कर्णालीमा विद्यार्थी भर्ना अभियान

२०७५ फाल्गुण १५ बुधबार ११:१०:००

कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा विद्यार्थी भर्ना अभियान तीव्र पारिएको छ । कर्णालीमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै विभिन्न विद्यालयले भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । यही क्रममा  त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटको त्रिपुरा मावि काटियाँचौरले मंगलबार भर्ना अभियान सञ्चालन गरेको छ ।  

अभियानका क्रममा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिद्वारा आफ्नो क्षेत्रभित्र पर्ने त्रिपुराकोट, कठायत टोल, सार्की टोल, बगर बजारलगायतका स्थानमा पुगेर नानी बाबुहरूलाई विद्यालय पठाउन अभिभावकहरूसँग आह्वान गरिएको हो । शिक्षासम्बन्धी नारा लेखिएका प्लेकार्डसहित गाउँ बस्तीमा पुगेर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।