जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका– १२ नारायण टोलबाट काइनेटिक ढुंगा बरामद गरेको हो ।
सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेर ढुंगा बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
प्रहरीले बस्नेतसँगै जुनीचाँदे गाउँपालिका– ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत बस्ने ३२ वर्षीय रामकृष्ण घर्तीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक शाहीले बस्नेतको घरमा शंकास्पद रूपमा कुराकानी गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए । शंका लागेर घरमा खान तलासी गर्दा तीनवटा प्लास्टिकमा अवैध तरिकाले लुकाएर राखिएको अवस्थामा काइनेटिक ढुंगा बरामद गरिएको उनले बताए ।