१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार ०८:४९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालसहित १२ जनाविरुद्ध जाहेरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार ०८:४९:००

सर्लाहीका कुमार पौडेलको विवादास्पद ‘इन्काउन्टर’ घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । सर्वाेच्च अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जाहेरी दर्ता गरेर प्रहरीमा पठाएको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन जिल्ला इन्चार्ज पौडेलको प्रहरीबाट नियोजित हत्या भएको भन्दै जाहेरी दर्ता भएको हो । पौडेल मुठभेडमा मारिएको दाबी प्रहरीको भए पनि मृतकका परिवारले प्रहरीबाटै हत्या भएको बताउँदै आएको छ । पौडेलको ५ असार ०७६ मा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । 

मृतककी आमा दुर्गादेवीले लगत्तै जाहेरी दिए पनि प्रहरीले नमानेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वाेच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले गत १२ असोजमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । 

बुधबार जाहेरी दर्ता भएको र अनुसन्धानको पहिलो प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । ‘१२ जनाविरुद्ध जाहेरी दर्ता भएको छ,’ उनले भने, ‘अब सरकारी वकिल कार्यालयसँगको छलफलमा अनुसन्धान अघि बढाउँछौँ ।’ 

प्रदेश २ का तत्कालीन प्रहरी प्रमुख हरि पाल, सर्लाहीका तत्कालीन सिडिओ कृष्णकुमार राउत, तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टर किरण न्यौपाने, सइ सूर्य कार्की तथा पोस्टमार्टम गर्ने चिकित्सक डा. वीरेन्द्रकुमार मण्डलविरुद्ध जाहेरी दर्ता भएको छ ।

कुमार पौडेल

त्यस्तै, गोली प्रहारमा प्रत्यक्ष संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह, हवल्दार सत्यनारायण मिश्र र विनोद साहविरुद्ध पनि जाहेरी दर्ता भएको छ । उनीहरू तीनैजनालाई कर्तव्य ज्यान मुद्दा चलाउन दुई वर्षअघि नै राष्ट्रिय मानव अधिकार आयोगले समेत सिफारिस गरिसकेको छ । 

घटनामा बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको समेत मिलेमतो भएको भन्दै उनीविरुद्ध समेत जाहेरी दिइएको छ । जाहेरी दर्ता गरिए पनि उनीहरूविरुद्ध मुद्दा नै चलाउनुपर्ने बाध्यता भने नहुने महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी बताउँछन् । कर्तव्य ज्यान मुद्दाको हदम्याद २० वर्ष हुने भएकाले अनुसन्धान प्रहरीले लम्ब्याउने सम्भावना छ । 

राष्ट्रिय मानव अधिकार आयोगले समेत पौडेलको इन्काउन्टर नभई हत्या भएको भन्दै त्यसमा प्रत्यक्ष संलग्न प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा तथा आदेश दिनेलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो । गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह तथा हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो । उनीहरूविरुद्ध कुनै कारबाही भएको छैन । 

स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानी हत्या गरिएको निष्कर्ष आयोगले निकालेको थियो । घटनामा दोहोरो मुठभेड नभएको र आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्थासमेत नरहेकोमा उनीहरूले पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानेर हत्या गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन महानिरीक्षक खनालले विशेष टोलीका रूपमा पठाएका प्रहरीले पौडेललाई गोली हानेका थिए । स्थानीय प्रहरीलाई समेत पछि मात्र त्यसबारे जानकारी दिइएकाले सो घटना थप विवादमा परेको थियो ।

यीविरुद्ध किटानी जाहेरी दर्ता
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रदेश २ का तत्कालीन प्रहरी प्रमुख हरि पाल, सर्लाहीका तत्कालीन सिडिओ कृष्णकुमार राउत, तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टर किरण न्यौपाने, सइ सूर्य कार्की, पोस्टमार्टम गर्ने चिकित्सक डा. वीरेन्द्रकुमार मण्डल, गोली प्रहारमा प्रत्यक्ष संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा