१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o८:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवरात्रको नवौँ दिन : सिद्धिदात्री देवीको पूजा–आराधना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक परम्परा छ। नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो।

सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद् देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो। यिनी नवदुर्गा गणकी नवौँ देवी हुन्।  देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ। ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा संकटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिएको थियो।  दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा–आराधना गरिएको थियो। यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा–आराधना गर्नुपर्ने अवस्था आएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

यसैगरी सातौँ दिन मंगलबार कालरात्रि देवीको विधिपूर्वक पूजा–आराधना गर्नाका साथै दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो। आठौँ दिन बुधबार महागौरी देवीको पूजा–आराधना गरिएको थियो भने नवरात्रको नवौँ एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद् देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा–आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्। दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।