत्स्य विकास अधिकारी गोपालबहादुर श्रेष्ठले पनि जीवनभर जम्मा गरेको ३५ लाख लगेर तीन वर्षअघि सिभिल सहकारीमा जम्मा गरे । प्राप्त हुने ब्याजले परिआउने समस्या टार्ने सपना थियो । तर, उनले पनि बिरामी हुँदा ब्याज त के साँवा रकमसमेत पाउन सकेनन् । अन्ततः उपचार खर्च नपुग्दा उनले दुई महिनाअघि प्राण त्यागे । 

छोरा आशिषका अनुसार गोपालबहादुरलाई पिसाबमा संक्रमण भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारका क्रममा १७ लाख रुपैयाँ सकियो । रकम अभाव भएपछि आशिष सहकारीको कार्यालयमा हप्ता दिनसम्म धाए । तर, रकम निकासा भएन । 

उनले घटना सुनाए, ‘बुबाले तीन वर्षअघि ३५ लाख रुपैयाँ सहकारीमा राख्नुभएको थियो । उहाँ बिरामी परेपछि उपचारमा ठूलै रकम लाग्यो । ग्रान्डीमा राख्दा १७ लाख सकियो । आफूले जम्मा गरेको पैसा पाइएला भनेर सिभिल सहकारी गएँ । तर, ब्याज त के साँवा पनि दिएन । बुबाको उपचारमा आर्थिक अभाव भयो । अहिले बुबा बितिसक्नुभयो ।’

ललितपुर झम्सिखेलकी संगिता पाण्डे अहिले शोकमा छिन् । उनले श्रीमान् गुमाएको ६ दिन मात्रै भएको छ । उपचार गर्ने पैसा हुन्थ्यो भने श्रीमान्लाई बचाउन सकिन्थ्यो भन्ने उनलाई लागिरहेको छ । ‘भएभरको पैसा सिभिल सहकारीमा राखियो, श्रीमान् बिरामी पर्दा पटक–पटक याचना गर्दा पनि दिएन । अन्ततः उहाँलाई गुमाउनुपर्‍यो,’ संगिताले दु:ख बिसाइन् । 

पीडितको रकम फिर्ता गर्न दोषीको सम्पत्ति खोजी गर्दै छौँ : डिआइजी धीरजप्रताप सिंह, प्रमुख, सिआइबी

सिभिल सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा कतिले उपचार गर्नसमेत पाएनन् । सोही कारण आठजनाको मृत्यु भएको सूचना हामीकहाँ आएको छ । यस विषयमा हामी गम्भीर छौँ । दोषीलाई कारबाही गर्ने त छँदै छ, डुबेको रकम पीडितलाई कसरी फिर्ता गर्न सकिन्छ, त्यस विषयमा पनि हामी गम्भीर तवरले जुटेका छौँ । त्यसैले पक्राउ परेका सबैको सम्पत्ति खोजी गरिरहेका छौँ ।

उनले १० वर्षअघि नै सिभिल सहकारीमा ७५ लाख जम्मा गरेकी थिइन् । श्रीमान् केन अफुललाई त्यतिवेलै डिमेन्सिया (मस्तिष्कलाई कमजोर पार्ने रोग) भएको थियो । उनले काम गर्न नसक्ने भएपछि ब्याजले भए पनि छोरी पढाउन र घरखर्च चलाउन पुग्छ भनेर भएभरको पैसा सहकारीमा राखेकी थिइन् । उनका अनुसार सुरुसुरुमा ब्याज पनि पाइन् । तर, पछि ब्याज दिन छाड्यो । ब्याज नपाएपछि साँवा निकाल्न खोजिन्, तर सहकारीले बहानाबाजी गरेर टार्दै आयो । 

यता श्रीमान्लाई बिरामले गाल्दै गएपछि उपचार खर्च बढ्न थाल्यो । संगितासँग आर्थिक स्रोतको अरू विकल्प थिएन । तर, पटक–पटक सहकारी पुगेर श्रीमान् गम्भीर भएको याचना गर्दा पनि पैसा दिएन । चाहेजस्तो उपचार गर्न नसक्दा श्रीमान् नै गुमाउनुपर्‍यो । 

‘श्रीमान्लाई डिमेन्सिया भयो । उहाँले काम गर्न सक्नुभएन । ब्याज धेरै दिने भनेपछि १० वर्षअघि ७५ लाख सहकारीमा राखेँ । सोही ब्याजले छोरी पढाउने र घरखर्च चलाउने योजना थियो । सुरुमा त ब्याज पाएको पनि हो । तर, पछि दिन छाड्यो । केही वर्षपछि श्रीमान्को उपचार खर्च बढ्दै गयो । तर, अन्य आर्थिक स्रोत थिएन । रकम झिक्न पटक–पटक सहकारी जाँदा पनि पाइएन,’ संगिताले भनिन् । 

सडक विभागका पूर्ववरिष्ठ इन्जिनियर रामबाबु खनालले सिभिल सहकारीमा ७० लाख रुपैयाँ जम्मा गरे । बिरामी हुँदा सहकारीबाट प्राप्त ब्याजले खर्च धान्ने योजना थियो । मूत्रथैलीको बिरामी उनलाई पछि क्यान्सर भयो । उपचारका लागि ठूलो खर्च लाग्ने भयो । छोरा सञ्जीव रकम झिक्न सहकारी पुगे । पैसा पाऊँ भनेर निवेदन दिए । तर, सहकारीले ब्याज, साँवा केही दिएन । अहिले रामबाबुको मृत्यु भइसकेको छ । तर, सहकारीमा डुबेको रकम अझै उठेको छैन । 

‘राम्रो ब्याज पनि दिन्छ र सुरक्षित पनि हुन्छ भनेर बुबाले तराईको जग्गासमेत बेचेर सिभिल सहकारीमा पैसा राख्नुभएको थियो,’ काठमाडौंको हाँडीगाउँ बस्ने छोरा सञ्जीवले भने, ‘उहाँ बिरामी पर्नुभयो । परीक्षण गर्दा क्यान्सर नै देखियो । उपचारमा धेरै रकम लाग्ने भएपछि जम्मा गरेको पैसा झिक्न सहकारी पुग्यौँ । तर, सहकारीले दिएन । त्यत्रो रोग लाग्दा पनि उपचार गर्न आफ्नै पैसा पाउनुभएन । अहिले बुबाको निधन भइसक्यो । सहकारीले ७० लाख अझै दिएको छैन ।’

प्रजातन्त्रकालीन राजपरिषद् सदस्य थिए, यज्ञप्रसाद आचार्य । उनले सिभिल सहकारीमा १६ लाख रुपैयाँ जम्मा गरे । पछि श्रीमतीको नाममा पनि खाता खोले र थप ३२ लाख रुपैयाँ राखे । सहकारीमा ४८ लाख रुपैयाँ जम्मा भयो ।

एक वर्षअघि उनलाई बे्रन स्ट्रोक भयो । उपचारका लागि परिवारले मेडिसिटी अस्पताल पुर्‍याए । खर्च धेरै लाग्ने भएपछि छोरा सुरेश जम्मा गरेको पैसा झिक्न सिभिल सहकारी पुगे । तर, सहकारीले दिएन । आचार्यलाई पछि नर्भिक अस्पताल भर्ना गरियो । ६ महिनासम्म अस्पतालमा राखियो । बुबाको उपचारमा खर्च धेरै लाग्ने भएपछि सुरेश फेरि रकम झिक्न सिभिल पुगे । सहकारीले चासै दिएन । अहिले यज्ञप्रसादको मृत्यु भइसकेको छ । 

सुरेशले भने, ‘बुबालाई वर्ष दिनअघि ब्रेन स्ट्रोक भयो । मेडिसिटी र नर्भिक अस्पतालमा उपचार भयो । निकै खर्च लाग्यो । सहकारीमा बुबाको रकम थियो । झिक्न हामी पुग्यौँ । तर, पाउन सकेनौँ । अहिले त्यो रकम आमाको खातामा ट्रान्सफर भएको छ । तर, अझै झिक्न सकिएको छैन ।’

