मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
तीनपिप्लेलगायत पाँचखाल उपत्यका।
केशवप्रसाद पाण्डे काभ्रेपलाञ्चोक
२०७८ कार्तिक १ सोमबार १७:५०:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

दूध बेचेर पानी किन्ने तीनपिप्ले गाउँ

Read Time : > 3 मिनेट
केशवप्रसाद पाण्डे, काभ्रेपलाञ्चोक
२०७८ कार्तिक १ सोमबार १७:५०:००

जलवायु परिवर्तनका कारण खोलानाला सुकेर बगर बनेको छ। खोला बग्ने ठाँउहरू सु्ख्खा भएपछि सडकको रूपमा प्रयोग हुन थालेको छ। पानीको इनारमा ताल्चा लगाइएको छ भने इनार र कुवाको धमिलो पानीलाई डिजेल पेट्रोलजस्तै लिटरमा नापेर बाँड्नुपरेको छ।

यो काभ्रेको पाँचखालस्थित तीनपिप्ले र आसपासका गाउँको वास्तविक कथामा बनेको डकुमेन्ट्रीको दृश्य हो। हिन्दकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २००९ मा तत्कालीन पाँचखाल गाविस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे भिडियो तयार पारेको थियो। ‘इन द ग्रिप अफ ड्रउट’ नाम दिएर तयार पारिएको भिडियोमा पाँचखाल क्षेत्रमा पाँच वर्षमा क्रमिक रूपमा पानी पर्ने क्रम रोकिएपछि आएको समस्यालाई देखाइएको छ ।

भिडियोमा पानीको अभावमा मरुभूमिकरणको अवस्थामा पुगेको पाँचखाल, होक्से, बालुवालगायतका क्षेत्रमा खेतीपाती हुन नसकेपछि खाडल खनेर पानी जम्मा गर्ने, दुईवटासम्म पम्पको प्रयोगबाट पानी तानेर खेती गरेको, रातमा पानी चोरेर सिँचाइ गर्नुपरेको, स्कुल छाडेर पानीको लाइन लाग्नुपरेको दर्दनाक अवस्थालाई भिडियोमा चित्रण गरिएको छ। वातावरणविद्हरूले यो भिडियोलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरको उदाहरणको रूपमा प्रस्तुत गर्दै आइरहेका छन्।

लामो समय बिते पनि यहाँ पानीको समस्या पूर्ण रूपमा समाधान भइसकेको छैन। अरनिको राजमार्गबाट धुलिखेल खावा हुँदै केही किलोमिटर पार गरेपछि आइपुग्छ तीनपिप्ले गाउँ । पाँचखाल नगरपालिका– ६ अन्र्तगत पौडेलथोक, एकताबस्ती र तीनपिप्ले गाउँहरू तीनपिप्लेकै नामले बढी चिनिन्छन् ।

पाँचखाल राजधानी काठमाडौंबाट करिब ४० किलोमिटरको दूरीमा छ । कृषि र पशुपालनको पर्याय पाँचखालमा पानी अभावको कहानी ०५९ सालपछि सुरु हुन्छ। त्यसअघि यो क्षेत्रमा प्रशस्त पानीका स्रोतहरू थिए । विश्वभर आएको जलवायु परिवर्तनका कारण पाँचखालमा विस्तारै पानी पर्ने क्रम घट्दै गयो। पानीका मुहानहरू सुक्दै जान थाले। समग्र जलवायु परिवर्तनको असरबाट पाँचखाल अछुतो रहन सकेन।

पानीको मुहान सुक्दै जान थालेपछि खानेपानीकै लागि दिनरात खर्चनुपर्ने दिनहरू आए । पानी नभएपछि कृषि र पशुपालनबाट विस्थापित हुनुपर्ने दर्दनाक दिनहरू आइलागे तीनपिप्लेमा। त्यसपछि खेतीबाली घट्न थाले, भएका गाईभैँसी बेच्न थालियो। गाईभैँसी पाल्नेहरूलाई दूध बेचेर पानी किन्नुपर्ने बाध्यता आइलाग्यो। त्यसपछि पानीलाई नै चुनावी नारा बनाएर धेरै जनप्रतिनिधहरूले सिंहदरबार र संसद् भवनमा प्रवेश पाए। तर, तीनपिप्लेको दुख ज्युँका त्यु रह्यो।
  
... अनि गाउँलेले मुहान नै किने
बिहान उठेपछि कहाँ गएर पानी ल्याउने भन्ने चिन्तामै हुन्थे गाउँले। पानी अभाव हुन थालेपछि पोखरी थुन्ने, पोखरी सोहोर्ने, भलको पानी जम्मा गर्नेदेखि अनेक विकल्पको खोजीमा लागे गाउँले । यस्तैमा गाउँलेहरू सल्लाह गरेर पानीको मुहान नै किन्ने निर्णयमा पुगेको खानेपानी उपभोक्ता समिति सदस्य तथा स्थानीय बुद्धिजीवी भेषराज पन्तलाई अझै याद छ।

धुलिखेल नगरपालिकाअन्तर्गत पर्ने पात्लेखेतबाट पानी ल्याउने सहमति बन्यो। पात्लेखेतमा एक तामाङको जग्गामा ३ इन्च जत्तिको पानी खेर गइरहेको थियो। पन्तलाई यसको झझल्को अझै छ। ‘त्यो मूलले कसैलाई असर गरेको थिएन। खेर गइरहेको पानी थियो,’ पन्त सम्झन्छन्, ‘गाउँलेले मूलको पानी गाउँसम्म ल्याएर बाँड्ने योजनाअनुसार मूल हेरेर मूल भएको १ रोपनी जग्गा किनेका थियौँ।’ बख्रेल्डीही खानोपानी तथा सरसफाइ संस्थाको नाममा जग्गा पास भयो। त्यतिवेला ६ लाख ७५ हजार रुपैयाँ खर्च भएको पन्त बताउँछन्। मुहान किन्न गाउँलेले त्यतिवेला आफूले लगाएका गहनासमेत बेचेका थिए रे !

तर, पानीमा राजनीति छिरेपछि योजना यसै अलपत्र बन्यो। भोटका लागि राजनीतिक दलका स्थानीय ‘नेता’हरूले गाउँलेमा फाटो ल्याए। अनेक बखेडा झिकेर पानी लान दिएनन्। त्यसपछि यी गाउँ काकाकुल अवस्थामा नै रहे। धेरै प्रयासपछि पनि पानी पुर्याउन नपाएपछि गाउँले मिलेर सप्ताह लगाए। सप्ताहबाट ३५ लाख जम्मा भयो र ‘बैरेनी डिप बोरिङ’ सुरु भयो। त्यसपछि वाटर म्यानको नामबाट चिनिने अस्ट्रेलियन नागरिकले पत्ता लगाएको ठाउँबाट डिप बोरिङ गरेर पानी वितरण भयो। यो बीचमा गाउँलेले यसरी नै पानीको जोहो गरे।

पानी संघर्षमा कल्पना दिदी
तीनपिप्ले बजारमा तिरतिर रौँ जत्रो पानी थियो। त्यसैबाट मिलाएर दुई दुई गाग्रो बाँडेर खान्थे गाउँलेहरू। वषौँदेखि यही समस्या झैल्दै आएका थिए उनीहरू। धेरै जनप्रतिनिधि पानीलाई नै मुद्दा बनाएर भोट माग्थे। अनि जितेर जान्थे पनि, तर समस्या उस्तै।

तीनपिप्ले, पौडेलथोक, एकताबस्ती डिपबोरिङ खानेपानी आयोजनाका उपभोक्ता समिति अध्यक्षसमेत रहेकी कल्पना श्रेष्ठलाई यो कुराले धेरै छुन्थ्यो। उनकै घरमुनि पर्छ अरनिको राजमार्ग। यो राजमार्ग हुँदै चुनाव जितेर जानेहरू ओहोरदोहोर गरिरहन्थे। उमेरले ५० कटेकी उनलाई सबैले कल्पना दिदीको नामबाट चिन्छन्।

