१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काबुलमा ३४ नेपाली  ४१ दिनदेखि उद्धारको पर्खाइमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:oo:oo

उड्ने मिति अझै अनिश्चित, तनाव बढ्दै 

३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा छन् । उनीहरू कहिले घर फर्किन पाउँछन् अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्ये सुरक्षाप्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् । तर, रोजगारीका लागि दलालमार्फत काबुल पुगेर पनि रोजगारी नपाएका ३४ जनाको उद्धार हुन नसकेको हो । उनीहरू काठमाडौं फर्किने भाका पटक–पटक सर्दै आएको छ । यीमध्ये कोही चार महिनाअघि त कोही डेढ वर्षअघिदेखि काबुलमा छन् । उनीहरू नेपाली तथा भारतीय सेनाका पूर्वसुरक्षाकर्मी हुन् ।

अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि काबुलका होटेल, विमानस्थल, गुरुद्वारा हुँदै उनीहरू अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन)मा छन् । उनीहरूलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ । 

उद्धार भएर आउनुपर्ने ३४ जना भए पनि काठमाडौं आउनुपर्ने नेपाली भने उनीहरू मात्र होइनन् । संयुक्त राष्ट्रसंघको सुरक्षाका लागि खटिएका ८५ जना नेपाली सुरक्षाकर्मी बिदामा काठमाडौं आउन पाएका छैनन् । आइजिडीमा कार्यरत नेपाली सुरक्षाकर्मीलाई चार्टर उडानबाट काठमाडौं ल्याउने दायित्व आइडिजीले लिएको छ । नेपाली अधिकारीका अनुसार आइडिजीले नै ८५ सुरक्षाकर्मी आउने चार्टर जहाजमा ३४ जनालाई आफ्नै भाडा खर्चमा काठमाडौं ल्याइदिने आश्वासन दिएको छ । 

उनीहरूलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो । १७ भारतीय सुरक्षाकर्मीको पनि उद्धार गर्नुपर्ने भएकाले दिल्ली हुँदै उडान गर्ने भनिएको थियो । एक नेपाली कूटनीतिक अधिकारीका अनुसार भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरे पनि उनीहरूको उडान अझै तय भएको छैन । ‘हामीलाई यही साता उडान हुन्छ, दुई दिनमा हुन्छ जस्ता आश्वासन आएको छ, तर उडान कहिले हुन्छ अझै निश्चित छैन,’ उद्धारको पर्खाइमा रहेका एक नेपालीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘हामी सुरक्षित छौँ । खान–बस्न राम्रो सुविधा छ, तर दसैँको मुखमा घर फर्किन पाए हुन्थ्यो भन्ने छ । काबुलमा उडान खुलिसकेको भए पनि हामीलाई लैजान किन ढिलो भएको हो भन्ने बुझ्न सकेका छैनौँ ।’ 

अघिल्लो साता नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले विभिन्न मोडालिटीमा नेपालीलाई ल्याउने विषयमा छलफल भएकाले चाँडै टुंगिने बताएका थिए । उनका अनुसार काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडिजीले सुरुमा २ असोजमा उद्धार गर्ने भने पनि प्राविधिक कारण देखाएर दुई दिन पछि सारेको थियो । ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीलाई काठमाडौं उडान भर्ने तय गरेको थियो । 

उद्धार गर्नुपर्ने ३४ नेपालीमध्ये २९ जनासँग भएको पासपोर्टमा भिसाको म्याद सकिएको थियो । उनीहरूले तिर्नुपर्ने विलम्ब शुल्क मिनाहा गर्ने प्रक्रियाका कारण ढिलाइ भएको जवाफ पाएका थिए । दिल्लीस्थित दूतावासले पासपोर्ट नभएका तीनजनालाई काबुलबाट एकतर्फी नेपाल आउन ट्राभल डकुमेन्ट बनाएर पठाइसकेको छ । बाँकी दुईजनासँग भिसासहितको पासपोर्ट छ । 