मुटुकी बिरामी काठमाडौंकी शोभा तुलाधर दुई वर्षअघि अचानक गम्भीर बनिन् । उपचारका लागि अस्पताल भर्ना गरियो । उनका श्रीमान् प्रेमसुन्दरले सहकारीमा ५० लाख रुपैयाँ जम्मा गरेका थिए । श्रीमतीको उपचारका लागि उनले सहकारीबाट पैसा झिक्न खोजे । तर, उनलाई पनि सहकारीले पैसा दिएन । छोरा सलिल तुलाधरका अनुसार शोभाको मृत्यु भइसकेको छ । तर, सहकारीको पचास लाख रुपैयाँ अझै झिक्न सकेका छैनन् । 

काठमाडौं मरुटोलका राजेन्द्रलाल श्रेष्ठले पनि सहकारीको आफ्नै पैसा नपाउँदा खर्च अभावमा ज्यान गुमाउनुपर्‍यो । उनकी श्रीमती मेनुकाले सहकारीमा जीवनभरको कमाइबाट जोगाएको ३१ लाख जम्मा गरेकी थिइन् । तर, श्रीमान् बिरामी हुँदा सहकारीले दिएन । 

काठमाडौंकी इन्दिरा श्रेष्ठको पनि सिभिल सहकारीमा पैसा थियो, तर बिरामी पर्दा उपचार खर्च नपाएर ज्यान गुमाइन् । उनको परिवारका सदस्य पनि जम्मा गरेको रकम लिन सिभिल सहकारी पुगेका थिए । तर, सहकारीले रकम निकासा गरेन । 

अहिलेसम्म आठजना सिभिल सहकारीपीडितले आवश्यक उपचार खर्च जुटाउन नसक्दा ज्यान गुमाएको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडपीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए । ‘सिभिल सहकारीमा रकम जम्मा गरेकाहरूले उपचार खर्चसमेत पाएनन् । उपचार गर्न नसकेर उनीहरूले ज्यान नै गुमाउनुपरेको छ । जानकारीमा आएसम्म आठजना पीडितको यसकारण मृत्यु भइसकेको छ ।’

निक्षेप रकम फिर्ता नपाउँदा उपचार हुन नसकेको र सोहीकारण मृत्यु भएको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पनि पुगेको छ । सहकारीबाट ठगिएकाहरूको रकम फिर्ता गर्ने सन्दर्भमा गहन रूपमा अध्ययन भएको सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । 

उनले भने, ‘जम्मा गरेको रकम फिर्ता नपाउँदा कतिले उपचार गर्नसमेत पाएनन् । सोहीकारण आठजनाको मृत्यु भएको सूचना हामीकहाँ पनि आएको छ । यस विषयमा हामी गम्भीर छौँ । दोषीलाई कारबाही गर्ने त छँदै छ । डुबेको रकम पीडितलाई कसरी फिर्ता गर्न सकिन्छ ? त्यस विषयमा पनि हामी गम्भीर तवरले जुटेका छौँ । त्यसैले पक्राउ परेका सबैको सम्पत्ति खोजी भइरहेको छ ।’

सुधीर बस्नेतबाट ठगिएकाहरूले अझै पाएनन् न्याय 
ओरेन्टल बचत तथा ऋण सहकारी लिमिटेडले ११ हजार आठ सय ४० निक्षेपकर्ताको ६ अर्ब ८६ करोड रुपैयाँ डुबायो । सहकारीका सञ्चालक थिए– सुधीर बस्नेत । उनले निक्षेपकर्ताबाट संकलन गरेको रकम हाउजिङ तथा घरजग्गामा लगाए । तर, व्यवसाय आशातीत तवरले चलेन । सहकारी समस्याग्रस्त बन्यो । निक्षेपकर्ताले भनेको समयमा निक्षेप फिर्ता लिन सकेनन् ।

बस्नेतविरुद्ध उजुरी पर्‍यो । सोही उजुरीकै आधारमा बस्नेत १३ पुुस ०७३ मा पक्राउ परे । ठगी मुद्दा प्रमाणित गर्दै उनलाई अदालतले सजाय पनि तोक्यो । उनी जेल बसे । २२ जेठ ०७५ मा धरौटी रकम बुझाएर बस्नेत जेलमुक्त भइसके । त्यसयता उनी परिवारसँगै बस्दै आएका छन् । तर, उनीबाट ठगिएकामध्ये कसैले पनि निक्षेप फिर्ता पाउन सकेका छैनन् ।

