१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Sunday, 11 May, 2025
डा. केदार कार्की
२o७८ असोज १८ सोमबार १o:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पशुपालनमा एन्टिबायोटिकको दुरुपयोग

Read Time : > 2 मिनेट
डा. केदार कार्की
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १o:oo:oo

एन्टिबायोटिक औषधीको प्रयोग उचित विधि र चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । उपयोगमा लापरबाही भएमा यही औषधी मानिस तथा पशु दुवैको मृत्युको कारक पनि बन्न सक्छ ।


एन्टिबायोटिक औषधीको उपयोग मानिस र पशुमा जीवाणु संक्रमणको उपचारमा गरिन्छ । यी औषधीले जीवाणुद्वारा हुने संक्रमणमा जादुइ रूपमा कार्य गर्छन् । तर, जीवनरक्षक हुँदाहुँदै पनि यी औषधीको अर्को हानिकारक पाटो पनि अगाडि आएको छ ।

एन्टिबायोटिकको अत्यधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ । एन्टिबायोटिकको दुरुपयोगका कारण धेरैजसो जीवाणु यी औषधीको प्रतिरोध गर्न सक्षम भएका छन्, जसका कारण यिनमा यी औषधीको प्रभाव शून्य वा कम हुने गर्छ । परिणामतः संक्रमणको उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगका कारण बनिरहेका छन् ।

यस समस्याले आज संसारमा गम्भीर रूप लिएको छ । अमेरिका जस्तो विकसित देशमा पनि हरेक वर्ष कमसेकम बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोधी जीवाणुबाट संक्रमित हुने गर्छन् । २३ हजार जति संक्रमितको मृत्यु हुन्छ । 

पशुपालनमा एन्टिबायोटिकको उपयोग : एन्टिबायोटिक औषधीको उपयोग मुख्य रूपमा संक्रमित बिरामी तथा पशुको उपचारका लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यतः यी औषधीको उपयोग रोगहरूको नियन्त्रण अथवा पशुपालनमा पशुको शारीरिक विकासका लागि गरिन्छ । त्यो वेला यी औषधीको मात्रा कम दिने गरिन्छ । मानिस तथा पशुमा जीवाणु संक्रमणको उपचार तथा रोकथामका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधीको उपयोग संसारभरि ठूलो मात्रामा गरिन्छ । अधिकांश एन्टिबायोटिकको उपयोग मानिस तथा पशु दुवैमा गरिन्छ ।

केही औषधीको प्रयोग भने मानिसमा मात्र पनि गरिन्छ । पशुमा यस्तो औषधीको प्रयोग अनुचित मानिन्छ । केही औषधिको प्रयोग केवल पशुरोगको रोकथाम तथा तिनको शारीरिक विकासका लागि गरिन्छ । सही औषधिको छनोट त्यसको खुराकको मात्रा तथा दिने विधिमा यो निर्भर हुन्छ कि औषधी के कारण, कुन रोगको उपचारका लागि दिइँदै छ । पशु चिकित्सकले उपचार गर्ने वेलामा जस्तो संक्रमणको कारण जीवाणुको प्रकार एवं विशेषता, प्रयोग गरेको औषधीको जीवाणु मार्ने क्षमता, औषधी प्रयोग गराउने विधिको सुगमता, पशुको औषधी सहनशक्ति, औषधीको दुष्प्रभाव आदिमा विशेष ध्यान दिइन्छ । यी औषधी दानापानी अथवा सुईद्वारा चिकित्सकीय सल्लाहअनुसार दिइन्छ । तर, यी औषधी दुरुपयोगका दुष्परिमाण धेरै हुन सक्छन् ।

बढ्दो जनसंख्याका कारण पशुजनित खाद्य पदार्थको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुलाई रोगबाट बचाउनु एवं रोकथाम गर्नु आवश्यक हुन्छ । यसका लागि एन्टिबायोटिक औषधीको उपयोग आवश्यक हुन्छ । यसका साथै कैयौँ उपयोगी पदार्थ पशुको दानापानीमा मिसाइन्छ । जसले गर्दा पशु उत्पादनमा वृद्धि हुन्छ । 

जनस्वास्थ्यका लागि जोखिम : जुन प्रकारले मानिसमा हुने रोगका जीवाणु नष्ट गर्न नयाँ–नयाँ औषधीको आविष्कार हुन्छ । त्यसैगरी जीवाणुहरूले पनि आफ्नो बचाउको उपाय खोज्छन् । तसर्थ, तिनमा औषधी प्रतिरोध गर्ने क्षमताको विकास हुन्छ । तर, एन्टिबायोटिक औषधीको अनुचित एवं अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजीले बढ्छ । तथा यस्ता जीवाणु वातावरणमा फैलिन्छन्, जसलाई सामान्य औषधीले नष्ट गर्न मुस्किल हुन्छ ।

पशुचिकित्साकर्मी एवं पशुपालकले एन्टिबायोटिकको उपयोगमा गम्भीरतापूर्वक सोच्नुपर्छ । उपचार गर्ने वेला या उपचारपछि यी औषधी पशुको दूध, फूल तथा मासुजन्य उत्पादनमा आवश्यक पर्छ, जुन जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्को जीवाणुमा गर्न सक्छ जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौँ रोग, जसको उपचार पहिले सजिलै हुन्थ्यो । आज ती उपचार नहुने रोगमा परिणत भइरहेका छन् । 

एन्टिबायोटिक प्रयोगमा सावधानी : एन्टिबायोटिक औषधीको प्रयोग उचित विधि र चिकित्सकको सल्लाहअनुसार सोचविचार गरी गर्नुपर्छ । उपयोगमा लापरबाही भएमा यही औषधी मानिस तथा पशु दुवैको मृत्युको कारक पनि बन्न सक्छ । एन्टिबायोटिक औषधीको अधिक वा कम मात्रा उपयोग गर्ने, अनियन्त्रित उपयोग गर्ने तथा नक्कली वा कमसल गुणस्तरको औषधीको उपयोगले अत्यधिक नोक्सानी पुर्‍याउन सक्छ । साथै प्राणघातक रोगको उद्भव एवं विकास गराउन सक्छ । यसैले एन्टिबायोटिक नै सबै खाले बिमारीको सर्वकालिक समाधान होइन भन्नेमा सचेत बनौँ ।

(डा. कार्की अवकाशप्राप्त वरिष्ठ पशुचिकित्सक हुन्)