१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गोविन्द विक
२o८१ जेठ १ मंगलबार o९:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

छुवाछुतविरुद्ध  कहिले पढाउने  ?

Read Time : > 3 मिनेट
गोविन्द विक
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३४:oo

 

सदियौँदेखि जरा गाडेको जातीय छुवाछुतलाई टिकाइराख्ने काममा समाजको ठूलो वर्ग आज पनि अगाडि छ । बालबालिकाको दिमागमा छुवाछुतको बिउ परिवारभित्रैबाट रोप्न सुरु गरिन्छ । बालबालिकाको कलिलो दिमागमा जातीय छुवाछुतको बिउ छरिदिएपछि छुवाछुतको जरालाई उखेलेर फाल्न मुस्किल हुन्छ । छुवाछुतलाई असामाजिक र गैरकानुनी मानेर छुवाछुतमुक्त परिवार र समाज बनाउने अभियानमा आफूलाई लगाउन खोज्ने निकै कम छन् । त्यसैले गर्दा दलित समुदाय आज पनि छुवाछुतको जाँतोमा पिसिन बाध्य भइरहेको छ । दलित समुदायका डाक्टर, इन्जिनियर, मन्त्री, सांसद, नेता, वकिलजस्ता मानिस पनि छुवाछुतको सिकार हुनुपरिरहेको छ ।

छुवाछुत वर्णवादी सामाजिक चेतनाबाट निर्देशित छ । नेपालमा करिब सात सय वर्षअघि उपत्यका छिरेका बाहुनले राजा जयस्थिति मल्लमार्फत १४औँ शताब्दीमा जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था भिœयाएको इतिहासले बताउँछ । पछि छुवाछुत कानुनमै वैधानिकता दिएर संस्थागत गरियो । वर्णवादी सामाजिक व्यवस्था भएकोमा दुईमत छैन । राणा शासन, पञ्चायत व्यवस्था, बहुदलीय व्यवस्थाभित्रको राजसंस्थायुक्त शासन, १० वर्षे सशस्त्र जनयुद्ध जनआन्दोलनपछिको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जातीय छुवाछुतका व्यवहार मौलाउँदै गएका धेरै नजिर हामीसँग छ । 

आज गणतन्त्र आइसकेपछि पनि दलित समुदाय छुवाछुतको चपेटामा रुमलिनु गम्भीर विषय हो । तर पनि राज्य, राजनीतिक दल, नागरिक समाज र दलित अभियन्तामाझ यो गम्भीर मुद्दा बन्न सकेको छैन । यो निराशाजनक कुरा हो । 

शिक्षित व्यक्तिले जातीय छुवाछुत गर्दैनन् भन्ने बुझाइ आज गलत साबित हुँदै छ । किनकि, आज जातीय छुवाछुत गर्ने व्यक्ति पढेलेखेका शिक्षित वर्गमा गनिने नै धेरै छन् । त्यस्तै, राज्यका निकायमा दलित समुदायको उपस्थिति बढ्दै त गएको छ, तर यसले मात्र छुवाछुतलाई अन्त्य गराउँदैन । अहिले स्थानीय तहमा सात हजार पाँच सय ९३ जना जनप्रतिनिधि दलित समुदायका छन् । त्यस्तै, आर्थिक हैसियत उच्च भएका दलितहरू विभेदमा पर्दैनन् भन्ने पनि गलत साबित भएको छ । धनी भएर विभेदमा नपर्ने भए काठमाडौंमा घर हुने दलितहरू किन छुवाछुतको सिकार बन्छन् त ? दलितको घरसँग बलेसी जोडिएका गैरदलितको घर बेच्न खोज्दा बिक्री गर्न सकस परेका कथा छन् । यो कथा सहरी समाजको तितो यथार्थ हो । 

मुख्य समस्या जातका आधारमा कसैलाई पनि छुवाछुत गर्न हुन्न भन्ने विषय विद्यालयको आधारभूत तहमा नराखिनुले निम्त्याएको छ । घरभित्र त उँचनिचको शिक्षा दिइनु सामान्य हो । यो पंक्तिकार स्वयं करिब ५–६ वर्षको हँुदा हजुरआमाले घरमा आएको कुनै गैरदलितलाई ‘ऊ हामीभन्दा ठूलो जातको मान्छे’ भनेर चिनाएको छाप मनबाट हटेको छैन । तर, शिक्षाको ज्योति फैलाउने भन्ने स्थान विद्यालयसमेत जातीय भेदभावको कुरामा मौन छ । जातीय छुवाछुतको विषय शिक्षाको सबैभन्दा माथिल्लो तहमा स्नातकोत्तर तहमा पढाइन्छ । जबकि, त्यो तहसम्म पुग्दा व्यक्तिको छुवाछुतबारे विचार बलियो बनिसकेको हुन्छ ।

सामाजिकीकरणको सुरुवातको चरणमा छुवाछुतजन्य व्यवहार दिमागमा भर्ने, अनि माथिल्लो तहमा त्यसलाई खराब देखाएर पुग्दैन । छुवाछुत ठीक हो भनेर मानेको दिमागलाई कानुनी दण्डसजायको डरले मात्र ठीक गर्न सकिँदैन । आधारभूत तहमै साना बालबालिकाहरूलाई छुवाछुत अमानवीय व्यवहार हो भनेर सिकाउनुपर्ने अवाश्यकता राज्यले महसुस गर्न सकेको छैन । मान्छेको ज्ञान र बुझाइको दायरा फराकिलो पार्ने सबैभन्दा उत्तम विकल्प नै शिक्षा हो । बाल्यकालको सिकाइ नै दिमागमा निकै बलियोसँग बस्छ र वयस्कका व्यवहारमा झल्किन्छ । 

