मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
नयाँ पत्रिका म्याग्दी
२०७८ असोज २८ बिहीबार १०:२३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘एक घर एक धारो’ होइन, पुरन्य गाउँमा १०३ परिवारलाई एउटै धारो !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
२०७८ असोज २८ बिहीबार १०:२३:००

देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरन्य गाउँवासीका लागि एउटा मात्रै धारोले काम चलाउनुपर्ने बाध्यता  छ। जिल्लाको बेनी नगरपालिका- ५ स्थित सो गाउँमा एक सय तीन दलित परिवारको बसोवास  छ। ती परिवारका चार सयभन्दा बढी सदस्यले गाउँका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौँ बितिसकेको छ।

सो गाउँमा दलितको मात्रै बस्ती रहेको छ। सो गाउँमा बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुने गरेको बताइएको छ। अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरूलाई सास्ती हुने गरेको ६८ वर्षीया कालिका दर्जीले गुनासो गरिन्। ‘बिहान ४ बजेदेखि नै यहाँ भपड लाग्छ,’ बुधबार दिउँसो धारामा पानी भर्न आएका उनले भनिन्, ‘११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिवेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ।’

उनीजस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन्। एक गाग्री पानी भर्न एक घन्टा नै लाइनमा बस्नुपर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन्। ‘घरको अरू काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरूलाई खाना पकाएर खुवाउन ढिला हुन्छ, अनि गाली आफूले खानुपर्छ,’ उनले भनिन्, ‘अरू गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरिकै मान्छेका लागि जम्मा एउटा धारो छ।’

यस गाउँमा पानीकै कारण झगडासमेत हुने गरेको पुलाचौरका बुद्धिजीवी शिव बानियाँले जानकारी दिए। बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका वेला भने राजनीतिक दलका नेताहरूबाट खुब मिठा–मिठा आश्वास मिल्ने गरेका, तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए। ‘हामी जहिल्यै पनि राजनीतिक दलहरूका लागि भोटबैंकको रूपमा प्रयोग भयौँ, दलित भएकै कारण सबै राजनीतिक दलहरूबाट हेपिँदै आएका छौँ, अहिलेसम्म चुनावको वेला आश्वासनबाहेक अरू केही पाउन सकेनौँ,’ उनले भने। 

जिल्लास्थित राजनीतिक दलहरूले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरूले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरूको आरोप रहेको छ। ‘हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको वेलाबाहेक अरू समयमा हामीलाई फर्केर पनि हेर्दैनन्, खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौँ, तर सुनेको नसुन्यै गरे,’ स्थानीयवासी लालबहादुर परियारले भने। रासस