असोज पहिलो साता अफगानिस्तानको काम एयरलाइन्सले दिल्लीमा उडान भर्न अनुमति मागेको थियो । आइडिजीमार्फत अनुमति माग भएकोमा भारतीय पक्षले अनुमति दिने जवाफ दिएको थियो । तर, अफगानिस्तान सरकारलाई मान्यता नदिएका कारण भारतले काम एयरलाइन्सलाई अनुमति दिने प्रक्रिया पूरा गर्न अझै बाँकी छ । 

१७ भारतीय सुरक्षाकर्मी दसैँ बिदामा आउनुपर्ने भएका कारण भारतले चासो दिए पनि कानुनी जटिलता उत्पन्न भएको जानकारी परराष्ट्रका अधिकारीले पाएका छन् । भारतीयलाई दिल्लीसम्म ल्याउँदा ३४ जना नेपालीको पनि उद्धार हुन्छ भन्नेमा नेपाली अधिकारीहरू थिए । दिल्ली आएपछि उनीहरूलाई बस वा रेलमा नेपाल ल्याउने गरी नेपाली दूतावासले तयारी थालेको थियो । 

तर, यो विकल्प सम्भव नभएपछि अब आइडिजीले पुनः इरानी महान एयरको उडानबाट तेहरान हुँदै नेपाल आउने तयारी थालेको छ । आइडिजीले राष्ट्रसंघका ८५ जना सुरक्षाकर्मीलाई बिदामा काठमाडौं ल्याउँदा ३४ जना उद्धार गर्नुपर्नेलाई पनि ल्याइदिने भन्दै ढुक्क हुन नेपाली अधिकारी र उद्धारको पर्खाइमा रहेकालाई पनि आग्रह गरिरहेको छ ।

नेपाली अधिकारीले काबुलबाट नेपालीको उद्धारका विषयमा औपचारिक प्रतिक्रिया दिन मानेनन् । यद्यपि, महान एयरलाइन्सबाट उद्धार हुन नसके काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान लगेर चार्टर उडानमार्फत ३४ जनासँगै राष्ट्रसंघीय कार्यालयमा कार्यरत ८५ जनालाई ल्याउने विषयमा परराष्ट्र मन्त्रालय र आइडिजीबीच छलफल भइरहेको एक अधिकारीले बताए । उनका अनुसार नेपाल एयरलाइन्सकै चार्टर उडान भर्नुपर्ने अवस्थामा पनि त्यसको भाडा आइडिजीले व्यहोर्नेछ । यद्यपि, सकभर इरानको महान एयरलाइन्सलाई पहिलो प्राथमिकतामा राखिएको ती अधिकारीले बताए । ‘शुक्रबारसम्म पनि उडान तय भएन भने हामी आइडिजीसँग सल्लाह गरेर नेपाल एयरलाइन्सको जहाज पठाउने विषयमा पनि छलफलमा छौँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अरू कुनै उपाय भएन भने हामी जहाज पठाउँछौँ । तर, यसबारेमा निर्णय हुन बाँकी छ ।’ 

उद्धार भएर आउनुपर्नेहरू ३४ जनामध्ये २२ जना नेपाली सेनाबाट र १२ जना भारतीय सेनाबाट सेवानिवृत्त भएका छन् । उनीहरू सुरुमा युएईको अबुधाबी हुँदै आउने तयारी थियो । तर, अबुधाबीमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले इरान हुँदै चार्टर उडान भर्न लागिएको थियो । आइडिजीले नै ३४ जनाको पिसिआर परीक्षण गराएको थियो भने सबैको नेगेटिभ रिपोर्ट आएको थियो ।

उद्धारको पर्खाइमा रहेका एक नेपाली भन्छन्– काबुलमा उडान खुलिसक्यो, हाम्रो उद्धारमा किन ढिलाइ ?
हामीलाई यही साता उडान हुन्छ, दुई दिनमा हुन्छ जस्ता आश्वासन आएको छ, तर उडान कहिले हुन्छ अझै निश्चित छैन । हामी सुरक्षित छौँ । खान–बस्न राम्रो सुविधा छ, तर दसैँको मुखमा घर फर्किन पाए हुन्थ्यो भन्ने छ । काबुलमा उडान खुलिसकेको भए पनि हामीलाई लैजान किन ढिलो भएको हो बुझ्न सकेका छैनौँ । 

ad
ad