निक्षेपकर्ताको रकम फिर्ता गराउन सरकारले त्यसवेला पूर्वन्यायाधीश गौरीबहादुर प्रधानको संयोजकत्वमा ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’ गठन गरेको थियो । पछि सरकारले ‘बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोग– २०७०’ पनि गठन गर्‍यो । समितिले प्रतिवेदन पनि बनायो । तर, निक्षेपकर्ताले डुबेको रकम फिर्ता पाउन सकेनन् । 

दिवाकर श्रेष्ठ जसले निक्षेपकर्ताको एक अर्ब डुबाए 
ललितपुरको कुमारीपाटीस्थित गुडविल सहकारीका सञ्चालक थिए– दिवाकर श्रेष्ठ । उनले पाँच सयभन्दा धेरै निक्षेपकर्ताबाट १० हजार रुपैयाँदेखि एक करोड रुपैयाँभन्दा धेरै निक्षेप संकलन गरे । घरजग्गामा लगानी गरे । तर, उनको पनि व्यवसाय डुब्यो । सँगै निक्षेपकर्ताको निक्षेप पनि डुब्यो । गत चैतमा पक्राउ परेका उनी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् । तर, निक्षेपकर्तामध्ये कसैको पनि लगानी उठ्न सकेको छैन ।

चार बचतकर्ता जसले उपचार गर्न पनि आफ्नै पैसा पाएनन्

काठमाडौंकी मोहनहिरा शाक्य भन्छिन्– सहकारीमा एक करोड थियो, तर पैसा नदिएपछि उपचार गर्न नसकेर श्रीमान्को ज्यान गयो

श्रीमान् सेनाका अवकाशप्राप्त उपरथी गौतमरत्न शाक्य एक दिन अचानक बेहोस हुनुभयो । मेडिसिटी अस्पताल पुर्‍याएपछि थाहा भयो मस्तिष्कमा रगत जमेको रहेछ । एक महिना उपचार गर्दा ३२ लाखको बिल उठ्यो । तिर्ने पैसा थिएन । उहाँले यस्तै दु:खमा चाहिन्छ भनेर सिभिल सहकारीमा एक करोड जम्मा गर्नुभएको थियो । तर, श्रीमान् बिरामी परेपछि रकम झिक्न सहकारीमा जाँदा एक रुपैयाँ पनि दिएन । खर्च धान्न नसकेपछि सैनिक अस्पताल छाउनीमा लग्यौं, चिकित्सकहरूले दिल्ली लैजान सुझाब दिए । तर, आर्थिक अभावले सकिएन । सहकारीले पैसा दिएको भए दिल्ली लगेर उपचार गर्न सकिन्थ्यो । तर, छाउनी अस्पतालमै ६ महिनापछि उहाँको देहान्त भयो । 

झम्सिखेलकी संगीता पाण्डे भन्छिन्– अप्ठ्यारो पर्दा चाहिन्छ भनेर ७५ लाख जम्मा गरेँ, तर श्रीमान् अस्पताल हुँदासमेत पैसा पाइनँ
मैले १० वर्षअघि नै सिभिलमा ७५ लाख जम्मा गरेकी थिएँ । ब्याजले छोरी पढाउन र घरखर्च चल्छ भन्ने अपेक्षा थियो । सुरुमा ब्याज पाएको पनि हो । श्रीमान् केन अफुल (विदेशी नागरिक)लाई डिमेन्सिया (मस्तिष्कलाई कमजोर पार्ने रोग) थियो । उहाँलाई रोगले गाल्दै गएपछि रकम झिक्न सहकारी पुगेँ । तर, श्रीमान् गम्भीर भएको याचना गर्दा पनि पैसा दिएन । अरू आर्थिक स्रोत थिएन । राम्रो उपचार गर्न नसक्दा सात दिनअघि श्रीमान् नै गुमाउनुपर्‍यो । 