राज्यले बालबालिकालाई आधारभूत तहबाटै छुवाछुत अमानवीय व्यवहार हो भनेर सिकाउनुपर्ने अवाश्यकता महसुस गर्न सकेको छैन

उसो त बच्चाको पहिलो पाठशाला घर हो भने पहिलो शिक्षक परिवारका सदस्य, त्यसमा पनि आमाबुबा हुन् । तर, कथित उच्च जात मानिने परिवारभित्र अभिभावकहरू बालबच्चालाई दलितले छोएको खान नहुने, उनीहरूसँग संगत गर्न नहुने पाठ पढाउँछन् । छुवाछुतजन्य व्यवहारलाई नियन्त्रण गर्ने हो भने तिनलाई घरभित्रै निरुत्साहित गराउन राज्यले जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । 

वर्णव्यवस्थाले ब्राह्मण, क्षत्री, वैश्य र शूद्रलाई क्रमशः माथिबाट तल मानेको छ । र, समाजमा ती जातिले अर्कोलाई त्यसरी नै हेर्छन् । छुवाछुतका पत्र तहगत रूपमा मजबुत हुँदै गएर सिंगो समाज नै छुवाछुतको कालो बादलभित्र मडारिइरह्यो । जातव्यवस्थाको कठोर पकडलाई कमजोर बनाउनका लागि परिवार तहमा हुने सामाजिक ओरियन्टेसनमा नै सुधारको व्यापक खाँचो छ । जातव्यवस्थाको तहगत संरचनाका विरुद्धमा दुई–चारजनाले सहभोज गर्दैमा वा एक–दुईजना दलितलाई मन्दिरको पुजारी बनाउँदैमा ताŒिवक परिवर्तन आउँदैन । न त यो आठ–दशजना दलितलाई गुरुकुलको शिक्षामा समावेश गराउँदैमा र दुई–पाँचजना दलित–गैरदलित जोडीबीच अन्तरजातीय विवाह गर्दैमा हट्छ । 

छुवाछुत अन्त्यका लागि पहिलो कुरो त विद्यालयको आधारभूत तहमा नै जातीय छुवाछुत गम्भीर अमानवीय काम हो भन्ने पढाउन जरुरी छ । तर, विद्यालय जानुअघि बालबालिकाले घरभित्रै पनि छुवाछुतबारे जानिसकेका हुन्छन् । परिवारमा बालबालिकाहरूलाई सामाजिकीकरण गर्दा नै सबै मानिस बराबर हुन्छ र छोइछितो खराब मानिसले मात्र गर्छ भनेर सिकाउनुपर्छ । जातीय छुवाछुतलाई संरक्षण गर्ने सामाजिक व्यवहार निर्मूल नभएसम्म दलित समुदाय छुवाछुतको सिकार बनिरहन्छ । योविना आज कुनै दलित प्रधानमन्त्री भयो भने पनि जातीय छुवाछुत हट्नेवाला छैन । किनभने, व्यक्तिको मनोविज्ञानसँग जातीय छुवाछुतको साइनो गहिरो गरी गाँसिएको छ, जुन बालापनदेखि नै समाजले सिकाइराखेको हुन्छ । 

छुवाछुतमुक्त समाज निर्माणका लागि सिंगो पुस्ता छुवाछुतको विरुद्ध एकैसाथ जुरुक्क उठ्न जरुरी देखिन्छ । जनयुद्धकालमा तत्कालीन विद्रोही पक्षले थुप्रै गैरदलितका पूजाकोठामा दलितलाई जबरजस्ती भिœयाउँदा गैरदलितहरूले थातथलो नै छाडेको देख्न–सुन्न पाइन्थ्यो । जातीय छुवाछुत संरक्षण गर्ने व्यवहारगत अभ्यासलाई त्याग्नुभन्दा थातथलो नै छोडेर हिँड्न तयार मनोविज्ञानलाई कुन स्तरको चेतनाले निर्देशित गर्‍यो होला ? यस विषयमा गहिरिएर विश्लेषण गर्ने हो भने बालापनको दिमागमा घुसाइदिएको जातीय छुवाछुतजन्य विषले कति विकराल रूप लिने रहेछ भनेर बुझ्न सजिलो हुन्छ । छुवाछुत संरक्षित सामाजिक व्यवहार अन्त्यका लागि राज्य गम्भीर छ भने उसले कानुन निर्माणको अतिरिक्त विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ । पहिले उसले गाउँघरमा अभिभावकले घरभित्र बालबालिकललाई छुवाछुतबारे कसरी कुरा गर्ने भनेर सिकाउन जनचेतना अभियान चलाउनुपर्छ । त्यसपछि विद्यालयका सुरुवाती कक्षादेखि नै यसको नकारात्मक पक्षबारे पढाउनुपर्छ । यति हिम्मत देखाउन निकै ढिला भइसकेको छ ।

ad
ad