१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विजयराज खनाल काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार ०९:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर घटाउन अघिल्लो दिन राष्ट्र बैंकको लिखित निर्देशन, अझै कम गर्न भोलिपल्ट मौखिक दबाब

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार ०९:५९:००

१० प्रतिशतमाथि ब्याजदर नदिन फोनमार्फत निर्देशन 

मंगलबार राति ब्याजदर नियन्त्रण गर्न लिखित निर्देशिका जारी गरेको नेपाल राष्ट्र बैंकले बुधबार १० प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्न मौखिक रूपमा थप दबाब दिएको छ । मंगलबार अघिल्लो दरको तुलनामा १० प्रतिशत बिन्दुभन्दा बढी ब्याज बढाउन नपाउने निर्देशन दिए पनि कतिपय वाणिज्य बैंकको निक्षेपको कुल ब्याजदर १० प्रतिशतभन्दा माथि हुने देखिएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । ‘हो हामीले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर १० प्रतिशतभन्दा माथि ब्याजदर नतोक्न मौखिक सुझाब दिएका छौँ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने । 

मंगलबार राष्ट्र बैंकले ब्याजदर बढाउँदा अघिल्लो महिना तोकिएको ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै वृद्धि गरेर नयाँ ब्याजदर पुनः सार्वजनिक गर्न निर्देशन दिएको थियो । यो निर्देशनपछि पनि १० वाणिज्य बैंकले ब्याजदर १० प्रतिशतमाथि कायम गर्न सक्ने अवस्था थियो । सिभिल, सेन्चुरी, नबिल, एनसिसी, ग्लोबल आइएमई, सानिमा, एनएमबि, मेगा, प्राइम र सन्राइजले ब्याजदर १० दशमलव १८ देखि ११ दशमलव ०८ सम्म बढाउन सक्ने अवस्था थियो । 

असोजमै ब्याजदर बढाइसकेकाहरूलाई राष्ट्र बैंकको मंगलबारको निर्देशनले थप राहत पुग्ने र असोजमा ब्याजदर नबढाएकाहरूलाई सधैँ नै निक्षेप खोसिने डर भएको भन्दै बैंकरहरूले असन्तुष्टि राखेका थिए । यही कारण राष्ट्र बैंकले बुधबार पुनः बैंकहरूलाई ब्याजदर १० प्रतिशतभित्रै सीमित पार्न निर्देशन दिएको हो । 

बुधबार केही बैंकहरूले आफ्नो वेबसाइटमा संशोधित ब्याजदर प्रकाशित गर्न थालिसकेका छन् । मंगलबारको निर्देशनको कारण १० दशमलव १८ प्रतिशत ब्याजदर तोक्न सक्ने अवस्था रहेको सेन्चुरी बैंकले समेत बुधबारबाट लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर नौ दशमलव ३६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर आठ दशमलव ३६ प्रतिशतमा सीमित पारेको छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि सर्वसाधारणले मुद्दतीमा पाउने दरभन्दा एक प्रतिशत बिन्दुले कम गर्न निर्देशन दिएको छ । यसअघि सेन्चुरीले कात्तिक १ बाट लागू हुने गरी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौ दशमलव ७५ प्रतिशत र संस्थागतमा नौ दशमलव ९९ प्रतिशतसम्म तोकेको थियो । 

अधिकतम ब्याजदर प्रस्ताव गरेका हिमालन बैंक र एनआइसी एसियाले भने बुधबार ब्याजदर प्रकाशित गरिसकेका छैनन् । बैंकहरूले क्रमशः १० प्रतिशतमुनि ब्याजदर तोक्नेमा राष्ट्र बैंक विश्वस्त देखिएको छ । ‘बैंकहरूले एक–अर्कालाई पर्खिएको कारण सबैले नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छैनन्,’ ढकालले भने, ‘भोलिसम्ममा गर्छन् नै ।’ 

यसअघि ११ प्रतिशतनजिक ब्याजदर तोकेका वित्त कम्पनीहरूको भने मंगलबारकै निर्देशनअनुसार ब्याजदर अधिकतम नौ दशमलव ६ प्रतिशतभन्दा माथि नजाने नेपाल वित्तीय संस्था संगठनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।