लियोनल मेसीले दक्षिण अमेरिकी फुटबलमा थप अर्को कीर्तिमान राखेका छन् । दक्षिण अमेरिकाबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ८० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
यो सफलता उनले सोमबार बिहान सम्पन्न सन् २०२२ को कतार विश्वकप छनोटमा उरुग्वेविरुद्ध हात पारेका हुन् । उरुग्वेमाथि अर्जेन्टिनाले ३० को जित निकाल्दा मेसीले एक गोल गरेका थिए । मेसीले एक सय ५५ अन्तर्राष्ट्रिय खेलमा ८० गोल संख्या पुर्याएका हुन् ।
अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा २४ पुर्याएको छ । खेलपछि कप्तान मेसीले उरुग्वेविरुद्ध योजनाअनुरूप नै प्रतिस्पर्धा भएको बताए । ‘हामीले उत्कृष्ट खेल खेल्यौँ, सबै पक्ष पूर्ण योजनाअनुरूप भयो,’ मेसीले भने । अर्जेन्टिनाको जितमा रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एकएक गोल गरे । खेलको ३८ औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४४औँ मिनेटमा पाउलले अर्जेन्टिनालाई २–० ले अगाडि राखे । खेलको ६२औँ मिनेटमा मार्टिनेजले अर्जेन्टिनालाई ३–० को जित दिलाए । यस जितसँगै अर्जेन्टिनाले १० खेलमा २२ अंक जोडेको छ । अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा छ । उरुग्वे ११ खेलमा १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
बराबरीमा रोकियो ब्राजिल
विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल पहिलोपटक बराबरीमा रोकिएको छ । ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो । यसअघि दक्षिण अमेरिकी छनोटमा ब्राजिल लगातार ९ खेलमा जित निकालेको थियो । बराबरीसँगै ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा यथावत् रहेको छ । कोलम्बिया १५ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत नै भेनेजुएलाले इक्वेडरलाई २–१ ले हराएको छ । अर्को खेलमा बोलिभियाले पेरुलाई २–१ ले हराएको छ । बोलिभिया ११ खेलबाट ९ अंक जोडेर आठौँ स्थानमा रहेको छ । पेरु ११ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।
नेमारको सन्न्यास योजना
ब्राजिलियन स्ट्राइकर नेमार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने योजनामा छन् । २९ वर्षीय नेमारले अर्को वर्ष कतारमा हुने विश्वकप ब्राजिलका लागि आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले सन् २०२२ पछिको विश्वकपका लागि आफू मानसिक रूपमा समक्ष रहने वा नरहनेबारे थाहा नभएको समेत उल्लेख गरे । ‘मलाई लाग्छ २०२२ को विश्वकप मेरो लागि अन्तिम हुनेछ,’ उनले भने, कतार विश्वकप अन्तिम विश्वकप हुनेछ ।’