मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
केशव आचार्य
२०७८ असोज २६ मंगलबार १०:४९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्रभित्र लुकेको दलाल पुँजीवाद

Read Time : > 4 मिनेट
केशव आचार्य
२०७८ असोज २६ मंगलबार १०:४९:००

अग्रलेख : वर्तमान विश्वमा शासन व्यवस्था लोकतान्त्रिक भए पनि आर्थिक लोकतान्त्रीकरण हुन नसकी अर्थतन्त्र दलाल पुँजीवादतर्फ मोडिँदै गइरहेको छ


पुँजीवाद स्वतन्त्र अर्थव्यवस्था हो । यसमा निजी क्षेत्रहरू लगानी गरी नाफा कमाउन स्वतन्त्र हुन्छन् । अर्थतन्त्र उत्पादन र उपभोगको प्रतिस्पर्धाले सन्तुलन कायम भइरहेको हुन्छ । पुँजीवाद र प्रजातन्त्र एक–अर्काका पर्यायवाची शब्दसरह नै हुन् भन्दा फरक पर्दैन । तैपनि, यी दुईबीच कतिपय मुद्दामा भने विरोधाभास कायमै छन् । समाजमा अधिकांश घटना आदर्श विज्ञानबाट बढी प्रेरित हुन्छन् । धेरैजसो सामाजिक सूचना या घटना सत्य हुन्, तर तिनलाई परिमाणमा मापन गर्न कठिन हुन्छ । समाजलाई रूपान्तरण गर्ने विभिन्न सूचकको मापनबाट सामाजिक परिवेश निक्र्योल गर्न सकिन्छ । आर्थिक क्रियाकलापको सामाजिक न्यायमार्फत अर्थतन्त्र सबल बन्छ । सबल अर्थतन्त्रमार्फत दिगो आर्थिक विकास प्रेरित हुन्छ । यसका लागि आर्थिक लोकतान्त्रीकरण अपरिहार्य साधन हो । वर्तमान विश्वमा शासन व्यवस्था लोकतान्त्रिक भए पनि आर्थिक लोकतान्त्रीकरण हुन नसकी अर्थतन्त्र दलाल पुँजीवादतर्फ मोडिँदै गइरहेको छ ।

विश्वमा प्रजातन्त्र/लोकतन्त्रको धेरै व्याख्या प्रचार–प्रसार गरिएको पाइन्छ । सबै व्याख्या र प्रचार–प्रसार किताबका पानामा मात्र सीमित रहे । सामाजिक व्यवहारमा अति न्यून मात्र अवलम्बन गरियो । लोकतन्त्र भन्दै सामाजिक अलोकतान्त्रिक व्यवहारले सीमा नाघिरहेको अवस्था छ । अब पनि विश्वका नागरिकले विश्वव्यापी रूपमा लोकतान्त्रिक अधिकारमा जोड नदिने हो भने दलाल पुँजीवादको दासत्व स्वीकार गर्नुपर्ने हुन्छ । मानवताका लागि लोकतान्त्रिक प्रतिनिधित्व आवश्यक छ भन्ने जान्दाजान्दै सीमित प्रतिफलका लागि व्यक्तिगत स्वार्थ हाबी बनाउनु पुँजीवादीहरूको गोठमा बाँधिइरहनु हो ।

पुँजीवादभित्र पनि दलाल पुँजीवादको चंगुलमा पर्नु त पुँजीवादको गोठमा बाँधिएर बिहान–बेलुका मालिकको कुटाइसमेत खानु हो । हिजो पुँजीवाद हुँदा मालिकको दाम्लोमा बाँधिएका दासहरू भोको पेट बस्दैनथे । उनीहरू एकपेट खानबाट वञ्चित भएनन् । आज दलाल पुँजीवादी समाजको दलदलमा श्रमिक भोकले मरिरहेका छन् । समानता, रोजगारी, गरिबी निवारण र उच्च जीवनस्तरका नाममा श्रमिकहरू पिल्सिइरहेका छन् । अर्थतन्त्रमा आएको सानो हलचलबाटै जीवन मृत्युवरणको अवस्थासम्म पुगिरहेको छ । पहुँचवाला, शक्तिवालाले मात्र लोकतन्त्रको रसपान गरिरहेका छन् भने श्रमिकहरू जिउनकै लागि जीवन घोटिरहेका छन् । 

