मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
२०७८ असोज २७ बुधबार ०९:४५:००
Read Time : > 1 मिनेट
समाचार

अम्बा र डौँठे निगुरो बेचेर दसैँको जोहो

Read Time : > 1 मिनेट
२०७८ असोज २७ बुधबार ०९:४५:००

उमेरले बुढ्यौली लाग्यो। तर, बाध्यताले अझै जाँगर खोजिरहेको छ। इस्मा गाउँपालिका– ५ का ५३ वर्षीय कुलबहादुर कुमाल १० बजेको आसपास तम्घास आइपुग्छन्। डोकोमा अम्बा, निगुरो र सालका पात चरप्पै हुन्छन्। दसैँ लागेपछि कुलबहादुर चारपटक अम्बा लिएर तम्घास आए। 

घरबाट जुरुक्क उठेर नहिँडे १० बजे बजार पुगिँदैन। एकपटक पूरै बजार घुमेपछि अम्बा, निगुरो र पात बेचेर सक्छन्। एक डोका अम्बा बेचे खर्च कटाएर मुस्किलले पाँच सय कमाउँछन्। अम्बा आफ्नै गाउँमा पनि पाउँछन्। तर, निगुरो खोज्न मालिका गाउँपालिकाको अर्जे र छाप पुग्नुपर्छ। निगुरो एक दिन टिप्न र एक दिन बेच्न लाग्छ। मौसमअनुसारको डोकेव्यापार गरेरै कुलबहादुरको उमेर ढल्क्यो। उनले गाउँको मेलापात र मौसमी व्यापार गरेरै नाैजनाको परिवार पालेका छन्। 

‘अम्बाले मात्रै खर्च उठ्दैन। निगुरो र अरू तरकारीले दसैँखर्चको जोहो गरेका छौँ,’ उनले भने, ‘दु:खअनुसारको आम्दानी छैन।’

सोमबार बिहान इस्मा गाउँपालिका– ३ का लीलबहादुर कुमाल पनि श्रीमतीसहित अम्बा र निगुरो बेच्न तम्घास बजार आए। दसैँ ढिप्किएकाले लीलबहादुर खेतबारीको कामबाट फुर्सदिला भए। सोही मौकामा डौँठे निगुरो र अम्बासहित सालको पात बोकेर बजार आए। श्रीमान्–श्रीमतीले बोकेका दुई भारी नै बिक्री गरेर करिब १२ सय कमाइ हुन्छ। उनीहरू दुवैजना तीन घन्टाको बाटो हिँडेर मालिका– ६ को अर्जेमा पुगेर निगुरो टिपे।

जंगलमा टिप्न पाइने भएकाले निगुरोको पैसा लाग्दैन। बिक्री भएको आफ्नै आम्दानी हो। बजारमा निगुरोलाई प्रतिमुठा ३० रुपैयाँ, सालको पातको प्रतिमुठा ५० र अम्बा प्रकारअनुसार १० रुपैयाँको दुईदेखि चार रुपैयाँ पर्ने लीलबहादुर कुमालले बताए।

‘मेलापातबाट फुर्सद पाए मेला महोत्सव र बजारमा मौसमअनुसारका फलफूल र तरकारी बिक्री गर्छौँ,’ उनले भने, ‘अहिले दसैँका लागि खर्चको जोहो गर्ने लक्ष्य रहेको छ।’ 

मौसमअनुसारको डोकेव्यापार प्रायः इस्माका कुमाल परिवारले गर्छन्।  इस्मामा कुमाल समुदायको बाहुल्य रहेको छ। त्यसबाहेक धुर्कोट र मालिका गाउँपालिकामा पनि कुमाल समुदाय छन्। इस्मा गाउँपालिका– ६ का कुमाल समुदायले माटोका भाँडा बनाउने काम पनि गर्छन्। तर, अरू स्थानका कुमाल समुदायले गाउँको मेलापात र मौसमी व्यापार गर्ने गरेको इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले बताए। उनी दैनिक तम्घास बजार आउँछन्।