‘तिरतिरे धारो थियो बल्ल्बल्ल पुर्याएर खाएका थियौँ। यत्रो रौँ जत्रो थियो। पालैसँग दुईदुई गाग्रो थापेर खाएर बसेका थियौँ। जहिले पनि लाइन लाग्नुपर्ने ४ बजेदेखि,’ कल्पना भन्छिन्।

चुनावको समयमा भोट माग्नेहरूसँग उनको माग पानी नै हुन्थ्यो। जितेर गएकाहरूले धोका दिएपछि उनले घरमुनिको बाटोमै गाडी रोकेर जनप्रतिनिधिलाई पानी खोई भन्दै प्रश्न गर्न थालिन्। उनले पानी नपाएको भनी प्रश्न गर्नेमध्येमा प्रदेश सांसद लक्ष्मण लम्साल पनि एक थिए। ‘आफूले जिताएका भाइहरू थर्काउनु परिहाल्यो नि। उनीहरू माननीय भए। हामीलाई यता पानी खान पाइएको छैन। उनीहरू माननीय भएर के गर्नु?’ उनी हाँस्दै भन्छिन्,‘नत्र किन झन्डा बोकेर हिँड्नु त हामीलाई पानी पनि खान नदिने भए ?’

त्यसपछि लम्सालकै पहलमा आर्थिक वर्ष ०७६/७७  मा बागमती प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गर्यो। आयोजनाका लागि उपभोक्ता समिति पनि बन्यो। समितिको अध्यक्ष कल्पना दिदीलाई नै बनाइयो। ‘गाह्रो त हुँदो रहेछ नि सहमतिमा बसेपछि । फाइदा हुने देख्छन क्यार, कुस्ती खेल्न आउँछन्। हामीलाई पानी खान नपाएर हिँड्नुको चिन्ता थियो। अरूलाई के के हो !’ उनी भन्छिन्।

विकल्प भूमिगत पानी
चरम अभावका कारण गाउँलेलाई दूध बेचेको पैसा पानीका लागि छुट्याउनुपर्ने अवस्था आयो। त्यही पानीले पशुचौपाया पनि जोगाउनुपर्ने थियो। त्यसपछि रिचार्जका लागि झिगुखोलामा पानी थुनेर र २ सयभन्दा बढी पोखरी बनाएर पनि पानीका स्रोत गुम्न नदिने प्रयास गरियो। तर, यसबाट पनि पार लाग्ने अवस्था आएन।

अब उपाय के त ? भूमिगत पानी विकल्पको रूपमा देखियो। ‘पृथ्वी प्वाल पार्न हुँदैन भनेर भूगर्भविद्हरूले भन्थे। तर, यही पृथ्वी प्वाल नपारी हामीहरूले समस्या समाधान गर्न सकेनौँ,’ उपभोक्ता समिति सदस्य पन्त भन्छन्। भूमिगत पानीका स्रोतहरू पनि विस्तार सुक्दै गएका छन। भूकम्पको वेला सरकारले घर बनाउन राहतस्वरूप दिएको रकमबाट समेत डिप बोरिङका लागि गाउँलेले १५/१५ हजार जम्मा खर्च गरेका वडा नम्वर ६ का वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए।

लाखौँको ऋणमा गाउँले
खानेपानी ल्याउने क्रममा गाउँलेलाई १२ लाख बढी ऋण लागेको छ। विभिन्न चरणका खानेपानी योजना र मुहान किन्ने क्रममा गाउँलाई ऋण लागेको तीनपिप्लेवासी बताउँछन्। उपभोक्ता समिति सदस्य पन्त यही योजनामा पनि प्रदेशको बजेटमा उपभोक्ता समितिको तर्फबाट ८ लाख रुपैयाँ थप भएको छ।

अब उनीहरूको आशा निर्माणको क्रममा रहेको सुनकोसी खानेपानी परियोजनामा छ। यद्यपि, काभ्रेपलाञ्चोकको ठूलो क्षेत्र समेट्ने यो आयोजना दोस्रो मेलम्ची हुने पो हो कि भन्ने चिन्ताले भने उनीहरूलाई सताइरहन्छ।