विश्व खाद्य कार्यक्रमका अनुसार हाल विश्वमा १३ करोड ५० लाख मानिसले भोकमरीको सामना गरिरहेका छन् । नेपालमा भोकमरीलगायत संकटमा लगभग ९० लाख जनसंख्या छ । युद्ध, अस्थिरता एवं अत्याचारका कारण विस्थापित मानिसको संख्या विश्वमा आठ करोडभन्दा बढी छ । यसले शरणार्थीको रूप धारण गरिरहेको अवस्था छ । विभिन्न कानुनी प्रक्रियामाथि गैरकानुनी क्रियाकलाप गरी दोषी ठहरिएका विश्वका एक करोड १० लाखभन्दा बढी मानिस जेलजीवन बिताइरहेका छन् । नेपालमा पनि जेलजीवन बिताइरहेको जनसंख्या २४ हजारको हाराहारीमा छ । प्रतिहजार कैदीबन्दीका लागि वार्षिक एक अर्ब खर्च हुने डाटा देखिए पनि उनीहरूले अति न्यून जीवनस्तर गुजारिरहेका छन् । समग्रमा विश्वमा लगभग २३ करोड जनसंख्या अति पीडित भइरहेका छन्, जसको गाँस, वास, कपासको कुनै ग्यारेन्टी छैन ।

विश्वमै लोकतन्त्रको ढोल बजिरहँदा पुँजीपति वर्गहरू चरम श्रमशोषणमा लागिरहेका छन् । सरकार र उसका नीति तथा कार्यक्रम पुँजीपति वर्गले निर्धारण गरिरहेका छन् । सरकार पुँजीपति वर्गमा निर्भर भइरहेको छ । तसर्थ, सरकार शोषणमा परेका श्रमिकबारे बोल्दैन । सरकार र पुँजीपति वर्गको मिलेमतोमा बजार प्रभावित बनिरहेको छ । यसैकारण विश्वका मानिसहरू सामाजिक/नैतिक कर्तव्यभन्दा पनि आर्थिक प्रलोभनले प्रभावित बनिरहेका छन् । रंग, जात, गरिबी आदि राजनीतिज्ञलाई राजनीति हत्याउने मुद्दा बनिरहेका छन् भने पुँजीपतिलाई थप पुँजी संकलन गर्ने अवसर मिलिरहेको छ । 

अब पनि संसारभरिका नागरिकले विश्वव्यापी रूपमा लोकतान्त्रिक अधिकारमा जोड नदिने हो भने दलाल पुँजीवादको दासत्व स्वीकार गर्नुपर्ने हुन्छ

अर्थतन्त्रसँगै जोडेर विश्वव्यापीकरण, उदारीकरण, निजीकरण, विश्व स्थानीयकरण जे जति नामकरण गरिए पनि पुँजीपति वर्गलाई मात्र यसले लाभ पु¥याएको छ । बहुराष्ट्रिय कम्पनीहरू यिनै नामलाई भजाएर खोलिएका छन् । यिनीहरू नै अन्तराष्ट्रिय कर प्रणालीका छिद्र र कमजोरी पहिचान गरी कर छलिरहेका छन् । पुँजीपति वर्गले कर प्रणाली प्रभावित बनाई राज्यको राजस्व घटाइरहेका छन् । विश्वमा एनजिओ/आइएनजिओ र बहुराष्ट्रिय कम्पनीमार्फत दलाल पुँजीवाद फैलिरहेको छ । विश्व संगठन र संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरू निरीह बन्दै गइरहेका छन् । आणविक शक्तिको होडबाजी चलिरहेको छ ।