हाँडीगाउँका सञ्जीव खनाल भन्छन्– बुबाले जग्गा बेचेरसमेत ७० लाख सहकारीमा जम्मा गर्नुभयो, तर उपचार गर्न पनि पैसा पाउनुभएन
बुबा रामबाबु खनाल सडक विभागको पूर्ववरिष्ठ इन्जिनियर हो । राम्रो ब्याज पनि दिन्छ र सुरक्षित पनि हुन्छ भनेर उहाँले तराईको जग्गासमेत बेचेर सिभिल सहकारीमा ७० लाख जम्मा गर्नुभएको थियो । पछि उहाँ बिरामी पर्नुभयो । परीक्षण गर्दा क्यान्सर नै देखियो । उपचारमा धेरै रकम लाग्ने भएपछि जम्मा गरेको पैसा झिक्न हामी सहकारीमा गयौँ । तर, सहकारीले दिएन । त्यत्रो रोग लाग्दा पनि उपचार गर्न आफ्नै पैसा पाउनुभएन । अहिले बुबाको निधन भइसक्यो । सहकारीले ७० लाख अझै दिएको छैन ।

काठमाडौंका यज्ञप्रसाद आचार्यले ज्यान गुमाइसके, तर जम्मा गरेको ४८ लाख अझै फसेको छ
तत्कालीन राजपरिषद् सदस्य यज्ञप्रसाद आचार्यले पनि सिभिल सहकारीमा १६ लाख जम्मा गरेका थिए । पछि श्रीमतीको नाममा छुट्टै खाता खोलेर थप ३२ लाख जम्मा गरे । एक वर्षअघि यज्ञप्रसादलाई ‘ब्रेन स्ट्रोक’ भयो । उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइयो । खर्च धेरै लाग्ने भएपछि परिवारका सदस्य जम्मा गरेको रकम झिक्न सिभिल सहकारी पुगे । तर, आफ्नै रकम पनि पाएनन् । यज्ञप्रसादलाई पछि नर्भिक अस्पताल ल्याएर ६ महिना उपचार गरियो । आर्थिक अभावकै बीच उनको मृत्यु भयो । अहिले सहकारीले यज्ञप्रसादको नाममा रहेको रकम उनकी पत्नीको नाममा ट्रान्सफर गरेको छ । ‘अप्ठ्यारो पर्दा चाहिन्छ भनेर जम्मा गरेको पैसा उहाँ (यज्ञप्रसाद)ले बिरामी पर्दा पनि पाउनुभएन,’ परिवारको एक सदस्यले भने ।

इच्छाराजसहित १२ जनाविरुद्ध  ११ सय ६७ पीडितको जाहेरी

सिभिल सहकारीविरुद्ध शुक्रबारसम्म सिआइबीमा एक हजार १६७ ले जाहेरी दिएका छन् । जाहेरीमा उल्लेखित रकमको एकमुस्ट परिमाण चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुई सय छ । 

सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहित १२ विरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको बताए । उनीहरूविरुद्ध सिआइबीले १८ दिनको म्याद थप गरेको छ । ‘पक्राउ परेकाविरुद्ध संगठित अपराधअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ । शुक्रबारसम्म उनीहरूविरुद्ध ११ सय ६७ ले जाहेरी दिएका छन् । चार अर्ब ६६ करोड रुपैयाँ बिगो दाबी छ,’ सिआइबी प्रमुख सिंहले भने ।

तामाङले बिनाधितो सिभिल सहकारीबाट तीन कम्पनीको नाममा आठ अर्ब ऋण लिएर २१ कम्पनीमा लगानी गरेका छन् । सरदर एक करोड रुपैयाँका दरले सिभिल होम्सका ११ सय घर बेचे । यस आधारमा तामाङसँग न्यूनतम पनि १९ अर्ब सम्पति हुनु पर्ने हो । तर, अनुसन्धानबाट उनीसँग करिब साढे दुई अर्बको सम्पति मात्रै देखिएको छ । बाँकी सम्पति कहाँ छ ? प्रहरी खोजीमा जुटेको छ । सिआइबीले पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत रहेर अनुसन्धान अघि बढाएको छ । अभियुक्तले विदेशमा समेत रकम लुकाएर राखेको हुँदा त्यसतर्फ पनि अनुसन्धान अघि बढेको सिआइबी प्रमुख सिंहले बताए ।