मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २३ शनिबार १७:५४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली र प्रभु साहबीच गोप्य भेटमा पनि जुटेन सहमति, दुरी झन् बढ्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २३ शनिबार १७:५४:००

एमाले अध्यक्ष केपी ओली र नेता प्रभु साहबीचको दुरी बढ्दै गइरहेको छ । ८बुँदे मागसहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुने भएपछि दुई नेताबीचको दुरी बढ्दै गएको छ । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशन साह समूहले बहिष्कार गरेको थियो । 

पछिल्लो समय केन्द्रीय कमिटीको बैठकमा समेत सहभागी हुन छाडेका साहले अध्यक्ष ओलीसँग गोप्य भेटघाट गरेका छन् । भेटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेताहरू सहभागी थिए । तर, सो बैठकमा समेत कुनै सहमति जुटन सकेको छैन । 

‘पछिल्लो समय असन्तुष्ट रहनुभएका साहजीसँग भेटघाट तथा छलफल भएको छ । उहाँले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बुझाउनुभएको ८बुँदे माग कार्यान्वयनको बारेमा लिखित प्रतिबद्धता खोज्नुभएको छ,’ ओलीनिकट एक नेताले भने, ‘अध्यक्षजीले त कार्यान्वयन गर्ने जवाफ दिनुभएको छ, तर उहाँले भनेजस्तै लिखित रूपमा सार्वजनिक गर्न सकिएको छैन ।’ 

साहको माग पूरा गर्ने विषयमा ओलीले पटक पटक छलफल गर्दै आएका छन् । तर, ओली र साहबीच अझै सहमति जुट्न नसकेको एमाले स्रोतको दाबी छ । माग सम्बोधन गर्ने बताउँदै आएका ओलीले लिखित रूपमै सहमति गर्न नचाहेपछि ओली र साहबीचको दुरी झन् झन् बढ्दै गइरहेको छ ।  

आफ्ना माग सम्बोधन नहुने देखेपछि साहले आफूनिकटका २५ भन्दा बढी एमाले प्रदेश २ कमिटीका सदस्यबाट सामूहिक राजीनामा गराइसकेका छन् । युवा, विधार्थीलगायतका संगठनबाट साहनिकट नेताहरूले यसअघि नै राजीनामा गरिसकेका छन् । पछिल्लो समय एमालेको बैठक तथा कार्यक्रम बहिष्कार गर्दै आएका साह आइटी आर्मीको ब्यानरमा आयोजित कार्यक्रममा सहभागी हुँदै आएका छन् । 

साहको माग के हो ? 
एमालेभित्र २ जेठ २०७५ मा फर्किनुपर्ने माग उठ्दै गर्दा साहले ३ जेठपछिको अवस्थाबाट अगाडि बढ्नुपर्ने माग गरेका छन् । ‘सर्वोच्च अदालतले पार्टी एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्यँुताए पनि हामीले एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्ने’ साहले बुझाएको पत्रमा उल्लेख गरिएको छ । 

तत्कालीन नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्नुपर्ने माग उनको छ । यस्तै, उनले संविधान संशोधनको मागसमेत अगाडि सारेका छन् । 

‘वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवको आधारमा देखिएका त्रुटिहरू हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ साहले बुझाएको पत्रको बुँदा नं. ३ मा उल्लेख गरेका छन् । 

एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने उनले माग गरेका छन् । माओवादी केन्द्रका पूर्वपदाधिकारीलाई एमाले पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिटब्युरो कमिटीमा, पोलिटब्युरो कमिटीमा रहेकालाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा र प्रदेश कमिटीमा रहेकालाई जिल्ला कमिटीमा समायोजन तथा पार्टीको पदीय वरीयताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुवै पार्टीको वैधानिक हैसियतअनुसारको मर्यादाक्रमसमेतलाई ख्याल गरी नयाँ वरीयताक्रम निर्धारण गर्न उनले माग गरेका छन् । 

यसैगरी, पार्टी संगठन, जवस तथा अन्य निकायहरू निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्मअनुरूप माओवादी पक्षका नेतालाई सम्मानजनक सहभागी गराउन साहले माग गरेका छन् । 

पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रूपमा लिई पार्टी कमिटीहरूको निर्वाचन सहमतिका आधारमा गर्नुपर्ने र प्रदेश २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्नुका साथै आइटी आर्मीलाई पार्टीकै जनसंगठनका रूपमा स्थापित गर्नुपर्ने माग साहले गरेका छन् । 

अध्यक्ष ओलीसमक्ष उनले आठबुँदे माग पेस गरेको दुई हप्ता बित्दासमेत उनले कुनै जवाफ पाएका छैनन् । केन्द्रीय सदस्यसमेत रहेका उनी पछिल्लो समय पार्टीको बैठकमा समेत सहभागी हुन छोडेका छन् । आइटी आर्मीको ब्यानरमा आयोजना हुने विभिन्न कार्यक्रममा उनी सहभागी हुँदै आएका छन् ।