शक्ति राष्ट्रले विश्वमा रहेको स्रोत–साधनमाथि आफ्नो कब्जा जमाउन आतंककारी घोषणा गर्दै स्रोतसाधन लुटिरहेका छन् । एक–अर्का देशबीच झगडा सिर्जना गरी व्यापार गरिरहेका छन् । उनै पञ्च भलादमी बनी आफूअनुकूलका सम्झौता जबर्जस्ती थोपरिरहेका छन् । शक्तिशाली राष्ट्रको मातहतमा विश्व संगठनहरू नाच्नु परिरहेको छ । नचाउने राष्ट्रहरूलाई उच्च प्रतिफल प्राप्त हुने गरी संगठनहरू विज्ञापन गरिरहेका छन् । कम शक्तिशाली राष्ट्रहरू तिनै विज्ञापनलाई थप प्रसारण गरी नागरिकमाझ भ्रम सिर्जना गरिरहेका छन् । मानवअधिकारको नाममा जातीयताको मुद्दा बनाई हिंसा सिर्जना भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको नाममा विविध असुरक्षित हानिकारक औषधी निर्माण गरी विकासोन्मुख राष्ट्रहरूमा परीक्षण भइरहेको छ । जसका कारण बर्सेनि करोडौँले ज्यान गुमाइरहेका छन् । विश्व खाद्य संगठनले सन्तुलित खानाका नाममा खाद्यसंकट सिर्जना गरिरहेको अवस्था छ । अन्तर्राष्ट्रिय अदालतले दण्डहीनता सिर्जना गरिरहेको छ । शक्तिशाली राष्ट्रले सिमाना मिच्ने/हडप्ने, युद्धबाट दबाउने क्रियाकलाप गरिरहेका छन् । शक्तिशाली ठानिएका राष्ट्रहरू सुरक्षाका नाममा आतंक फैलाई अतिकम विकसित राष्ट्रहरूमा नीतिगत शासन गरेर स्रोत–साधन हडप्ने कार्य लोकतन्त्रको प्रादुर्भावसँगै सुरु भएको हो । तर, लोकतन्त्र कानुनको दस्ताबेजमा मात्र सीमित रह्यो, व्यवहारमा उतारिएन । अध्ययन, अनुसन्धान, तालिम, आर्थिक सहयोग, पुँजीगत सहयोग र मनोरञ्जन भ्रमणको उद्देश्यले जासुसीकरण बढ्यो । यहाँ लोकतन्त्र खोई ? के लोकतन्त्र सुगालाई रटाइएको शब्द मात्र हो ? 

कार्टेलिङ गर्नकै लागि विश्वमा विविध संगठन निर्माण भइरहेका छन् । युरोपियन युनियन, अरब लिग, आसियन, सार्क हाल चर्चामा रहेको एमसिसी आदि कार्टेलिङकै अभिप्रायबाट प्रेरित छन् । विश्वको स्वतन्त्र विश्व संगठन भनिएको संयुक्त राष्ट्र संघले विश्वमा नागरिकलाई स्वतन्त्रताको प्रत्याभूति दिन सकेको छैन । सरकारको शक्ति नागरिकको इच्छामा निर्भर हुनुपर्नेमा सरकार तिनै नागरिक शक्तिलाई दबाइरहेको छ । नागरिक सूचनामा अंकुश लगाइरहेको हुनाले सरकारको वास्तविक सूचनाबाट नागरिक टाढा छन् । यसैकारण सूचना ‘होस्टाइल’ बनिरहेको छ । आजभोलि व्यक्तिगतभन्दा पनि संस्थागत अनियमितता झांगिरहेको छ । आधिकारिक निकायको योजना असफल बन्ने, अध्ययन अनुसन्धानविना योजना निर्माण हुने, चाकरी, चाप्लुसी, नातावाद, आर्थिक प्रलोभन आदिलाई कानुनसम्मत मान्ने, आफूअनुकूल कानुन संशोधन गर्ने, राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेले अवसर पाउने गतिविधि लोकतन्त्रको उपहास हो । यस्ता गतिविधिलाई आर्थिक लोकतान्त्रीकरणमा परिणत गर्न सके अस्वस्थ प्रतिस्पर्धा सेलाएर जान्छ । औपचारिक अर्थतन्त्रको विकास हुन्छ । गुणस्तरीय वस्तु निर्माण भई आर्थिक समृद्धि दिगो बन्छ । 

व्यावहारिक लोकतन्त्र समृद्धिको सूचक हो । आर्थिक क्रियाकलापमा सामाजिक सहभागितामार्फत सामाजिकीकरण हुँदा नागरिकको जीवनस्तरमा परिवर्तन हुन्छ । व्यक्तिगत स्वार्थभन्दा पनि सामूहिक स्वार्थले सामाजिक धरोहरको संरक्षण गर्छ । शब्दले भन्दा व्यवहारले ज्ञानको अभिवृद्धि हुन्छ । आजका दिनमा विश्वले चाहेको आर्थिक लोकतान्त्रीकरण नै हो । दलाल पुँजीवाद आमनागरिकको नाकको दुर्गन्ध बनिरहेको छ । तर, राजनीतिज्ञमा जिम्मेवारीको बोध घट्दै जानुले गरिबहरूको एकपेट खान पाउने अधिकार निलम्बित हुँदै गइरहेको छ । दलाल पुँजीवादको अन्त्य नै दिगो विकासको थालनी हो ।